8th July | 2020 | Wednesday | 8:16:49 AM

महाकालीको जलस्तर बढ्दा सतर्क रहन आग्रह

हिमालय टाइम्स   POSTED ON : असार १६, २०७७ (७:४१ PM)

महाकालीको जलस्तर बढ्दा सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबार रातिदेखि बाँध खोलेसंगै महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभयो । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको हो ।  

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गर्नुभयो । बाँध खोलेसंगै नदीमा जलस्तर बढेको महाकाली नदी जलसतह मापन केन्द्र दत्तुले जनाएको छ ।  

केन्द्रका गेज रिडर कृष्णसिंह नगारीकाअनुसार मंगलबार गरिएको मापन अनुसार जलस्तर ४ मिटर २० सेन्टिमिटर पुगेको छ । बाँध खोल्नुअघि महाकालीको जलस्तर २ मिटर ९० सेन्टिमिटर रहेको थियो ।  नदीमा जलस्तर ४ मिटर ८० सेन्टिमिटर माथि पुगेपछि बार्निङ लेबल हुने दत्तुले बताउनुभयो । 

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाई गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । विसं २०७० मा धौलीगंगाको कै बाँधका कारण दार्चुला सदरमुकाम खलंगामा बाढी पसेर घरहरु बगाउँदा अर्बौको क्षति भएको थियो ।


Views: 41