18th August | 2019 | Sunday | 3:42:10 AM

चौरासी नमूना विद्यालय छनोट

  POSTED ON : श्रावण १, २०७६ (२:११ PM)

चौरासी नमूना विद्यालय छनोट

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा ८४ नमूना विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ६९ जिल्लाका ८४ विद्यालयलाई नमूना विद्यालयका रुपमा छनोट गरेको हो । 

मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले स्थानीय तहको मूल्याङ्कनका आधारमा ती विद्यालय छनोट गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए । उनले ३३६ विद्यालयमध्ये विभिन्न सूचाङ्कका आधारमा ती विद्यालय छनोटमा परेका हुन् ।

 यसअघि गतआवका लागि केन्द्रले १६ विद्यालय छनोट गरिसकेको थियो ।  केन्द्रले एक हजार विद्यालय छनोट गर्ने योजनानुसार प्रत्येकवर्ष सय विद्यालय नमूना विद्यालय छनोट गरेको हो । नमूना विद्यालयलाई केन्द्रले पाँच वर्षका लागि शैक्षिक गुणस्तर सुधार र भौतिक संरचना बनाउन रु पाँच करोडसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म केन्द्रले ३२२ विद्यालय छनोट गरेको छ । 

“शैक्षिक गुणस्तर सुधार गर्न नमूना विद्यालय छनोट गर्ने अभियानमा रहेका छौ”, उनले भने,“प्रत्येक स्थानीय तहमा एक÷एक वटा विद्यालय नमूना छनोट गर्ने लक्ष्य राखेका छौँ ।” केन्द्रले विद्यालयको जग्गा, कक्षा ११ र १२ पढाउने विषय, माध्यमिक शिक्षा परीक्षा (एसइई)को तीन वर्षको नतिजा, तहगत विद्यार्थी र शिक्षक अनुपात, विद्युत् र इन्टरनेटको पहुँच, विद्यालयको भौगोलिक अवस्थालगायत सूचाङ्कका आधारमा ती विद्यालयको छनोट गरेको हो । 

स्थानीय तहले ती सूचाङ्कमा सय पूर्णाङ्क मानी सबैभन्दा बढी अङ्क ल्याउने विद्यालयलाई नमूना विद्यालय छनोट गरेको निर्देशक गौतमले बताए । उनले निवेदन दिएका विद्यालयलाई क्रमशः अध्ययन गरी नमूना विद्यालय छनोट गर्ने बताए । सरकारले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत एक हजार विद्यालयलाई नमूना विद्यालय छनोट गर्ने लक्ष्य राखेको छ ।


Views: 70

सम्बन्धित सामग्री:

ठगी तथा चोरीमा संलग्न पक्राउ

: श्रावण ३२, २०७६ (६:१८ AM)