15th September | 2019 | Sunday | 7:53:01 PM

चितवनमा भएको प्रदर्शनमा पाँच जना पक्राउ

  POSTED ON : भदौ १, २०७६ (७:०८ AM)

चितवनमा भएको प्रदर्शनमा पाँच जना पक्राउ

चितवन । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले प्रदर्शनले अनुसन्धानलाई कुनै फरक नपार्ने बताए ।

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । 

घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।


Views: 62