8th July | 2020 | Wednesday | 7:50:49 AM

रोजीरोटी खोसिएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (७:४४ AM)

रोजीरोटी खोसिएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित

काठमाडौं । लामो समय ‘लकडाउन’ हुँदा ट्याक्सी चलाउन नपाएर रोजीरोटी खोसिएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ट्याक्सीसहित मंगलबार राजधानीमा प्रदर्शन गरेका छन् । ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका छन् । पटक पटक भन्दा पनि माग सुनुवाइ नभएको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघले १५ गतेसम्म माग सम्बोधन गर्न समय दिएपनि सरकारले बेवास्ता गरेपछि विरोध गरेका हुन् ।

उनीहरुले विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत् सरकारलाई बुझाएका छन् । लामो समयदेखि कायम रहेको लकडाउनका कारण ट्याक्सी सञ्चालन गर्न नपाएका व्यवसायीलाई बैंकले ऋणको किस्ता तिर्न ताकेता गर्न थालेपछि सरकारलाई दबाब दिएका हुन् । सरकारले आफूहरुका माग तत्काल पूरा नगरे काठमाडौं उपत्यकामा रहेका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने अवस्था आउने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्नेजस्तो गरी सरकारले व्यवहार गरेको व्यवसायीहरुको गुनासो छ । अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले ट्याक्सी सन्चालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले आफूहरुले बाध्य भएर आनदोलन गर्नु परेको बताउनुभयो । 

अध्यक्ष केसीले प्रधानमन्त्रीले समेत कोरोना ठूलो रोग नभएको बताइसकेकाले लकडाउन गरेर मजदुरहरुलाई बन्दी बनाउन नहुने बताउनुभयो । ‘प्रधानमन्त्रीले आफैंले यो ठूलो रोग होइन, समान्य रुघा खोकी हो’ तातो पानी र बेसार खाए निको हुन्छ । भनिरहँदा अर्कोतिर हामीलाई यसरी कामबिहीन बनाउने ।’ व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमासमेत समस्या भएको गुनासो उहाँको छ । दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरूलाई सरकारले बेवास्ता गरेको गुनासोसमेत उहाँले गर्नुभयो । 

व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् । उनीहरुले स्यानिटाइजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् । 


Views: 40