2nd July | 2020 | Thursday | 11:40:54 PM

टिपरको ठक्करले युवकको मृत्यु, नियोजित हत्याको आशंका

पुरन साह   POSTED ON : पुष २६, २०७६ (१०:०८ AM)

टिपरको ठक्करले युवकको मृत्यु, नियोजित हत्याको आशंका

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नगरपालिकाको वडा नं. ५ स्थित औरही खोलामा ना७ख ६४१३ नम्बरको टिपरले किचेर स्थानीय श्रीपुर बस्ने रामजीवन महतका छोरा २४ वर्षीय दिलीपकुमार महतोको मृत्यु भएको हो ।  खोला किनारमा ‘मर्निङवाक’ गएका बेला बिहान टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, मृतकका परिवारजनले दुर्घटनामा नभई जानीजानी टिपरले किचेर हत्या गरिएको दाबी गरेका छन् । 

मृतकका काकाको छोरा वीरेन्द्र महतोले पहिला हत्या गरेर त्यसपछि टिपरले किचेर मारेको आरोप लगाए । भारतमा मेकानिकल इञ्जिनियरिङ पढ्दै आएका मृतक महतो गाउँ आएका बेला सामाजिक र राजनीतिक गतिविधिमा समेत सक्रिय हुन्थे । मृतक महतो खोलामा हुने अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका थिए । उनी तरुण दल नगर कार्यसमितिको सदस्यसमेत रहेको खुलेको छ । जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न खोज्दा क्रसर उद्योगीहरूले उनको हत्या गरेको हुनसक्ने स्थानियवासीको अनुमान छ ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिपर र टिपरका चालक मुनिन्द्र महतोलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

यसैबीच, घटनाको विरोधमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयवासीले चक्काजाम गरेका थिए । यद्यपि, प्रहरीले अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन सञ्चालनमा ल्याएको छ ।

प्रहरीले चक्काजाम खुलाउन १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास हानेर प्रदर्शनकारीलाई हटाएपछि राजमार्ग खुलेको हो । 

मृतकका परिवारजनका अनुसार क्रसर उद्योगीले अवरोध गर्ने जो कोहीलाई पनि मार्ने धम्की दिएका थिए । प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि लगेपछि स्थानीयले घटनामा प्रहरीको पनि संलग्नता रहेको आशंका गरेका छन् ।

शव रहेको गाडीमा आफूहरूलाई चढ्न नदिनु, मुचुल्का नउठाउनु, मोडल हस्पिटल लैजाने भन्दै प्रादेशिक अस्पताल पु¥याउनुजस्ता भूमिकाले प्रहरीमाथि शंका भएको उनीहरूको भनाइ छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले शवको प्रकृति हेर्दा वीभत्स रूपमा किचेर मृत्यु भएको देखिएको र हत्या भएको कुरासमेत आएकाले अनुसन्धान भइरहेको बताए । 

वडा अध्यक्ष श्यामबाबु यादवले समेत हत्याको आशंका गरेका छन् । महतोलाई बिहानै बोलाएर लगेका उनका साथी रोशन यादव र घटनास्थल छेउमै रहेको एक फ्याक्ट्रीका सञ्चालकमाथि समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सुरक्षालाई दृष्टिगत गर्दै सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।








Views: 193