20th July | 2019 | Saturday | 8:39:16 AM

मृतकका आफन्तद्धारा राजमार्ग अवरुद्ध

श्याम कार्की   POSTED ON : असार ११, २०७६ (२:५० PM)

मृतकका आफन्तद्धारा राजमार्ग अवरुद्ध

चपुर । मंगलबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि  लिएर जादै गरेको भ्यान दुर्घटनामा परी ज्यान गुमाएका आफन्तहरुले क्षतिपूर्ति र निष्पक्ष छानवीको माग गर्दै आज पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

 प्रहरी प्रशासनको लापरवाहीको कारण आफ्ना आफन्तले ज्यान गुमाएको उनीहरुको आरोप लगाएका थिए । चन्द्रपुर १० स्थित बालचनपुर नजिकमा दुर्घटना हँुदा सो भ्यान दुर्घटना हुँदा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका  वडा नं. ६ का लागु औषध इन्जेक्सन मुद्दामा थुनामा रहेका मुकेश भनिने निर्मल साह र सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ मा सवारी ज्यान मुद्दामा थुनामा रहेका रमेश कुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालयको आफ्नै दुईवटा प्रहरी भ्यान हुँदाहुँदै जिल्ला वन कार्यालयमा रहेको चोरीको थोत्रो भ्यानमा गौर लैजानु प्रहरीको चरम लापरवाही भएको मृतक निर्मल साहका भाइ उमेस साहले बताए । उनले प्रहरीको लापरवाहीका कारण दुर्घटना भएकाले घटनाको निष्पक्ष छानवीन हुनुपर्ने माग पनि राखे । ‘भ्यानमा ४ जना थुनुवा रहेता पनि मृतक दुईजनालाई मात्रै हथकडी लगाएर लानु, भ्यान दुर्घटना भनेता पनि भ्यानमा खासै क्षति नहुनु, दुर्घटना भएको भ्यानलाई हतारहतार प्रहरी चौकीमा लगेर त्रिपालले छोपेर राख्नु लगायतका केही घट्नाहरुले प्रहरीको नियतमाथि शंका उब्जाएको छ’, साहले भने,‘ घटनाको प्रकृति तथा घटनाक्रम हेर्दा कतै यो दुर्घटना नियोजित त हैन भन्ने शंका उब्जिएको छ । छानविन गरेर दोषी माथि कारवाही गरिनुपर्छ ।’

मृतकका आफन्तहरुले करिब २ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए । उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्का नारावानी पनि गरेका थिए । राजमार्ग अबरुद्ध भएपछि रौतहट क्षेत्र नं. ४ का संघिय संसद देव प्रसाद तिमलसिनाको पहलमा सहमती भएको थियो । सहमति अनुसार मृतक परिवारलाइ १० लाख राहत उपलब्ध गराउन गृह मन्त्रालयलाइ सिफारिस गर्ने र हाललाइ क्रिया खर्चको लागी एक परिवारको लागी २५ हजार सहयोग गर्ने व्यवस्था गरिएको थियो । सहमति पश्चात राजमार्गको अवरुद्ध खुलेको थियो । सहमतिमा मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने तथा सन्तानको शिक्षादिक्षाको पनि पूर्ण प्रबन्ध गरिने गरि सम्झौता भएको सासंद तिमलसिनाले बताए । 

सो दुर्घटनामा परि प्रहरी तर्फ ६ जना र २ जना घाईते भएका छन् । अन्य दुई अभद्र व्यहारको मुद्धामा थुनुवामा रहेका कुमार गेलाल र टेक वहादुर तामाङ्ग को चन्द्रपुर हस्पिटल प्रा.ली.मा उपचार भै रहेको छ । प्रहरी तर्फ प्रहरी सहायक निरिक्षक दिनेश चौलागाई, प्रहरी हवल्दार उमेश यादव, प्रहरी हवल्दार बिनोद प्रसाद मण्डल प्रहरी जवान संजिव कुमार कार्की, हरि किशोर चौधरी तथा अजय कुमार यादव रहेका छन् ।  प्रहरी जवान हरि किशोरलाई भने थप उपचारका लागी बिरगंज रिफर गरिएको छ । 

भ्यानको पट्टा भाच्चिएर सो दुर्घटनामा भएको र घटना मृतकका परिवारले आरोप लगाए जस्तो नियोजित नभइ भवितव्य भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महत्तोले दावी गरे । ‘ दुर्घटनामा परेर हाम्रा प्रहरी जवानहरु पनि घाइते भएका छन , अनि कसरी यसलाई नियोजित भन्न मिल्छ ?’ उनले भने, ‘यो एउटा दशा थियो र दशा बाजा बजाएर आउँदैन्् ।’ थुनुवाहरुको म्याद थप समयमै गर्नुपर्ने तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रहेका दुइवटा भ्यान मध्ये एउटा बिग्रीएको र एउटा आवश्यकताको लागी कार्यालयमै राख्नुपर्ने भएकाले जिल्ला वन कार्यालयसँग अनुरोध गरेर सो भ्यान प्रयोग गरेको बताए ।

फोटो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गर्दै आफन्तहरु । 


Views: 81