Date:2017/11/25 |Saturday

फुटपछिका राप्रपा

Posted on: August 09, 2017 | views: 85 |

साना राजनीतिक दलहरू एकीकरण हुने क्रम चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने एकता महाधिवेशनको छ महिना नबित्दै फुटेको छ । अध्यक्ष कमल थापाको कार्यशैलीमा असहमति जनाउँदै नेता पशुपतिशमशेर राणाले ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसदहरू साथमा लिएर राप्रपा प्रजातान्त्रिक नामको दल दर्ताका लागि निवेदन दिएका छन् । एकीकरण घोषणाबाट तीन महिनामा एकता महाधिवेशनमा आइपुग्दा नै नेताहरूबीच पार्टीको सिद्धान्त, चुनाव चिहृन र नेतृत्वका विषयमा मतभेद देखापरेको थियो । एकता महाधिवेशनलगत्तै नेता प्रकाशचन्द्र लोहनी अध्यक्ष थापाले एकीकरण हुँदाको सहमति पालना नगरेको आरोप लगाएर बाहिरिएका थिए । यता स्थानीय तह निर्वाचनमा नराम्ररी पराजित भएपछि राप्रपा विवाद चुलिन थाल्यो । संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा राणा र थापा फरक धारमा उभिए । भित्रभित्रै विवाद चर्किंदै गयो । 

विवाद चर्किंदै गएपछि अध्यक्ष थापाले केन्द्रीय समितिमा एकाएक ४२ जना सदस्य मनोनीत गरे । थापाको यस कदममा राणाले चर्को असहमति जनाएर पार्टीमा विग्रह आउन सक्ने भन्दै विज्ञप्ति जारी गरे । यसपछि भएको केन्द्रीय समिति बैठकमा राणा उपस्थित भएनन् । यसरी पार्टी विभाजनका आधारहरू बलिया हुँदै गएका थिए । एकता महाधिवेशनपछि पार्टीमा मतभेदहरू कम गर्दै लैजाने प्रयास दुवैतर्फबाट भएनन् । 

जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भएपछि दुई पूर्वपञ्च नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पञ्चायतकालकै परस्पर प्रतिस्पर्धा र तिक्त सम्बन्धको पृष्ठभूमिका एकै नामका दुई फरक दल लिएर मैदानमा आएका थिए । त्यसपछि जुट र फुटका शृंखलाहरू चलेका भए पनि स्थायी हुन सकेनन् । बहुदलीय लोकतन्त्रमा राजनीतिक दलहरू फुट्नु र जुट्नु अनौठो घटना होइन तर जुटको कमजोर सैद्धान्तिक आधार र नेतृत्वमा एक पक्षमाथि अर्कोको अविश्वास नै फुटको मुख्य कारण हुने गरेको छ । राप्रपाको जुट र फुटमा प्रत्येकपटक यही नियति दोहोरिने गरेको छ । 

यसपटकको फुटले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणको सैद्धान्तिक आधार नै बलियो थिएन भन्ने प्रस्ट पारेको छ । गणतन्त्र र धर्म निरपेक्षताका विषयमा समेत दुई दलमा एकमत थिएन । एकीकरणका बखत महाधिवेशनले टुंगो लगाउने भनेकै विषय फुटमा देखापरेका छन् । निर्वाचन चिहृनको विवाद यसको बलियो प्रमाण हो । अध्यक्ष थापाले संस्थागत निर्णय सबैले मान्नुपर्ने जिकिर गरिरहे भने असन्तुष्ट पक्षले नेतृत्वमा एकलौटी गरेको आरोप लगाइरहृयो तर उनीहरूले यस्ता विवाद सुल्झाउन ध्यान दिएनन् । यो फुटले एकता महधिवेशनपछि पार्टी एकताबद्धरूपमा सञ्चालन गर्न अध्यक्ष थापा असफल भएको देखाएको छ । स्थानीय तह निर्वाचनमा निराशाजनक हार व्यहोरेको पृष्ठभूमिमा दुवै राप्रपाका लागि आगामी निर्वाचनहरू झन् कठिन हुन सक्नेछन् । कतिसम्म भने राष्ट्रिय दल बन्न आवश्यक पर्ने थ्रेसहोल्डसमेत उनीहरूका लागि चुनौती हुनेछ । 

अब आगामी दिनमा यी दुई राप्रपाका राजनीतिक सिद्धान्त र रणनीतिले  उनीहरूको भविष्य निर्धारण गर्नेछ । एकीकृत हुनुअघिको राप्रपा नेपाल र त्यसपछिको राप्रपाले अघि सार्दै आएको ‘राजासहितको प्रजातन्त्र’ र ‘धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र’ को नारा आफ्ना पक्षमा पार्न फुटका दुवै पक्षले अधिकतम प्रयास गर्ने संकेत गरेको देखिएको छ जसले दुवै दललाई भविष्यका लागि असान्दर्भिक बनाउन सक्नेछ । र, महŒवपूर्ण कुरा के हो भने, पञ्चायतकालको धङधङीबाट बाहिर आउने दलको मात्रै अस्तित्व रहन सक्नेछ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं