10th December | 2019 | Tuesday | 3:39:50 AM

आजदेखि गर्मी घट्ने

रासस   POSTED ON : असार ३, २०७६ (१०:५८ AM)

आजदेखि गर्मी घट्ने

काठमाडौ । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्री–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष मनसुन सुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए । उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्री–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो । सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । 

अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानांगले जानकारी दिए ।  नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । सोमबार  बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मंगलबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । 

सोमबार काठमाडौं उपत्यकासहित देशभर तापक्रम वृद्धि भइरहेको छ । उपत्यकामा यो साता ३३ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । त्यस्तै, मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडी र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली विकास हुँदा मनसुनी गतिविधि अघि बढ्न नसकेको हो । अहिले नेपालमा कुनै प्रणाली विकसित हुन नसक्दा अत्यधिक गर्मी महसुस भएको हो । मौसमविद् श्रेष्ठले भने, ‘अझै मनसुन सक्रिय हुन चार÷पाँच दिन लाग्नेछ ।’

मनसुन सुरु नहुँदा यसको प्रत्यक्ष असर खेती बालीमा पर्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार  काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सोमबार  दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ । यसैगरी, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ । 



Views: 86