26th April | 2019 | Friday | 9:40:14 AM

मंगलोदय माविको भवन उद्घाटन

  POSTED ON : फाल्गुन १४, २०७३ (११:५५ AM)

मंगलोदय माविको भवन उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गरिन् । 

काठमाडौंको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि करिब तीन करोडको लागतमा भवन निर्माण गरिएको हो । 

विसं २०२४ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको विद्यालयबाट विसं २०७२ सम्म दुई हजार ८०० छात्रछात्राले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । शिक्षा मन्त्रालयले विद्यालयलाई सामुदायिक विद्यालयबाट शतप्रतिशत प्रवेशिका परीक्षामा उत्तीर्ण गराएबापत प्रदान गर्ने नगद तथा प्रमाणपत्र विसं २०६० देखि निरन्तर रुपमा प्रदान गरिरहेको छ । 

करिब ११ रोपनी जग्गामा रहेको विद्यालयको सातवटा भवन आफ्नै रहेको छ । साथै आफ्नो १६ रोपनी जमिनमा स्याउ र नासपातिका बिरुवा रोपी आम्दानीको स्रोत बढाउन सुरुवात् गरेको छ । 

संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने गतिलो उदाहरण बनेको सो विद्यालयमा हाल एकहजार दुईसय छात्रछात्राले अध्ययन अध्यापन गरिरहेका छन् । 

राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै सहरी र ग्रामीण क्षेत्रमा विद्यमान शैक्षिक गुणस्तर र पहुँचका खाडललाई अन्त्य गर्नु पर्ने आवश्यकता औंल्याइन् । 

उनले दुर्गम क्षेत्रका बालबालिकाको अझै पनि शिक्षा लिनबाट वञ्चित एवम् बीचबाट अध्यययन छाड्नुपर्ने बाध्यता रहेको तर्फ सरकारले ध्यान दिन आग्रह गर्दै अभिभावक, शिक्षक, विद्यालयको समन्वयबाट मात्र शैक्षिक उन्नयन हुने बताइन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले विद्यालयका संस्थापक, प्रधानाध्यापक,संस्थापक शिक्षक, पहिलो समूहमा तथा विसं २०७० को सामुदायिक विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रा, भवन निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिन् ।  

यसरी सम्मानित हुने विद्यालयका संस्थापकमा नर्सिङ्ग श्रेष्ठ, मोहनमान श्रेष्ठ, चक्रबहादुर महर्जन, शङ्खलाल महर्जन, काजीलाल महर्जन, प्रेमबहादुर बस्नेत, रामबहादुर गिरी, केशवप्रसाद शर्मा, तीर्थराज सिग्देल, संस्थापक शिक्षकमा मोहनमान श्रेष्ठ, मञ्जु गिरी र श्यामबहादुर श्रेष्ठ छन् । 

कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले विद्यालयमा शिक्षक आवास भवन तथा प्राविधिक शिक्षालय बनाउन थप आर्थिक सहयोग गर्ने जानकारी दिँदै शैक्षिक उन्ननयका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । रासस 


Views: 156