25th August | 2019 | Sunday | 5:17:17 PM

फोहोर संकलनमा काठमाडौं महानगरको परीक्षण योजना : कुहिने र नकुहिने अलग अलग

सरिशा अछामी   POSTED ON : श्रावण २९, २०७६ (१०:२३ AM)

फोहोर संकलनमा काठमाडौं महानगरको परीक्षण योजना : कुहिने र नकुहिने अलग अलग

सरिशा अछामी 

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि नयाँ योजना ल्याएको छ । सडकमा फोहोरको थुप्रो कम नभएपछि महानगरले भदौ १ गतेबाट ४ वटा वडामा कुहिने र नकुहिने फोेहोर छुट्टा छुट्टै संकलन गर्ने भएको छ । 

महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडा र ठूला सडकहरूको फोहोर महानगरले संकलन गर्ने गरेको छ । अन्य वडाको फोहोर निजी संस्थाले संकलन गरेर नुवाकोटको सिसडोल लैजान्छन् । महानगरले वडा १२, १८, २१ र २३ वडामा भदौ १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गर्ने प्रवक्ता ईश्वरमान डंगोलले बताए । 

डंगलले अनुसार घरबाट निस्किने फोहोरलाई दुई भागमा छुट्याएर संकलन गरी कुहिने फोहोरबाट मल बनाउने योजना छ । यसैगरी नकुहिनेलाई पुनः प्रयोग गर्न मिल्ने र नमिल्नेमा छुट्याएर सोहीअनुसार व्यवस्थापन गर्ने डंगोलको भनाइ छ । 

डंगोलले चार वटा वडालाई परीक्षणका रूपमा लिएर फोहोर व्यवस्थापन सुरु गर्न लागेको बताए । परीक्षणबाट राम्रो नतिजा आएमा अन्य वडामा कार्यान्वयन गर्ने योजना छ । उनका अनुसार एउटा वडामा ५० जनाका दरले चारवटा वडामा फोहोर संकलन ढ्वाङ निःशुल्क वितरण गरिएको छ । ती घरबाट सातामा दुई दिन नकुहिने र अन्य दिन कुहिने फोहोर संकलन हुनेछ । 

काठमाडौं महानगरले भित्री शहर र सडकहरूमा आफैले फोहोर संकलन गर्ने गरेको छ । अन्यत्र भने निजी संस्थाले फोहोर संकलन गर्छन् । 

महानगरले फोहोर उठाउने निजी संस्थालाई महानगरको स्वामित्वमा बसेर काम गर्न आहृवान गरेको छ । एक महिनाअघि जारी गरेको सूचनाबाट २२ वटा संस्थाले नाम दर्ता गराएको डंगोलले बताए । 


Views: 52