15th September | 2019 | Sunday | 8:52:15 PM

सेनापतिको सम्पत्ति विवरण सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : भदौ २५, २०७६ (९:३७ AM)

सेनापतिको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यसरी सेनापतिले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सेनापति थापाले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको जनाएका छन् । 

आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा भद्रकालीस्थित सैनिक मुख्यालयमा कार्यक्रम आयोजना गरेर नेपाली सेनाको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । विवरणअनुसार सेनापति थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार र आंैठी छन् । 

यसैगरी, काठमाडौं महानगर २६ नं. वडामा ४१६ कित्तामा ८ आना ३ पैसा २ दाम जग्गा रहेको छ । लमजुङको बेसिसहर नगर ४ मा पैतृक सम्पत्तिबाट प्राप्त १२ रोपनी रहेको उल्लेख गरिएको छ । श्रीमती दीपा थापाले काठमाडौं महानगर २६ वडामा २ आना जग्गा माइतीबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख छ । थापा दम्पतीको नाममा उपत्यकामा ४ रोपनी ११ आना जमिन रहेको समेत विवरणमा खुलाइएको छ । नवलपरासीमा थापा दम्पतीको १२ आना जग्गा र लमजुङमा छोरी रुरु थापाको नाममा १ रोपनी जग्गा छ ।

प्रधानसेनापति थापाले दुईवटा बैंकमा आफ्नो र श्रीमतीको नाममा नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विवरणअनुसार उनको नाममा इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८ रुपैयाँ तथा ५ हजार ९ सय ७० अमेरिकी डलर, र ग्लोबल आइएमई बैंकमा ४२ हजार २ सय ९३ रुपैयाँ रहेको छ । 

श्रीमतीको नाममा मेगा बैंकमा ५० हजार रुपैयाँ छ । प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको शेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि उल्लेख गरिएको छ । 

कार्यक्रममा प्रधानसेनापति थापाले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको बताए । उनले नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह पनि गरे । उनले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने बताए । 

प्रधानसेनापति थापाले सेनाका रथी र अधिकृतहरूको सम्पत्तिको छानविनको काम पनि अघि बढाउने योजना अघि सारेका छन् । उनले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम आफूले गर्न नदिने चेतावनी पनि दिएका छन् ।

राज्यकोषबाट तलबसुविधा लिने प्रत्येक व्यक्तिले वार्षिकरूपमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सार्वजनिक गर्न भने अनिवार्य छैन, स्वेच्छिक हो । प्रधानमन्त्री र मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका छन् । 

सेना बाधक बन्दैन

प्रधान सेनापति पूर्णचन्द्र थापाले संक्रमणकालका अवशेषहरू टुंगो लगाउन नेपाली सेना बाधक नहुने बताएका छन् । 

आफूले सेनापतिका रूपमा कार्यभार सुरु गरेको एक वर्ष पुगेको अवसरमा मंगलबार सेनालाई सम्बोधन गर्दै उनले भने, संक्रमणका केही अवशेषहरू बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुँदैन, हुनुहुँदैन ।’ उनले राजनीतिक स्थिरतासँगै देश लामो सङ्क्रमणकालबाट क्रमशः पार हुँदै गरेको बताए । सङ्क्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने पनि बताए । 

सेनापति थापाले संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा संवैधानिक सरकारको वैधानिक आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस लाग्न नहुने पनि बताएका छ । उनले भने, ‘यसको दूरगामी प्रभावलाई हामी सबैले गम्भीरतापूर्वक मनन् गर्नुपर्दछ ।’ 

सेनापतिले छिमेकी राष्ट्रहरूको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यहरूका कारण आगामी केही समय अनिश्चितताको अवस्थाले नैे निरन्तरता पाउन सक्ने पनि बताएका छन् । आन्तरिक राजनीतिक परिवेश, विकासको आवश्यकता र सम्भावनाहरूका कारणले नेपाल सरकारले परिकल्पना गरेझैं ‘समृद्ध नेपाल, सुखी नेपाली’ आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधारहरू रहेको बताए । 


Views: 53