10th April | 2020 | Friday | 5:59:01 PM

ज्येष्ठ नागरिक र अपांगलाई निःशुल्क यातायात

चिसाङ शेर्पा   POSTED ON : फाल्गुन ४, २०७६ (५:२९ PM)

ज्येष्ठ नागरिक र अपांगलाई निःशुल्क यातायात

खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई यातायातमा निःशुल्क सुविधा दिने भएको छ । दिक्तेल–ऐंसेलुखर्क रुटमा चल्ने यातायातमा गाँउपालिकाले निःशुल्क सुविधाको व्यवस्था मिलाएको हो ।

गाउँपालिकाले बिहीबार खोटाङ यातायात प्रालिसँग आफ्नो पालिकाभरका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपांगलाई निःशुल्क यातायात सुविधा दिने सम्झौता गरेकोे गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । यसअघि सबै वडामा विषयगत शिविर सञ्चालन गरेर परिचयपत्र वितरण गरिसकिएको छ । एक हजार दुई सय ज्येष्ठ नागरिक र सयको हाराहारीमा ‘क’ र ‘ख’ वर्गलाई अपांगता परिचय पत्र दिइसकेको अध्यक्ष निरौलाले बताए ।

यात्रा गर्दा ज्येष्ठ तथा अपांगता भएकाले गाउँपालिकाले दिएको परिचय खुल्ने परिचय पत्र देखाउनु पर्नेछ । ज्येष्ठ नागरिक तथा अपांगता भएकाले यात्रा गरेको रेकर्डअनुसार यातायात व्यवसायीलाई गाउँपालिकाले सिधै भुक्तानी दिनेछ । दिक्तेल–ऐंसेलुखर्क रुटमा खोटाङ यातायात प्रालिको एउटा यात्रुवाहक बस सञ्चालन छ । ऐंसेलुखर्कबाट नियमित बिहान ६ बजे र दिक्तेलबाट ऐंसेलुखर्क दिउँसो ३ वजे बस छुट्ने गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

यसअघि, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई यातायातमा निःशुल्क सुविधा दिंदै आएको छ ।


Views: 73