8th July | 2020 | Wednesday | 8:15:31 AM

स्वास्थ्यमन्त्रीलाई रेडक्रसबाट स्वास्थ्य सामग्री हस्तान्तरण

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (७:५७ AM)

स्वास्थ्यमन्त्रीलाई रेडक्रसबाट स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले मंगलबारदेखि सुरू गरेको छ । हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख ७७० रहेको छ ।काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ । नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुरूवात गरिएको छ । नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो । 

प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो । दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३ सय वटा, २० हजार जोडी पञ्जा, ४४० थान रबर बुट, २५ हजार थान स्यानिटाइजर, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार ११८ थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।  

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ । सामग्री वितरण समारोहमा मन्त्री ढकालले यो अफ्ठेरो परिस्थितिमा यस राहतले ठूलो उपलव्धि मिलेको बताउनुभयो । उहाँले सुरक्षा सामग्री नपुगेको स्थानमा यि सामाग्री प्राथमिकताको आधारमा पठाउनेसमेत बताउनुभयो । शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्सलगायत अग्रपंतिmका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयो । 

यसैबीच, सिंगापुर रेडक्रसको तर्फबाट ३५ हजार थान एन नाइन्टीफाइभ माक्स पनि मंगलबारनै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।


Views: 36