15th September | 2019 | Sunday | 8:59:32 PM

अनाथ बालबालिकासँग दर कार्यक्रम

श्याम कार्की   POSTED ON : भदौ ६, २०७६ (५:२३ PM)

अनाथ बालबालिकासँग दर कार्यक्रम

रौतहट । पछिल्ला कही वर्षहरुदेखि दरको नाममा विकृति र भड्किलो रवाफ अनि फजुल खर्च गर्ने संस्कार हाम्रो समाजमा देखा परिरहेको छ । तर रौतहटका एक विद्यालय तथा एक संस्थाले भने फरक ढंगले दर कार्यक्रम गरेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको बाल निकेतन मावि तथा लायन्स क्लव अफ चन्द्रनिगाहपुरले जिल्लाकै गरुडा नगरपालिकामा रहेको वंशीराम जयसवाल अनाथालयमा अनाथ बालबालिकासँगै दर कार्यक्रम गरेका छन् । 


 विद्यालयका शिक्षक विद्यार्थी एवम् क्लवका प्रतिनिधिहरुले आफैले पकाएर अनाथ बालबालिकाहरुलाई दर खुवाएका थिए । अनाथ बालबालिकाहरु यसरी दर खान पाउँदा निकै खुसी भएका थिए । उनीहरुले बाल निकेतनकन विद्यार्थीहरुसँग नाच्दै, रमाउँदै दर खाएका थिए । ‘हामीजस्तो कोही नभएका टुहुराहरुसँग यसरी बाहिरका मान्छेहरु आएर खाँदा, बस्दाँ, गफ गर्दा, नाँच्दा एकदमै खुसी लागेको छ ’ अनाथालयमा कक्षा ५ मा अध्ययनरत प्रदिप कुमार रामले खुसी हुँदै भने, ‘यसरी बाहिरबाट मान्छे आएर हामीसँग रमाउँदा हामीलाई संसारमा हामीहरुपनि एक्लो नरहेको जस्तो लाग्छ ।’आमा–बुबा नभएका बालबालिकाहरुसँग बसेर उनीहरु गफिदैँ दर खान पाउँदा निकै खुसी लागेको लायन्स क्लव अफ चन्द्रनिगाहपुरका अध्यक्ष निशा कोइरालाले अनुभव सुनाइन् । यसअघिका वर्षहरुमा होटल, पार्टी प्यालेस आदि ठाउँमा भन्दा सो अनाथालयमा अनाथ बालबालिकाहरुसँग दर खादाँ बेग्लै मजा तथा आत्मसंतुष्टि मिलेको उनले बताइन् । बाल निकेतन माविका कार्यकारी निर्देशक दिपक रेग्मीले विद्यार्थीहरुले स्वतः स्फुर्त रुपमा आफ्नो खाजाको रकमबाट केही पैसा जोगाएर यस कार्यक्रममा सहयोग गरेको बताउँदै बालबालिकाहरुमा सानै उमेरदेखि अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनु राम्रो भएको र यसले देशलाई पनि फाइदा पुग्ने विश्वास राखे । दर वा अन्य कुनैपनि वहानामा अनावश्यक खर्च गर्नुको सट्टा सो खर्च कटौति गरेर अनाथालयमा सहयोग गर्नुपर्ने संचारकर्मी फणी महत बताउँछन् । सो अवसरमा अनाथालयका बालबालिकाहरुलाई शैक्षिक तथा खाद्य सामाग्रहरु पनि वितरण गरिएको थियो । सो सामाग्री वितरण गरुडा नगरपालिकाका नगर प्रमुख इन्दु राय यादवले गरेका थिए । 


सो क्रममा बाल निकेतनका विद्यार्थीहरु र अनाथालयका बालबालिकाहरु बीचमा अन्र्तक्रिया पनि भएको थियो । अन्र्तक्रियाको क्रममा बाल निकेतनका विद्यार्थीहरु भावुक भएका थिए । उनीहरुले आफुहरुको मम्मी–बाबा एकदिन घरबाट टाढा जाँदा त नराम्रो लाग्ने गरेको तर सो अनाथालयमा रहेका अनाथहरुको मम्मी–बाबा नहुँदा कस्तो भएको होला ? उनीहरुको ठाउँमा म भएको भए के हुन्थ्यो होला ? भन्ने सोचेर नरमाइलो लागेको बताए ।  कक्षा ९ मा अध्ययनरत छात्रा अप्सरा वोगटीले अनाथ बालबालिकाहरुले आफ्नो परिचयको क्रममा आफ्नो बाबु–आमा छैनन् भन्दा नरमाइलो लागेको र उनीहरुको पिडा सम्झेर आँशु रोक्न नसकेको प्रतिक्रिया दिइन् । विद्यालयकी क्याप्टेन विनु दर्लामी मगरले अनाथ बालबालिकाहरुलाई थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनहरुमा पनि साथीहरु मिलेर फेरी सहयोग गर्न आउने योजना रहेको सुनाइन् । सोही अनाथालयबाट  यस वर्ष एसइइ परीक्षा उतिर्ण गरी ११ कक्षामा अध्ययनरत रामनाथ यादवले अनाथहरुलाई पनि अवसर दिएमा, उचित शिक्षा÷दिक्षाको व्यवस्था गरिए समाजको लागि योगदान पु¥याउन सक्ने बताउँदै आफु र आफुजस्ता कोही नभएकाहरुलाई साहारा दिइरहेको सो अनाथालयलाई सकेको सहयोग गर्न सबैमा आग्रह गरे । 


वि.सं. २०५२ सालमा स्थानिय समाजसेवी वंशीराम जयसवालले २ जना अनाथहरुबाट सुरुवात गरेको सो अनाथालयमा हाल विभिन्न उमेर समुहका ३२ जना बालबालिकाहरुले आश्रय लिइरहेका छन् । सो अनाथालय परिषरभित्रै नेपाल सरकारको आधारभूत विद्यालय पनि संचालन रहेको छ । बालबालिकाहरुले कक्षा – ५ सम्म सो विद्यालयमा अध्यापन हुने गरेको छ भने त्योभन्दा माथि नगरमा रहेका अन्य विद्यालयमा जाने गरेका छन् । अनाथालयले अनाथ बालबालिकाहरुलाई खान, बस्न, लाउँन तथा उच्च शिक्षासम्मको प्रबन्ध गरेको छ ।  अनाथालयका ८३ वर्षिय संचालक जयसवाल आफुपछि अनाथालय कसरी संचालन हुने कुरामा सँधै चिन्तित रहन्छन् । हाल उनको स्वामित्वमा रहेको एउटा तेल बोक्ने ट्याङ्करको कमाइ तथा सहयोगि मनहरुको सहयोगबाट संचालन भइरहेको सो अनाथालय आफुपछि पनि यसरीनै चलिरहोस् भन्ने उनको चाहाना छ । सो लागि उनले एक करोड रुपैयाँको एउटा अक्षयकोष अनाथालयको नाममा खोल्नपाए सोहीको व्याजबाट अनाथालय संचालन भइरहने उनको विश्वास छ । हाल सो कोषमा केही रकम जम्मा भइसकेको र सहयोगी दाताहरुले सहयोग गरेमा सो लक्ष्य पुराहुने र अनाथालय संचालनमा कुनै समस्या नआउने जयसवाल बताउँछन् । सो अनाथालयमा अध्ययन गरेकाहरु हाल देश विदेशका विभिन्न सरकारी तथा निजी संस्थाहरु कार्यरत रहेका छन् ।  


Views: 216