18th August | 2019 | Sunday | 2:30:58 AM

एकीकृत बस्ती निर्माणमा नेपथ्यका व्यवस्थापक

रमा लुइँटेल   POSTED ON : श्रावण ४, २०७६ (६:२५ AM)

एकीकृत बस्ती निर्माणमा नेपथ्यका व्यवस्थापक

सिन्धुपाल्चोक जिल्लाको गिरानचौर एकीकृत नमुना बस्तीको निर्माणमा थिए अर्जुन न्यौपाने । जापानबाट आएका अनुसन्धानकर्ता भूकम्पपछि सिन्धुपाल्चोकको अवस्था थाहा पाउन त्यहाँ पुगे । अन्य श्रमिकसरह काममा खटिएका अर्जुनलाई ती अनुसन्धानकर्ताले ‘हृवयर इज अफिस’ भनेर सोधे । 

अर्जनले हातले देखाउँदै ‘देयर इज’ भने । एकै छिनपछि अफिसका एकजना सहयोगी ती अनुसन्धानकर्ताले परियोजनाको म्यानेजरलाई भेट्न खोजेको खबर लिएर अर्जुनसामु आइपुगे । हाफ पाइन्ट र सामान्य टिसर्ट लगाएका धुस्रेफुस्रे अर्जुन म्यानेजरको परिचयसहित विदेशीका अघिल्तिर उभिए । ती विदेशी अनुसन्धानकर्ता केही अलमलिएझै, छक्क परेझैँ भए अनि तुरन्त सम्हालिँदै भनिहाले, ‘एस, यु आर !’ 

२०७२ सालको भूकम्पले आफ्नो लक्ष्य र पेशामा ‘यु टर्न’ ल्याइदिएको बताउँछन् अर्जुन । इन्जिनियरिङ कन्सल्ट्यान्सीका कर्मचारी अर्जुनलाई घरजग्गा, घरको नक्सा, जग्गाको आकार, प्रकारबारे राम्रै व्यावहारिक ज्ञान थियो । झण्डै डेढ दशक कन्सल्ट्यान्सीमा काम गरेको अनुभव थियो । गिरानचौर उनलाई आफ्नो जिम्मेवारी नयाँजस्तो लाग्न पाएन । 

भूकम्पले मानव जीवनलाई तहसनहस बनाउनु पक्कै पनि राम्रो कुरा थिएन तर अर्जुनले यो प्राकृतिक विपत्तिपछिको एउटा सुन्दर संसार देखे । अब सबै ठाउँमा व्यवस्थित बस्ती आवश्यक छ, र त्यो निर्माण गर्न सकिन्छ भन्ने एउटा धारणा उनीभित्र बलियो भयो । उनले आफ्ना सबै नियमित काम थाँती राखेर एकीकृत बस्तीको अध्ययन, अनुसन्धानमा समर्पित हुने निश्चय गरे । 

नुवाकोट वनदेवी स्कुल 

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अरू सबैजस्तै अर्जुन पनि हतास थिए । के गर्ने र कसो गर्ने उनले पनि सोच्न सकेनका थिएनन् । केही दिनपछि उनले काठमाडौंमा बस्ने नुवाकोटवासीसँग कुराकानी गरे । पीडित ५२ परिवारलाई एक सातासम्म पुग्ने खानेकुरा नुवाकोट पठाइदिए । त्यो खरिदका लागि धेरै लगानी उनकै थियो । केही मनकारीले पनि सहयोग गरेका थिए, त्यो पुण्य कार्यका लागि । 

राहत सहयोग पठाएर उपत्यका खाल्डोभित्रै बसिराख्न उनको मानेनन् । केही दिनमै अर्जुन हानिए नुवाकोटतिर । साँच्चै नुवाकोटवासीको त्यतिबेलाको अवस्था सम्झिँदा अहिले पनि अर्जुनको मन भक्कानिन्छ । मन त्यसै त्यसै मडारिएर आउँछ । प्राकृतिक विपत्तिले निम्त्याएको ती भयानक दृश्यको सम्झनाले भावुक बनाउँछ । भन्छन्, ‘मैले विपत्तिमा परेकाहरूका लागि काम गर्ने निश्चय त्यही दिन गरेँ ।’ 

अर्जुन पुगे हल्देकालिका । त्यहाँका भूकम्पमा पीडितहरू भएकाहरूमध्ये महिला र बालबालिकाको अवस्था निकै गम्भीर थियो । घरहरू भत्किएका थिए । विद्यालयको अवस्था पनि त्यस्तै थियो । भूकम्पपीडित क्षेत्रमा केही न केही काम गर्नै पर्ने थियो । उनले त्यहाँको वनदेवी प्राथमिक विद्यालयको पुनर्निर्माणबाट भूकम्प प्रभावितहरूका लागि काम गर्न थाले । अर्जुनको साहसी मनसँग केही सहयोग मनहरूको साथ थियो । काम गर्दै जाँदा विद्यालयको पुनर्निर्माणमा निरन्तर लाग्ने व्यक्ति अर्जुनमात्रै भए । एक स्थानीयवासीको मकैबारीमा विद्यालयको अस्थायी संरचना बनाउन अर्जुन १४ दिनसम्म एक्लै खटे । पछिल्ला केही दिन पाएको स्थानीयवासीको सहयोगले उनलाई धेरै सहज भयो । दुई साताको निरन्तर खटाइपछि अस्थायी विद्यालयको तयार भयो–६ वटा कोठा, खेल्ने ठाउँ, पानीको धारा र शौचालयको निर्माणले उराठ र मरुभूमि तुल्य भएको ठाउँ केही सुन्दर देखियो । हल्दे कालिकाका बासिन्दाको निरस मनमा आशाका तरङ्गहरू देखिन थाले । 


यसरी जोडिए एकीकृत बस्तीसँग 

अर्जुन वनदेवी प्रथामिक विद्यालय पुनिर्निर्माणमा व्यस्त थिए । नुवाकोटकै ओखरपैवामा चर्चित कलाकार धुर्मुस र सुन्तुली एउटा स्कुल पुनर्निर्माणको काममा जुटिरहेका थिए । अर्जुनको कामलाई धुर्मुस सुन्तलीले गम्भीरतापूर्वक अवलोकन गरिरहेका रहेछन् । उनीहरूबीच कुराकानी भयो । भन्छन्, ‘एउटै उद्देश्य र एउटै ठाउँ भएकाले हामी नजिक भयौं, सँगै काम गर्ने निष्कर्षमा पुग्यौं ।’ उनले काभ्रेको पहरी बस्ती एकीकृत रूपमा बनाउने योजना सुरु भएको त्यो क्षणको बेलिविस्तार लगाए । धुर्मुस सुन्तलीको अवधारणाबाट अर्जुन प्रभावित भए । 

भूकम्प प्रभावितका लागि राहतमात्रै बाँड्ने काम भइरहेको अवस्थामा धुमुर्स–सुन्तलीले ल्याएको एकीकृत बस्तीको अवधारणा नयाँ थियो । यो अवधारणा भूकम्प प्रभावितहरूका दीर्घकालीन बसोवास र व्यवस्थापनमा केन्द्रित थियो । अर्जुनले कलाकार दम्पतीको अवधारणामा श्रमसहित परियोजना व्यवस्थापकको रूपमा जिम्मेवारी लिए । 

पहरी बस्ती निर्माणको काम सुरु भयो । अर्जुन श्रमिकहरूको साथ लागेर एउटा श्रमिक बराबर ढुंगा बोक्थे । खाल्डो खन्थे, खाल्डो पुर्थे । एउटा निर्मण श्रमिकले गर्ने काम सबै गरे ।

भूकम्पपीडितहरूको मन फर्काउन सजिलो थिएन । उनीहरूले परिवारका सदस्य भूकम्पमा गुमाएका थिए । अर्जुन आफन्त गुमाएकाहरूको मन फर्काउन दिन दिनैजस्तो छलफल आयोजना गर्थे । उनीहरूका अभाव र आवश्यकताका बारेमा बुझ्थे । एकीकृत बस्ती निर्माणमा सहयोगी बनिदिन आग्रह गर्थे । सधैँ पालमा बसेर जीवन सुरक्षित हुँदैन भनेर सम्झाउँदै सुरक्षित आवास निर्माणमा साथ दिन आग्रह गर्थे । पटक–पटकको छलफलपछि अर्जुन त्यहाँका भूकम्पपीडितको विश्वास जित्न सफल भए । 

पीडितका समस्या अर्जुनमा आफ्नै समस्या जस्तो भएपछि उनीहरू अर्जुनका सहयोग बने । आत्मीयता बढ्दै गयो । अब विश्वास बन्यो भन्ने ठानेपछि अर्जुनले पीतिहरूसँग एउटा प्रस्ताव राखे । त्यो प्रस्ताव थियो– प्रत्येक घरबाट एकजना श्रम सहयोग । उनको प्रस्ताव सहजै पारित भयो । प्रस्तावले अदृश्य अपनत्व विकास ग¥यो । अर्जुनले काममा आउने श्रमिक र आफूहरूका लागि सामूहिक भान्सा व्यवस्था गरे । त्यो भान्साले पीडा भुलाउने औषधिको काम ग¥यो । काम थालेको साढे दुई महिनामा एकीकृत बस्ती निर्माण पूरा भएर हस्तान्तरण भयो । 

अर्जुनले प्राप्त गरेको अनुभव र ज्ञान एकीकृत बस्ती निर्माण सहयोगी भयो । पीडितका ती समस्या अनेक थिए । केही समस्या मनोविज्ञान र मानवीय भावसँग सम्बन्धित थिए भने केही प्राविधिकपक्षसँग जोडिएका थिए । भन्छन्, ‘भूकम्प प्रभावितका समस्याले एकीकृत बस्तीको आवश्यकता र महŒवकाबारे एकोहोरो भएर घोत्लिन सहयोग ग¥यो, यो युटर्न भएको मेरो जीवनको उपलब्धि हो ।’

नेपालमा मल्ल कालदेखि नै एकीकृत बस्तीहरू थिए । एकीकृत बस्तीकै अवधारणामा नेवार, गुरुङ र घले बस्ती निर्माण भएका हुन् । एकीकृत भए पनि ती बस्ती व्यवस्थित र सुविधायुक्त थिएनन् । भूकम्पीय दृष्टिले सुरक्षित पनि थिएनन् । एकीकृत बस्ती हुन त्यहाँका हरेक घरलाई मोटरबाटोले हुनुपर्छ । प्रशस्त खुला ठाउँ हुनुपर्छ । बाल उद्यान, प्रतीक्षालय हुनुपर्छ । पुस्तकालय, अस्पताल पनि चाहिन्छ । 

काभ्रेपछि उनीहरू पुगे सिन्धुपाल्चोक । गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माणको निर्णय भयो र काम सुरु भयो । गिरानचौर एकीकृत वस्तीको अत्यावश्यक सबै तŒवहरूलाई समेटेको छ । गिरानचौरमा बस्तीको अवधारणा अघि बढाउँदा आफू अनुभवले थप खारिएको बताउँछन् । एकीकृत बस्ती लागि जग्गा एकीकरण, डिजाइन, स्थानीयसँग गर्ने छलफललगायतमा आफू पोख्त भएको बताउँछन् अर्जुन । 

सिन्धुपाल्चोकको गिरानचौर नमुना बस्ती निर्माण भएपछि त्यहाँका बासिन्दा यस्तो बस्तीबाट प्रभावित भएका छन् । यहाँ अन्य थुपै्र एकीकृत बस्ती निर्माण भएका छन् । महोत्तरीको मुसहर एकीकृत नमुना बस्ती, रौतहटको सन्तपुर नमुना बस्तीलाई सुरक्षित र व्यवस्थित बनाउन अर्जुनको महŒवपूर्ण योगदान छ । अर्जुन नेपथ्यमा रहेर अध्ययन अनुसन्धानको काम गर्न रुचाउँछन् । उनले धुर्मुस–सुन्तलीसँगै एकीकृत नमुना बस्ती निर्माणमा नेपथ्यका हिरो भएर काम गरे । 

विनाशपछिको अवसर 

भूकम्पले नेपाललाई विनाशसँगै गाउँहरू व्यवस्थित गर्ने र एकीकृत बस्तीको विकास गर्ने अवसर दिएको बताउँछन् अर्जुन तर यो अवसरको उपयोग गर्न नेपालपछि परेको उनको भनाइ छ । भन्छन्, ‘धेरैले राहत लिएर आफ्नो तरिकाले घर बनाइसक्नुभयो, अब सबैलाई यसमा समेट्न गाह्रो छ ।’ एकीकृत बस्ती बनाउन सकेको भए सुरक्षित र व्यवस्थित हुन्थ्यो । समुदायका लागि सुविधाहरू सहज हुने थियो । सरकारले यतातिर ध्यान दिन सकेन । 

एकीकृत बस्ती निर्माणको काम सुरु भएपछि नेपाल सरकारले यसमा सहयोग गर्न थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राहतस्वरूप दिने रकम एकीकृत बस्ती बसाल्नेका लागि बढी छ । अरूले ३ लाख रुपैयाँ पाउँछन् भने एकीकृत बस्ती बसाल्नेले ४ लाख रुपैयाँ पाउँछन् । साथै एकीकृत बस्तीको बाटो विस्तार र खानेपानी जडानमा समेत सरकारले सहयोग दिन्छ । एकीकृत बस्तीका अध्येता, अनुसन्धानकर्ता अर्जुन भन्छन्, ‘राज्यले प्राथमिकतामा राखेको छ तर ढिलो भयो ।’ जनतालाई शिक्षित, स्वस्थ बनाउने गाउँहरूलाई व्यवस्थित बनाउने प्रमुख अवधारणा एकीकृत बस्ती हो । उनी आफ्नो सहरलाई व्यवस्थित, स्मार्ट बनाउन एकीकृत बस्ती निर्माणलाई महŒव दिन स्थानीय सरकारलाई सुझाब दिन्छन् । 

जापानमा सुनाए अनुभव 

एकीकृत नमुना बस्तीमा बस्नेको अनुभव र यसको अवधारणा बुझ्न जापानको यकोहाम विश्वविद्यालयका अनुसन्धानकर्ता नेपाल आएका थिए । ती अनुसन्धानकर्तासँग अर्जुनको भेट भयो । स्वअध्ययनबाट एकीकृत बस्तीको अवधारणा विकास गरेर गिरानचौर, महोत्तरीलगायतका ठाउँमा काम गरेको थाहा पाएपछि ती अनुसन्धानकर्ता प्रभावित भए । ती अनुसन्धानकर्ताको निम्तोमा अर्जुन जापानको दुईवटा विश्वविद्यालय पुगेर भूकम्पपछिको पुनर्निर्माण, एकीकृत बस्तीको विकास र त्यसले दिएको सन्तुष्टिको बारेमा पढाए । त्यहाँ उनले स्नातक, स्नातकोत्तर र पिएचडीको विद्यार्थीलाई आफ्नो अनुभव सुनाएका थिए । 

नेपालमा एकीकृत बस्ती निर्माण यहाँकोे भौगोलिक अवस्थाको आधारमा गर्नुपर्छ । यसको मुख्य आधार हिमाली, पहाडी र तराई क्षेत्र हुन् । हिमाली क्षेत्रमा रहेका बस्ती प्रायः एकीकृत बस्ती हुन्, तर ती बस्ती सुरक्षित र व्यवस्थित छैनन् । राज्यले विशेष सुविधा दिएर भौगोलिक दृष्टिले सुरक्षित ठाउँमा बस्ती बनाउनुपर्ने अर्जुनको धारणा छ । उनका अनुसार एकीकृत बस्ती निर्माण सबैभन्दा जटिल पहाडी क्षेत्रमा हो । पहाडी क्षेत्रको धेरै ठाउँ भौगोलिक दृष्टिले जोखिमयुक्त छ । 

बाढी, पहिरो, भूकम्प र आगलागीका कारण धेरै प्रभावित हुने क्षेत्रसमेत हो नेपाल । सुरक्षित ठाउँ खोजेर जग्गा अधिग्रहण गरी सुरक्षित ठाउँमा बस्ती निर्माण गर्न सकिन्छ । अब रहृयो, तराई क्षेत्र । तराईको मुख्य समस्या डुबान र आगलागी हो । डुबानबाट जोगाउन प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्छ । अग्लो ठाउँमा जगलाई केही उठाएर बस्ती निर्माण गर्न सकिन्छ । फुसको छानोको सट्टा अन्य विकल्प रोज्न सकिन्छ । 

एकीकृत बस्तीले शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, पर्यटन क्षेत्रको विकासका लागि गरिने काम कम लागतमा प्रभावकारीरूपमा गर्न सकिने अर्जुनको धारणा छ । एकीकृत बस्तीको आवश्यकता, महŒव र यसबारे नयाँ ज्ञान हासिल गर्न सधैँ तत्पर र उत्सुक देखिने अर्जन सुविधासम्पन्न, व्यवस्थित र सुरक्षित बस्ती निर्माणमा सफल होऊन् । शुभकामना । 


Views: 527

सम्बन्धित सामग्री:

ठगी तथा चोरीमा संलग्न पक्राउ

: श्रावण ३२, २०७६ (६:१८ AM)