19th October | 2019 | Saturday | 9:42:50 PM

मनाऔँ दशैँ रमेर

गोविन्द लुइँटेल   POSTED ON : आश्विन १८, २०७६ (९:३७ AM)

मनाऔँ दशैँ रमेर

काठमाडौं । नेपालीहरूलाई महान् चाड दशैँले छपक्कै छोपेको छ । राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दो छ । दशैँका लागि काठमाडौं भित्रिनेको संख्या पनि हरेक वर्ष बढ्ने क्रममा छ । 

काठमाडौं र अन्य ठूला शहरबाट दशैँका लागि घर फर्केकाहरूले गाउँघरमा रमझम बढाएका छन् । बजारमा किनमेल गर्नेको घुइँचो छ । काठमाडौंका बस स्टेशन र विमानस्थल यात्रुले खचाखच छन् । वर्षा हट्दै आकाश सफा देखिन थालेको छ । घरघर र टोलटोलमा सरसफाइ भइरहेको छ; दशैँको तयारी भइरहेको छ । 

दशैँको मुखमा महँगी आकाशिएको छ । प्याज र तरकारीको भाउ अभूतपूर्वरूपमा वृद्धि भएको छ । दशैँमा अत्यधिक खपत हुने मासुको भाउ पनि बढेको छ । सुन भने बजार जरुरीबाहेक करिब सुनसान छ । खाद्य वस्तुमा सहुलियत दिन खाद्य तथा व्यापार कम्पनीमार्फत सरकारले सुपथ मूल्य पसल चलाएको छ, केही राहत पनि मिलेको छ तर त्यो पर्याप्त छैन । दुर्गमका बासिन्दाले सहुलियत कम पाउँछन् । राज्यबाट प्राप्त अधिकांश सुविधाहरू शहर केन्द्रित छन् । 

बजारमा उपभोक्ताहरू वस्तुको गुणस्तर, मूल्यलगायतमा ठगिने गरेका छन् । नियामक निकायले बजार अनुगमन त गरेको छ तर पर्याप्त छैन । अनुगमन अक्सर मौसमीमात्रै भएको भन्दै आलोचना हुने गरेको छ । अनुगमनमा जनशक्ति र दक्षताको अभाव त छँदैछ, इमानदारीको पनि खडेरी देखिने गरेको छ । यसको परिणाम भोग्ने उपभोक्ताले नै हो । अक्सर दशैँतिहारमा सबैतिरबाट ठगिने भनेका सर्वसाधारण र विपन्न उपभोक्ता नै हुन् । जो जीवन चलाउनै पनि केही सहुलियत अपेक्षा गर्छन् । 

दशैँ आपसी सद्भाव र सामिप्यको पारिवारिक तथा सामाजिक चाड हो । ढाटा रहेका परिवारजन पनि दशैँको मौकामा एक ठाउँमा जम्मा हुन्छन् । आफन्तजन र पुराना–नयाँ साथीहरूसँग मिलनको अवसर प्राप्त हुन्छ । दशैँका लागि खचाखच यात्रको कष्ट सहन पनि रमाइलै भएको हुन्छ । चाडको धार्मिक–सांस्कृतिक महŒव छँदैछ । अव्यावहारिक र अनुचित मानिएका चलनहरू छुट्दै जाँदैछन् । यससँगै नयाँ किसिमका विकृतिले प्रवेश पाएको पनि अनुभव हुने गरेको छ । यसतर्फ सामाजिक अगुवाहरूको ध्यान जानु उचित हुनेछ । 

सम्भवतः दशैँ सकिँदा नसकिँदै उत्तरी छिमेकी सि चिनफिङको नेपालयात्रा तय हुनेछ । नेपाल उनको स्वागतका लागि तयार हुनेछ । सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीच हालै भएको ‘विचार–अनुभव आदान–प्रदान’ दुई पार्टी बीचको कुरा हो । यसले राष्ट्रिय राजनीति तथा भूराजनीतिमा पर्ने प्रभावको परिणा देखिँदै जाला अहिले मुख्य काम सिंगो मुलुकले हार्दिकताका साथ चिनियाँ राष्ट्रपतिको स्वागत गर्नु नै हो । 

हाम्रा पुर्खाले भनेकै छन्– घाँटी हेरी हाड निल्नु । देखासेखीले आफैँलाई हानी गर्छ । पारिवारिक र सामाजिक सद्भावको सांस्कृतिक चाड दशैँ ‘आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई भनेजस्तो नहोन् भन्नेतर्फ ध्यान दिऔँ । सरकार र राज्यका नियामक निकायहरूले हजारौँ यात्रुको सुरक्षित यात्राका लागि नियमनमा कडाइ गरून् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली भोकै पर्दैन भनेका छन् । दशैँमा कसैले पनि खाद्यान्न अभाव झेल्नु नपरोस् । 

आआफ्नो गच्छेअनुसार हाँसी–खुसीमा रमेर दशैँ मनाऔँ । मानवता र सद्भाव सञ्चार गरौँ । हिंसात्मक विचार मनैबाट उखेलेर फालौँ । बडा दशैँले समस्त नेपालीमा सुख, समृद्धि र शान्तिको सञ्चार गर्न सकोस् । हार्दिक शुभकामना । 


Views: 93