Date:2017/08/22 |Tuesday

प्राकृतिक विपदको समय

Posted on: August 13, 2017 | views: 41 |

प्राकृतिक विपदको समय

यतिबेला सिंगो मुलुक एकैपटक बाढी पहिरोको विपदमा परेको छ । पूर्वदेखि पश्चिमसम्म पहाड–तराई सबै क्षेत्रमा अविरल वर्षाले जनधनमा क्षति पु¥याएको छ । पहाडमा ठाउँठाउँमा पहिरो चलेको छ भने तराईमा बाढीको प्रकोप फैलिएको छ । यो प्राकृतिक प्रकोपमा दुई दिनमा ३० जनाभन्दा बढीको ज्यान गएको छ । केही बेपत्ता भएका छन् । पूर्वी र मध्य तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । नदी÷खोलाहरूमा आएको बाढीले कटान गर्दा सयौं परिवार विस्थापित भएका छन् । पूर्व–पश्चिम राजमार्गको अधिकांश भाग डुबेर यातायात ठप्प भएको छ । भित्री सडकहरू पनि डुबेका छन् । धेरै ठाउँमा बिजुली अवरुद्ध भएको छ, सञ्चार सम्पर्क टुटेको छ । डुबानमा परेका घरहरूमा अन्न क्षति भएको छ । कैयौं परिवार विस्थापित भएका छन् । तराई क्षेत्रका सबैजसो विमानस्थलहरू डुबेका छन् । मुलुकै ढाक्ने गरी एकसाथ आएको यो प्रकोपले उद्धार र राहत कार्यसमेत कठिन भएको छ ।

यस्तो प्राकृतिक विपदका समयमा सबैभन्दा पहिला सुरक्षित रहने उपाय खोज्नुपर्छ । नदी÷खोला किनारका बासिन्दा बढी प्रभावित भएका हुन्छन् । उनीहरू सुरक्षित ठाउँमा जानु एउटा उपाय हो । डुबानमा परेका ठाउँहरूमा मानिसहरू आआफ्नो ठाउँको अवस्थाअनुसार सुरक्षित रहने उपायहरू अपनाउनुको विकल्प छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन भारी वर्षा हुनसक्ने जनाएको छ । यसो भए बाढी पहिरोको प्रकोप अझै बढ्नेछ र फैलिँदै जानेछ । प्रकोप जति बढ्दै जान्छ, उद्धार तथा राहतको काम त्यति नै कठिन हुँदै जान्छ । मुलुक अहिले यही अवस्थामा छ । लगातारको वर्षा र प्रतिकूल मौसमका कारण उद्धारकर्मीहरू परिचालित हुन सकेका छैनन् । तयार राखिएका राहत सामग्री पु¥याउन सकिएको छैन । उद्धार र राहतका लागि सम्भव सबै उपायहरू अपनाउन सरकारले आफ्ना निकायहरू अधिकतम परिचालन गर्न प्रयास गर्नुपर्छ । मानवीय क्षति न्यूनीकरण उद्धार नै प्राथमिक काम हो । क्षतिको सम्भावित सूचना प्रवाह गर्न ध्यान दिनुपर्छ ।  

बाढी पहिरोको प्रकोपमा सरुवा रोगको महामारी फैलिने अधिक सम्भावना हुन्छ । पानीका मुहानहरू प्रदूषित हुँदा झाडापखाला, टाइफाइड, जण्डिसजस्ता रोग देखा पर्छन् । यस्तो प्रकोपबाट जोगिन ध्यान दिनु जरुरी हुन्छ । तराई क्षेत्रमा सर्पदंश अर्को समस्याका रूपमा देखा पर्छ । विद्युतीय सञ्चारमाध्यमहरूमार्फत स्वास्थ्य रक्षाका लागि अपनाउनुपर्ने उपायहरूमा जनचेतना फैलाउन सरकार र स्थानीय तहहरूले ध्यान दिनुपर्छ । बाढीको प्रकोपमा सेवाका क्षेत्रहरू पनि उत्तिकै प्रभावित भएका हुन्छन् तैपनि सेवा प्रवाहका लागि अधिकतम प्रयास गर्नु राज्यको दायित्व हो । यही बेलामा चिकित्सा शिक्षा तथा सेवाका क्षेत्रमा सुधारको माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउन दबाबका लागि सरकारी अस्पतालमा सेवा अवरुद्ध छ । अधिकतम सेवा प्रवाह गर्नुपर्ने विपदको यो समयमा चिकित्सकहरू काममा फर्किनुपर्छ । आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ । विपदको समयमा राज्यका सबै अंगहरू परिचालित हुनुपर्छ । 

  




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं