18th August | 2019 | Sunday | 3:12:35 AM

नारायणीमा स्वदेशी पानीजहाज

हिमालय टाइम्स   POSTED ON : श्रावण ५, २०७६ (१२:५० PM)

नारायणीमा स्वदेशी पानीजहाज

चितवन । चितवनको नारायणी नदीमा स्वदेशमै निर्मित ‘मिनी पानीजहाज’ सञ्चालनमा आउने भएको छ । नेपालमै पहिलोपटक यस प्रकारको जहाज सञ्चालन हुने जनाइएको छ ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले शनिबार पत्रकार सम्मेलन गरी उक्त ‘प्रोजेक्ट’बारे जानकारी दिएको हो । आउँदो दशैंसम्ममा नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनमा ल्याउने बताइएको छ ।

करिब ३५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पानीजहाजमा एकपटकमा २ सय जनासम्मले यात्रा गर्न मिल्ने राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार दुई तला भएको पानीजहाज पर्यटन वर्ष २०२० लाई लक्षित गरी निर्माण भइरहेको छ ।

पानीजहाज निर्माणका लागि आफूले युरोप भ्रमणबाट सोच बनाएको कँडेलले बताए । स्वीडेनबाट फिनल्याण्डसम्मको यात्रामा आफूले नेपालका नदीमा समेत पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने सोचेको र सोहीअनुसार अहिले पानीजहाज बनाउन थालेको उनको भनाइ छ ।

यो प्रोजेक्टमा काम सुरु गर्नुअघि सिंगापुर, मलेसिया, चीन, जर्मनी र भारतका क्रुज निर्माण कम्पनीमा गएर अवलोकन गरेको कँडेल बताउँछन् । लामो समयसम्म नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यताबारे प्राविधिक पक्षको अनुसन्धान गरेको जानकारी दिँदै उनले जलप्रवाह मापन, अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरिसकेपछि निर्माण कार्य सुरु गरिएको बताए ।

नर्वेजियन प्रविधिमा भारतीय कम्पनीले पानीजहाज निर्माण गरिरहेको बताइएको छ । एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ भएको पानीजहाजको आधारभूत संरचना निर्माण भइसकेको छ । १५ क्रु मेम्बर र दुवै तलामा एक–एक सय यात्री रहनेगरी यसको डिजाइन तयार पारिएको छ ।

भरतपुर महानगरपालिका–१६ काप्रेघाटलाई केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्म पानीजहाज सञ्चालन गर्ने योजना छ । चितवन घुम्न आउने पर्यटकले नारायणी नदीमा पानीजहाजको आनन्द लिन सक्ने र यसबाट पर्यटक प्रवद्र्धनमा सघाउ पुग्ने कँडेल बताउँछन् । पानीजहाजको रुटलाई माथितिर मुग्लिन र तल त्रिवेणीधामसम्म विस्तार गर्ने योजना रहेको उनले बताए ।

वर्षायाममा बाढीका कारण पानीजहाज सञ्चालन गर्न नसकिने र पुसमा पानीको सतह कम भएका कारण समस्या पर्ने देखिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । वर्षा याममा पानीजहाज बन्द गर्नुको विकल्प नरहे पनि पुसमा भने नदीको प्रवाहलाई नियन्त्रित गर्दै पानीजहाज सञ्चालन हुनेगरी योजना बनाइएको छ । यसका लागि प्रदेश सरकारसँग मिलेर केही स्थानमा नदीको वहावलाई सुधार गर्दै पानीजहाजका लागि आवश्यक जलस्तर जुटाइने जनाइएको छ । नदी नियन्त्रणका लागि प्रदेश सरकारले ९५ लाख रुपैयाँ खर्च गरेको सो कम्पनीले जनाएको छ ।  


Views: 59

सम्बन्धित सामग्री:

ठगी तथा चोरीमा संलग्न पक्राउ

: श्रावण ३२, २०७६ (६:१८ AM)