24th July | 2019 | Wednesday | 8:08:15 AM

रुकुम तीन सातादेखि विमानस्थल बन्द

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७६ (६:३२ AM)

रुकुम तीन सातादेखि विमानस्थल बन्द

काठमाडौं ।  रुकुम पश्चिमका दुईवटै विमानस्थल तीन सातादेखि बन्द भएका छन् । रुकुममा मुसिकोट सल्ले र चौरजहारी विमानस्थल रहेका छन् । नेपालकै १० नमुना सहरको रूपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द भएर केही महिना अघिदेखि मात्र सञ्चालन आएको थियो । 

सञ्चालनमा आएको केही दिन नबित्दै  पाइलटको बिदा तथा तालिमको कारण देखाउँदै हवाई सेवा बन्द भएपछि बिरामी तथा ज्येष्ठ नागरिक मर्कामा परेका छन् । जिल्लाका दुवै विमानस्थल एकैसाथ बन्द भएपछि समस्या भएको हो । विमानस्थलमा नेपाल वायु सेवा निगमको बाहेक अन्य निजी क्षेत्रका जहाजहरूको उडान सेवा छैन । जतिसक्दो चाँडो जहाजको उडान सुचारु गर्न आफ्नो क्षेत्रबाट पहल भइरहेको चौरजहारी विमानस्थल कार्यालयले जनाएको छ । 

केन्द्रीय कार्यालयबाट तालिमका कारण पाइलटको अभाव भएको भन्दै केही सातालाई हवाई सेवा बन्द हुने आन्तरिक सूचना दिएको छ । लामो समयदेखि रुकुममा हवाई सेवा बन्द हुँदा रुकुम पश्चिम, रुकुमपूर्व, जाजरकोट र सल्यान जिल्लाका स्थानीय प्रभावित बनेका छन् । जसमा सबैभन्दा जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धा बढी मारमा परेका छन् । दुर्गम जिल्लामा हवाई यात्रा जनताको लागि अतिआवश्यक भए पनि बेलाबेला अवरुद्ध हुँदै आएका छन् ।


Views: 59