29th February | 2020 | Saturday | 5:49:44 AM

प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन माग

चूडामणि कोइराला   POSTED ON : फाल्गुन २, २०७६ (११:३३ AM)

प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले ऐनमा आधारित रहेर सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

महिला कानुन र विकास मञ्चले बिहीबार मन्त्रालयामा आयोजना गरेको कार्यक्रमा उनले मन्त्रालय छिटो नियमावली बनाउने काममा क्रियाशील हुने बताए । उनले कानुन अभावमा महिलाले भोग्ने गरेका समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको पनि बताए । 

राज्यमन्त्री रावले महाभारत, रामायण र स्वस्थानी जस्तो विषय कानुनमा नआउने भन्दै समायानुसार परिवर्तन हुँदै जाने बताए । मन्त्रालयले तयार पारेको नियमावलीको मस्यौदामा केही समस्या भए छलफल गरेर परिवर्तन गर्न मन्त्रालय तयार रहेको बताए । 

कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले नियमावलीको मस्यौदा छिट्टै मन्त्रिपरिषद्मा पेश हुने जानकारी गराए । उनले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी नियमावलीको मस्यौदा तयार पारेर कानुन मन्त्रालय र नीति योजनामा पठाएको बताए ।

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन जारी भएको एक वर्ष बितिसक्दा पनि नियमावली नबन्दा कानुनको कार्यान्वयनमा समस्या भएको बताए । सो ऐन २०७५ असोज २ गते जारी भएको थियो । उनले तत्काल नियमावली बनाएर अधिकार प्रयोगमा सहज बनाउन आग्रह गरे । 


Views: 41