20th July | 2019 | Saturday | 9:03:52 AM

जिप भीरबाट खस्दा १० जनाको मृत्यु

सत्यराज सिंह   POSTED ON : असार ३, २०७६ (७:०४ AM)

जिप भीरबाट खस्दा १० जनाको मृत्यु

बझाङ । सुदूपपश्चिम बझाङमा सोमबार भएको जिप दुर्घटनमा १० जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

सदरमुकाम चैनपुरनजिकै रहेको डुङरीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको से१ज १०७२ नम्बरको जिप मष्टा–१ डौंठी भन्ने ठाउँमा दुर्घटना भएको हो ।  मृत्यु हुने सबैको शनाखत भएको छ । दुर्घटनामा एकै गाँउका ७ जनाको र एकै परिवारका ३ जनाको मृत्यु भएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले बताए । मष्टा गाउँपालिका–१, कोटदेबलका ४० वर्षीय कलक खड्का, उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनीहरूका १२ वर्षीय छोरा सरोज खड्काको मत्यु भएको छ । सोही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, कोटदेबलकै १५ वर्षीया जुना  खड्का, ८ वर्षीया विपना खड्काको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१, रनाडाका ३० वर्षिय भक्त द्वाल र ३५ वर्षीया लक्ष्मी द्वाल र मष्टा–१, जिनाडाका चालक २२ वर्षीय सुरेन्द्र थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय चैनपुरका नायव निरीक्षक महानन्द जोशीले जानकारी दिए । 

घटनास्थलमा उद्धारमा खटेका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार गम्भीर घाइते तीनजना मष्टा गाउँपालिका–१ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक द्वाललाई सिम्रिक एअरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ । अन्य दुईजनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । 

भिरको सडकबाट जिप करिब ५ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । भीर विकट हुुनुका साथै दुर्घटनापछि हावाहुरी र चट्याङका र वर्षा भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थल गएको थियो । 

दुर्घटनाबाट मष्टा गाउँपालिका–१ शोकमा डुबेको छ । एकै वडाका १० जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीका अनुसार क्षमताभन्दा बढी यात्रु तथा उकालो र साँघुरो बाटोका कारणले जिप नियन्त्रणबाहिर गई दुर्घटना भएको हो । सेती नदीमा पक्की पुल नभएका कारण काठेपुलको सहायताले केही महिनाअघि मात्रै सेती नदी पारि उक्त जिपलगायत चारवटा सवारी मष्टा गाउँपालिकामा चलका थिए । यी जिपले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।    





Views: 191