19th October | 2019 | Saturday | 8:48:27 PM

पत्रकार शिवाकोटीलाई सुरक्षा थ्रेट

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७६ (९:३२ AM)

पत्रकार शिवाकोटीलाई सुरक्षा थ्रेट

काठमाडौं । प्रेस युनियन नेपालले पत्रकार अजयबाबु शिवाकोटीलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वसभामुख कृष्णबहादुर महरालामाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएको समाचार प्रकाशित गरेपछि शिवाकोटीमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै युनियनले सरकारको ध्यानाकर्षण गराएको हो । 

युनियनका महासचिवसमेत रहेका शिवाकोटीलाई नम्बर नखुलेका फोनहरू आउने गरेको र समाचार सार्वजनिक भएको दिनबाट नै केहीले पछ्याउने गरेको भन्दै युनियनले सरकारको ध्यानाकर्षण गराएको हो । युनियनका अध्यक्ष बद्री सिग्देलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकबमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।’ यसैबीच प्रहरीले सिवाकोटीलाई अहिले सुरक्षा निगरानी राखेको जनाएको छ । पछिल्लो समय शिवाकोटीले उठाएको विषयका कारण उनलाई गाह्रो हुनसक्ने भएकाले सुरक्षाका दृष्टिले प्रहरीले निगरानी गरेको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।


Views: 61