19th October | 2019 | Saturday | 8:21:09 PM

भ्रमण वर्षमा नुवाकोटनै किन ?

सरिशा अछामी   POSTED ON : आश्विन १६, २०७६ (१०:०९ AM)

भ्रमण वर्षमा नुवाकोटनै किन  ?

काठमाडौं  ।  सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भिœयाउने योजना बनाएको छ । उपत्यकामा मात्र नभएर उपत्यका बाहिरको जिल्लाहरूमा पर्यटक गन्तव्यहरू के कस्ता छन् त्यस्ता स्थानमा सरकारले खोजीखोजी भ्रमण वर्षका गन्तव्य तोकेको छ । 

भ्रमण वर्षमा तोकेको गन्तव्य मध्येमा नुवाकोट पनि पर्छ । पर्यटक लोभ्याउने गन्तव्य र नुवाकोटको इतिहास बारे बुझ्न चाहाने पर्यटक धेरै हुन्छन् । प्रदेश नं ३ का होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्ष सन्तोष उप्रेती भन्छन् ‘नेपालको पूर्व–राजधानी नुवाकोट एक ऐतिहासिक महत्व वोकेको जिल्ला हो । प्राचिन महŒव बोकेको विभिन्न मूर्ति तथा धार्मिक आस्था बोकेका मन्दिर छन् ।’  

उनका अनुसार समुन्द्र सतहदेखि ४ सय ५७ मि र ५ हजार १ सय ४४ मिटरको बीचमा रहेको यस जिल्ला काठमाडौं, रसुवा, सिन्धुपाल्चोक र धादिङ गरी चार जिल्लासँग सिमाना जोडिएको छ । अर्धचन्द्राकार नुवाकोट १ हजार १ सय २१ वर्ग किलोमिटरमा फैलिएको छ । मध्य स्थानमा तथा तत्कालीन राजधानीको नजिकै रहेको जिल्ला भए पनि त्यहाँ भएको पर्यटक गन्तव्य र ऐतिहासिक सम्पदाको बारेमा प्रचार प्रसार हुन सकेको छैन । पर्यटन स्थलहरू धेरै छन् । कतिपय सरकारको संरक्षणमा छन् भने कतिपय सम्पदाहरू स्थानीय तहले संरक्षण गरेर राखेका छन् ।  

उप्रेतीका अनुसार तत्कालीन राजा पृथ्वीनारायण शाहको पालामा नुवाकोट राजधानीको रुपमा परिचित थियो । नेपाल र चीनबीचको युद्धभूमि र सन्धिस्थल जस्ता ऐतिहासिक घटनाहरूले यस जिल्लालाई देशकै महŒवपूर्णस्थलको रूपमा स्थापित बनाएको छ । नेपाल एकीकरणको क्रममा गोरखापछि नुवाकोट आक्रमण गर्दै विजय प्राप्त गरेका थिए । 

नुवाकोटको साततले दरबार क्षेत्र, बेलकोट गढी दरबार, सेरा दरबार पृथ्वीनारायण शाहको सालिक आदिले पनि नुवाकोटलाई ऐतिहासिक भूमिको रूपमा चिनाएको छ । राजधानीसँग जोडिएको र पहाडी जिल्ला भएको कारणले पनि पर्यटकीय क्षेत्रको रूपमा नुवाकोट अग्रपंक्तिमा रहेको पाइन्छ ।  

राजधानीबाट नजिकै रहेको ककनी नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । सूर्यचौर, घलेभञ्ज्याङ्, मानेभञ्ज्याङ, समारीभञ्ज्याङ ढिकीजाँतो जस्ता उच्च स्थानमा रहेको रमणीयस्थलहरू हिमाली दृश्यावलोकनको लागि प्रख्यात मानिन्छ । त्यस्तै, सिलट्यांकी, त्रिशूली नदी, तादी नदीले जल पर्यटनको वर्षमा २०२० मा पर्यटक भिœयाउनको लागि प्रशस्त स्थान रहेको तर प्रचारप्रसार सबै स्थानमा हुन नसकेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष उपे्रतीको भनाइ छ । 

धार्मिक रूपमा पनि नुवाकोट समृद्ध छ । धार्मिक महŒव बोकेका जिल्लामा प्रख्यात  देवस्थलहरूमा नुवाकोटको भैरवभैरवी मन्दिर, देवीघाटको जालापादेवी मन्दिर, उत्तरगया धाम, बनदेवी मन्दिर, पञ्चकन्या मन्दिर, दुप्चेश्वर महादेव, बासुसी मन्दिर थानापति माताको मन्दिर निरञ्जना  मन्दिर, राम मन्दिर आदि छन् । जिल्लामा हरेक वर्ष धार्मिक रूपले महŒव बोकेका थुपैं नाच, जात्रा र पर्व मनाइने गरिन्छ । 

विकासको हिसाबले नुवाकोट अग्रपंक्तिमा पर्छ । त्रिशूली  जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजना भएको यस जिल्लालाई पहिले नै लोडसेडिङमुक्त जिल्लाको रूपमा घोषण गरिएको थियो । ठूलो लगानीमा सञ्चालन भएका अन्य उद्योगमा पानी प्रशोधन, पाइप उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, ढाका कपडा उद्योग रहेका छन् । जिल्लाको समग्र भ्रमण गर्ने हो भने व्यक्तिगत लगानीमा सञ्चालित आधुनिक र व्यवस्थित थुपै्र साना तथा मझौला स्तरको व्यवसायहरू धेरै भएको उप्रेती सुनाउँछन् ।  नुवाकोट जिल्ला राजधानीसँग नजिक भएको र रसुवागढी नाकासँग राजधानी जोड्ने जिल्ला हो । यस जिल्लाको सामरिक महŒव छ । जिल्लाभित्र विविध हावापानी, धर्म, जातजाति, भाषा जस्ता विविधताले नेपालकै उत्कृष्ठ जिल्लाको रूपमा चिनिएको उनको धारण व्यक्त गरे । 

नुवाकोटको पर्यटकीयस्थलहरू 

ककनी राजधानी काठमाडौंबाट २७ किलोमिटरको दूरीमा समुन्द्र सतहदेखि करिब २ हजार ३० किलोमिटरको उचाइमा छ । जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरूमध्येमा पर्छ । उच्च भूबनोटको कारणले यस स्थानबाट नुवाकोट जिल्लाको लिखु फाँटलगायत थुप्रै हिमशृंखलाहरूको अवलोकन गर्न सकिन्छ । बिहानीको सूर्याेदय  र साँझको सूर्यस्तरको दृश्यको मज्जा लिन चाहने पर्यटकहरूको लागि यसस्थलमा सुविधा सम्पन्न होटल तथा लजको राम्रो व्यवस्था गरिएको छ । 

यस्तैगरी, सागरकुण्ड समुद्ध सतहदेखि करिब २ हजार ९ सय १५ मिटरको उचाइमा छ । सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले महŒवपूर्णस्थल हो ।  काठमाडौंदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्छ । कुण्डको पर्यटकीय आकर्षण भनेको कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरू यस कुण्ड गएर उत्तिकै फल मिल्ने अनआस्था राख्ने गर्दछन् । 

सूर्याचौर नुवाकोट र काठमाडौं सिमाना जोडिने शिवपुरी गाउँपालिकामा अवस्थित सूर्यचौर पर्यटकीयस्थलको रूपमा परिचित छ । अग्लोे स्थानमा अवस्थित विशाल घाँसे चौरमा बसेर हिमालका सुन्दर दृश्य अवलोकन गर्न पर्यटक जाने गर्छन् । त्यस्तैगरी, बेलकोटगढी ऐतिहासिक स्थान हो । सदरमुकाम विदुरदेखि ३ कोष दक्षिणतर्फ गढी ३ रोपनी क्षेत्रफलभित्र छ । चारैतिर ढुंगाको पर्खाल लगाई माथिल्लो भाग र मध्य भागमा श्री निरञ्जना भगवत मन्दिर अवस्थित छ । 

बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्य एकीकरणको सिलसिलामा विक्रम सम्बत १८०१ मा नुवाकोट आक्रमण गर्न यस गढीको निर्माण गरेको इतिहासमा उल्लेख छ । गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुंगा गढीबाट एक किलोमिटर टाढाबाट ल्याइएको बुढापाकाहरूको भनाइ छ । 

दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्दछ । धार्मिक दृष्टिकोणले अति नै महŒवपूर्ण  मानिन्छ । यस मन्दिरमा दर्शन गरेपछि  निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था छ । यहाँ हरेक वर्ष मंसिर पूर्णिमाको दिनमा विशाल मेला लाग्ने गर्छ । जिल्लाभरिका भक्तजनहरू उक्त रात जाग्राम बसी बत्ती बाल्न उक्त स्थानमा आउने स्थानीयको भनाइ छ । 

चिम्टेश्वर क्षेत्र नुवाकोटको पर्यकीय क्षेत्रमध्ये एक हो । पर्यटन विकासको हिसावमा महŒवपूर्ण रहेको चिम्टेश्वर धार्मिक हिसाबले पनि महŒवपूर्ण छ । श्रीमहादेवले कालकुट विष सेवन घुम्दै हिड्ँदा सो स्थानमा चिम्टा बिर्सिएकाले यस महादेवको नाम चिम्टेश्वर रहन गएको धार्मिक विश्वास छ । शिव लिंग चिरिएर रहेकाले यस महादेवलाई चिर्काेश्वर महादेव भनेर पनि चिनिने गरेको छ । औंसी तथा तीजहरूमा यहाँ मेला लाग्ने स्थानीय धामीहरूले बताए । 

भैरमकोट क्षेत्र काठमाडौंबाट ७८ किलोमिटर उत्तर पश्चिम दिशामा छ । भैरमकोट प्राकृतिक, धार्मिक र ऐतिहासिक तिन रूपमा झल्किन्छ । खिन्चेत भनेर चिनिने यो स्थान हाल विदुर न.पा वडा नं ८मा पर्दछ । नुवाकोट बाट नेपाल एकीकरण सुरु गरेका पृथ्वीनारायण शाहले यसै स्थानमा किल्ला स्थापना गरेपछि नुवाकोट विजय गरेका स्थानिय बताउँछन् । 

शान्त प्राकृतिक वातावरणमा नुवाकोट तथा रसुवाको भूभागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस स्थानमा रहेको प्रसिद्ध बाघभैरव, महादेव र कालिका मन्दिर परिसरमा माघेसक्रान्तिको अघिल्लो दिन आमाबुबा नहुनेले पितृ मृतात्माको शान्तिका लागि बत्ती बाली जागरम बस्ने गर्छन् । यहाँको खैचडी भजन तथा बालन प्रसिद्ध छ । 

भैरवी मन्दिर नुवाकोटको सदरमुकाम विदुरदेखि ६ किमि छ । उत्तरपूर्वमा पर्ने भैरवभैरवीको मन्दिर नुवाकोटको सबैभन्दा प्रशिद्ध देवस्थल हो । वि.स १७८३ मा जगतजंग मल्लको पालामा निर्माण गरिएको थियो । यो मन्दिर तेलिया इँटा र कलात्मक काठका तोरण र टुँडालहरू प्रयोग गरी बनाइएको छ । यस मन्दिरका पूजारीलाई धामी भनिन्छ । जसलाई जीवित देवताको रूपमा लिइन्छ । हरेक वर्ष चैत्रशुल्क पूर्णिमाका दिनदेखि यस मन्दिर परिसरमा सिन्दूरे जात्रा हुन्छ । सो जात्रा धामी, धमिनी रथसहित देवीघाटमा रहेको जालपादेवी मन्दिरसम्म पुग्ने गरेको सोही धामीको भनाइ छ ।  

वेत्रावती उत्तरगयाधाम नुवाकोट र सिमाना छुट्याउने वेत्रावती खोलाको किनारमा पर्छ । यस धार्मिकस्थल एक महŒवपूर्ण पर्यटकीयस्थल हो । काशी, गया र चारधामको जत्तिकै धार्मिक महŒव छ । धर्मशास्त्रमा लेखिएका कारण भारतबाट थुपैै्र भक्तजनहरू दर्शनको लागि आउने गर्छन् । यहाँ दर्शन गर्दा चारधाम दर्शन गरेजस्तै मान्यता हुने उनीहरूको भनाइ छ । 

देवीघाट जालपा मन्दिर तादी र त्रिशूली नदीको दोभानमा छ । देवीघाट पृथ्वीनारायण शाहले आफ्नो अन्तिम दाहसंस्कार गर्नको लागि इच्छा गरेको ठाउँ हो ।  पृथ्वीनारायण शाहको सम्झनामा कलात्मक सालिक निर्माण गरिएको छ । चैत्र शुल्क पूर्णिमाको दिन नुवाकोटको देवी भैरवीको रथयात्रा यस ठाउँमा पुग्ने गर्छ । यस समयमा श्रद्धालु भक्तजनहरू रातभर बत्ती बाली जाग्राम बस्ने चलन छ । यस मेला नुवाकोटको महŒवपूर्ण मेलाहरूमा पर्ने स्थानीय केवश रैलाले जानकारी दिए । 

त्यस्तैगरी, राम मन्दिर नुवाकोट र रसुवाको हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द विन्दु हो । राम मन्दिर त्रिशूलीको भित्री बजारमा अवस्थित छ । विवाह लगायतका शुभ कार्यहरू गर्नको लागि यस मन्दिर प्रशिद्ध छ । यस मन्दिरमा हरेक वर्ष चैत्र शुक्ल नवमीको दिन मर्यादा पुरुष श्रीरामको सम्झनामा बृहत मेला लाग्ने होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्ष उप्रेतीले बताए । 

नुवाकोटमा लाग्ने जात्रा तथा पर्वहरू 

आजभन्दा करिब दुई सय वर्षअघि बझाङका राजा जयपृथ्वीबहादुर सिंहले तारुकाको गोरु जुधाउने जात्राको सुरु गरेका थिए । हरेक वर्ष माघे संक्रान्तिका दिन मनाइने यस जात्रामा नुवाकोट जिल्ला र छिमेकी जिल्लाका बासिन्दाहरूले आफ्नो गोरुलाई सामेल गराउने र जुधाउने गरेको भनाइ छ । 

स्थानीय कृष्ण लामा भन्छन् ‘दर्शकका रूपमा देशभरिबाट मानिसहरूको भीड हुन्छ । यस जात्रा हालको समयमा एउटा जिल्लाको मात्र होइन । समग्र देशवासीको चासोको विषय बनेको छ ।’

अर्काे जात्रा लाखे नाच हो । राजा प्रताप मल्लले आफ्नो छोरालाई मृत्युको वियोगमा आफ्नी रानीको दुःख भुलाउन गाईजात्रा सुरु गरेका थिए भन्ने मान्यता छ । नुवाकोटमा बस्ने नेवारी समुदायमा प्रचलित रहेको नाच लाखे नाच हो । यो नाच विशेष गरेर नेवारी समुदायबाट सुरु गरिन्छ । हरेक वर्ष श्रावण महिनाको गठेमंगलबाट सुरु भई श्री कृष्ण जन्माअष्टमीको दिन सम्म चल्छ । मृत आत्माको सम्झनामा लाखे नाच नाचिन्छ । गाईजात्रा र लाखेनाच दुवै नुवाकोटको त्रिशूली, बट्टार, गंगटे, नुवाकोट ढिकुरे, चतुराले आदि क्षेत्रमा प्रख्यात छ । 

नुवाकोटको आर्थिक अवस्था 

नुवाकोट परापूर्व कालदेखि नै आर्थिक तथा व्यपारिक दृष्टिले महŒवपूर्ण रहँदै आएको छ । जिल्लाको मुटुमा रहेको त्रिशूली बजार कुनै समयमा पश्चिम १ नम्बर क्षेत्र नुवाकोट, रसुवा, धादिङ, गोरखाको एक मात्र व्यापारिक केन्द्रको रूपमा रहेको थियो । समयको विकासक्रमसँगै बजार र व्यपारको स्थानीयकरण हँुदै जाँदा अहिलेको समयमा गाउँ नै पच्छिे बजारको विकास भएको छ । 

बट्टार, देवीघाट, रातोमाटे, ककनी, ढिकुरे, वेत्रावती जस्ता ठाउँहरू जिल्लाका प्रमुख व्यपारिक केन्द्रको रूपमा विकास भइसकेको छ । यातायातको तीव्र विकास र जलविद्युत् आयोजनाहरूको संख्यामा आएको बढोत्तरीसँगै औद्योगिक तथा व्यपारिक प्रतिष्ठानहरूको पनि वृद्धि हँुदै गइरहेको छ । 

पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र प्रस्तावित केरुङ रसुवागढि रक्सौल त्रिदेशीय व्यपारिक मार्ग निर्माणका कारणले पनि नुवाकोटको आर्थिक भविष्य सुन्दर रहने स्थानीय व्यवसायीहरूको भनाइ छ । 

केरुङ रसुवागढी रक्सौल मार्गको नुवाकोटभन्दा उत्तरको भुभाग हिमाली र विकट पहाडी भाग पर्छ । नुवाकोट आइपुगेपछि मात्र समथर भूभाग भेटिने हुँदा नुवाकोटमा थप औद्योगिक तथा व्यापारिक चहलपहल बढ्ने र होटल व्यवसायको भविष्य समुन्नत रहने कुरामा स्थानीयहरू विश्वास भएको उप्रेतीले बताए ।    

पूर्वाधारको अवस्था 

नुवाकोटमा जानको लागि ३ सडक खण्ड तथा पदयात्रा छन् । कलंकी नागढुंगा गल्छी हुने जाने सडकखण्ड मंसिरसम्म कालोपत्र गरिने विदुर नगरपालिकाको मेयर सुञ्जु पण्डितले जानकारी दिए । उनका अनुसार अन्य दुई स्थानको सडकखण्ड टोखा हुँदै जाने र अर्काे माछापोखरी हुने जाने सडकखण्ड कालोपत्र हुन समय लाग्छ । तत्कालीन समयमा भने दुई सडकखण्ड ग्रावेल हालेर सवारीसाधन चल्न योग्य बनाउने जानकारी दिए । 

होटल तथा पर्यटन व्यवसायीसंघको महासचिव दामोदर नेपाल भन्छन् ‘नुवाकोट भ्रमण स्थालहरू मात्र होइन ऐतिहासिक महŒवसमेत बोकेको छ ।’ पर्यटकको सुरक्षा र कहाँकहाँ घुम्न लग्ने र होटलमा कस्तो सुविधा दिने र सुरक्षा दिने बारेमा पूर्णतयारी भइसकेको दामोदरले जानकारी दिए । 

पर्यटकलाई कसरी सम्मान गर्ने र कुन कलाले आकर्षक बनाउन सकिने बारेमा तयारी भइसकेको दामोदरले जानकारी थिए । आन्तरिक साथसाथै बाह्य पर्यटकलाई आवतजावतको लागि सहज वातावरण बनाउने प्रयास गरिरहेको जानकारी दिए । 


Views: 171