19th October | 2019 | Saturday | 8:29:56 PM

बारामा पाँच जनाको रहस्यमय मृत्यु

सञ्जीवकुमार मिश्रा   POSTED ON : आश्विन १७, २०७६ (९:२७ AM)

बारामा पाँच जनाको रहस्यमय मृत्यु

बारा । अवैध घरेलु मदिरा बनाउने क्रममा एकै परिवारका चार जनासमेत पाँच जनाको मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फेटा गाउँपालिका–४ बतराका जोगा मुखियाको पक्की घरभित्र भूमिगत ट्यांकीमा मदिरा बनाउने क्रममा बुधबार साँझ पाँच जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मदिरा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमन कुमारी बिन, ३० वर्षीया पत्नी लालमुनिदेवी बिन, जोगा मुखियाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारतीय नागरिक गुलाबचन्द माझी छन् । उनीहरूको शव घरभित्र रहेको एउटा सेफ्टी ट्यांकीमा फेला परेको हो । सो ट्यांकी मदिरा बनाउन प्रयोग हुँदै आएको पाइएको छ ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार घरभित्र ट्यांकीमा मदिरा बनाउने क्रममा निसास्सिएर पाँचैजनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा पुग्दा मदिरा उत्पादनका लागि तयारी गरिएको कच्चा पदार्थसमेत फेला परेको उनले बताए । उनका अनुसार पाँच जनाको शव रहेको खाली ट्यांकीनजिकै मदिरा बनाउने कच्चा पदार्थ राखिएका कारण उनीहरू मदिरा बनाउने तयारीमा लाग्दा घटना भएको अनुमान गरिएको छ । पाँचै जानको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा लगिएको छ । 

खालि ट्यांकीमा विषाक्त ग्यासका कारण पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरी उपरीक्षक खनालले बताए । जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गरी घरेलु मदिरा उत्पादन गर्दै आएका थिए । मृतक जोगा मुखिया र उनकी पत्नीको मृत्यु भएपछि दुई छोरा र एक छोरी टुहुरा भएका छन् । दुई छोरा र दुई छोरीमध्ये १२ वर्र्षीया छोरी सुमन कुमारीकोे उक्त घटनामै मृत्यु भएको छ । जोगाको भाइ महेन्द्रका पत्नी र चार छोरी छन् । 

महेन्द्रकी पत्नी भागो देवीले घटनाको समयमा आफू घरमा नरहेकाले कसरी यस्तो दुर्घटना भयो भन्ने थाहा नभएको बताइन् । उनी छोरीहरूलाई गाउँनजिकै रहेको नहरतिर खेलाउन गएकी थिइन् । जोगा र महेन्द्रका परिवारको भान्सा अलग–अलग रहे पनि कारोवार र अन्य व्यवहार सगोलमै हुँदै आएको भागोदेवीको भनाइ छ । उनले सम्पत्तिको नाममा त्यही घरमात्र रहेको बताइन् । घर बनाउनसमेत जोगाले ऋण लिएको उनले बताइन् ।

जोगाका दाजु नागेन्द्र भने सपरिवार अलग बस्दै आएका छन् । नागेन्द्रले जोगाको परिवारसँग त्यति बोलचालसमेत नहुने जनाउँदै भतिज श्यामकुमारले घटनाबारे जानकारी गराएपछि आफूहरू जोगाको घरमा पुगेको बताए । नागेन्द्रलगायत केही छिमेकी भेला भएपछि गाउँलेलाई घटनाबारे जानकारी गराइएको परिवारको भनाइ छ ।

प्रहरीले दुई हप्ताअघिमात्र जोगाको घरमा पुगेर भट्टी नष्ट गरेको थियो । प्रहरीले मदिरा बनाउने सामग्रीसमेत नष्ट गरेपछि घरभित्रै ट्यांकी बनाएर मदिरा उत्पादन गर्न थालेको बताइएको छ । बतरा नजिकै रहेको छतवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक अशोककुमार कुर्मीका अनुसार प्रहरीले छापा मारेर सबै सामान नष्ट गरेका कारण जोगा परिवारले फेरि मदिरा उत्पादन सुरु गर्लान् भनेर कल्पना पनि गरिएको थिएन ।

राति नै जिल्ला प्रहरी कार्यालय प्रमुख विकासराज खनाल, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरका अनुसार साउनयता जिल्लाका विभिन्न भागमा अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान नै प्रहरीले सञ्चालन गर्दै आएको छ । मदिरा भट्टी भत्काउने र घरेलु मदिरा नष्ट गर्ने अभियान जारी रहेको उनले बताए ।

साउनयता ४७ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको र तीन हजार ८६० लिटर तयारी मदिरा र २७ हजार चार सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ पोखेर नष्ट गरिएको उनले जानकारी दिए ।

परिवारको विचल्ली 

जोेगा मुखियाका ७० वर्षीया आमा एतवारी देवीले परिवारमा कमाउने दुवै छोराको मृत्यु भएपछि नातिनातिनी पढाउन तथा हुर्काउन समस्या हुने चिन्ता व्यक्त गरिन् । ‘अब परिवार पाल्नकै लागि समस्या हुने भयो,’ उनले भनिन् । बुहारी भागो देवी शारीरिक रूपमा अशक्त रहेको उनले बताइन् । 

‘सबै नाबालक छन्, घरमा कमाउने जतिलाई दैवले लिएर गयो,’ उनले भनिन्, ‘म बूढी मान्छे, मेरो आफ्नो जिन्दगीको ठेगान छैन ।’



Views: 107