Date:2017/09/26 |Tuesday

जलवायु परिवर्तन र माटोको जगेर्ना

Posted on: August 22, 2017 | views: 25 | हेमचन्द्र महतो

माटो हाम्रो जीवन पद्धति र जीविकासँग जोडिएको प्राकृतिक स्रोत हो । प्रकृतिमा एक औंलो माटो बन्न चार सय वर्षभन्दा बढी समय लाग्दछ । यस्तो दुर्लभ र पुनर्नवीकरण गर्न धेरै समय लाग्ने माटो प्राकृतिक कारण वा मानव सिर्जित कारणबाट बगेर खेर गइरहेको छ । माटोविज्ञका अनुसार पृथ्वीमा ढुंगा माटोको निश्चित आयु हुने र त्यसपछि आफैं कुहिएर, छुट्टिएर पानी तथा हावाजस्ता माध्यमले स्वतः बगाएर र उडाएर लैजाने तथ्य सुझाएका छन् । यी विभिन्न कारणले नेपालमा करिब ६ हजार नदीनाला मलिलो माटो बोकेर बग्न बाध्य छन् । वर्षेनी करिब ५६ टन प्रतिहेक्टरका दरले माटो बगेर बंगालको खाडीमा पुग्ने गरेको तथ्यांक विभिन्न लेखमा पढ्न पाइन्छ । यद्यपि उक्त माटो बग्ने दरमा नियन्त्रण हुन नसकेको अवस्था छ ।
नेपालको सन्दर्भमा ७५ प्रतिशतभन्दा बढी वर्षा मनसुनको समयमा हुने गरेको छ । यो समयावधि जुनदेखि सेप्टेम्बर महिनासम्मको पर्छ । नेपालमा मनसुनको समयमा मात्र बढी पानी पर्ने, भिरालोपन भएको भू बनोट, अग्ला पहाड, कमलो चट्टानले बनेको भौगोलिक अवस्था, गहिरो र साँघुरो नदी प्रणालीजस्ता कारणले गर्दा नेपालका प्राकृतिक रूपमा पनि भूक्षय तथा भूस्खलनको समस्या हुने गरेको पाइन्छ । जसबाट वर्षेनी हजारांै जनता विपत्तिमा पर्ने अनि जनधनको अपूरणीय क्षति भोग्नुपर्ने अवस्था छ ।
खासगरी पहाडी क्षेत्रमा भइरहेको अव्यवस्थित बसोबास, भिरालो जमिनमा समेत जथाभावी गरिएका जग्गा प्लटिङ, वातावरणीय अध्ययन बिनै डोजरले खनिएका ग्रामीण सडक, वन विनाश, वन डढेलो, अव्यवस्थित चरिचरण प्रणाली, अवैज्ञानिक कृषि प्रणालि तथा एकीकृत भूउपयोग नीतिको अभावजस्ता कारणले सतही माटो बगेर खोला नालामा मिसिँदै बगिरहेको छ ।
फलस्वरूप खेतीयोग्य जमिन नाश हुनुको साथै मलिलो माटो बगेर जाँदा भूउत्पादकत्वमा कमी भई खाद्यान्न उत्पादनमा समेत ह्रास आउनुको साथै जनताको सामाजिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । मुलुकको कुल जनसंख्याको करिब दुई तिहाइ जनसंख्या कृषि पेशामा निर्भर रहेकोले आम नेपालीको जिउने आधार माटो हो, जसको दिगो संरक्षण भएन भने कृषि क्षेत्रबाट जनताको जीवनस्तर माथि उठाउन सकिँदैन । जनताको जीवनस्तर उठाउन र वातावरणीय सन्तुलन कायम राख्न भू संरक्षण तथा जलाधार व्यवस्थापनको प्रयासद्वारा भूक्षय रोकथाम गरी जमिनको उर्वराशक्ति बढाउन आवश्यक छ । जलाधारीय स्रोतहरूको उचित संरक्षण एवं दिगो उपयोगबाट जलाधार क्षेत्रका जनताका खाद्यान्नका साथै घास, दाउरा र काठजस्ता आधारभूत आवश्यक्ता दिगो रूपमा परिपूर्ति गर्दे जनताको जीविकोपार्जनमा ठोस मद्दत पु¥याउन जरूरी छ ।
भूक्षयबाट हुने माटो उर्वराशक्तिको ह्रासलाई रोकी जल, जंगल, जनता र जीवजन्तुबीचको अन्तर सम्बन्ध सन्तुलित राख्न र प्राकृतिक स्रोतहरूको बुद्धिमतापूर्ण उपयोग गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु आजको आवश्यक्ता हो । जल जमिनको संरक्षणद्वारा स्थानिय आवश्यक्ता परिपूर्ति गर्दै सन्तुलित वातावरण कायम राख्न र जनताको आवश्यक्ता पूर्तिका लागि स्थानीय समुदायको सहभागिता अपरिहार्य हुन्छ ।
भिरालो जमिनका कारण माटोको जगेर्ना र संरक्षण गर्न हाम्रा पुर्खाहरूले गह्रा बनाएर खेतीपाती गर्ने, माटो बग्न नदिन खोल्सा खोल्सीमा बाँस, विरूवा लगाउने, भलपानी तर्काउन परम्परागत कुलोहरू बनाउनेजस्ता कम खर्चिलो विधिहरू प्रयोग गरेका थिए । तर त्यसरी जोगाएको माटो आजकल जथाभावी डोजरले खनेर खोलामा बगाइरहेका छन् ।
यसले गर्दा एकातिर उर्वर माटो कम हुन गई कृषिको उत्पादकत्वमा ह्रास भइरहेको छ भने अर्कोतिर खोलाहरूमा पानीसँगै ढुंगा, माटो, लेदो बग्दा माथिल्लो तटीय क्षेत्रमा नदी÷खोलाको कटानी बढ्ने र तल्लो तटीय क्षेत्रमा गेग्रान थुप्रिने र बाढीले पुर्ने समस्या विकराल रूपमा बढेको छ । यसैले जमिनको संरक्षण महŒवपूर्ण चासोको विषय सावित भएको छ । विश्वव्यापी तापमान वृद्धिले जलवायु परिवर्तनमा परेको असरबाट अत्यन्त बढी प्रभावित मुलुकको सूचीमा नेपाल चौथो स्थानमा परेको एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असरसँग जुध्न भूसंरक्षण कार्यालयले गर्दै आएका संरक्षणमूलक कार्यहरू जस्तै ः पानी मुहान संरक्षण, सिमसार र ताल तलैया संरक्षण, सिँचाइकुलो संरक्षण, भलपानी तथा आकेशेपानी व्यवस्थापन, बाढी, पहिरो र गल्छी नियन्त्रण, नदी खोलाको कटानी नियन्त्रण, वृक्षरोपण, कृषिवनमैत्री खेतबारी संरक्षण आदि काम प्रभावकारी सावित भएका छन् ।
भूमिको उपयोगिताअनुसार त्यसको प्राकृतिक स्वरूपलाई उचित रूपमा परिवर्तन गरी त्यसको सतह संरक्षणका लागि अर्थात माटोमा भएका प्रांगारिक पदार्थका कम्तीमा पनि १ प्रतिशत भन्दा कम हुन नदिन आवश्यक वैज्ञानिक प्रविधि अपनाई गरिने व्यवस्थापन प्रणाली नै भूव्यवस्थापन हो । चर्को हावा÷वतास र वर्षातका कारण भूक्षय हुने हुनाले एक इञ्चमात्र माटो बन्न सयौंै वर्ष लाग्ने, कयांै इञ्च माटो क्षणभरमै बगेर जान सक्न भएकाले भूक्षय नियन्त्रणका उपाय अपनाउनुपर्ने हुन्छ । यसमा कम खनजोतका प्रविधिहरू अवलम्बन गर्ने (जस्तैः गह्रा÷कान्ला बनाउने, सम्याउने, समुचित जोताई गर्ने, माटोलाई कम चलाउने, बाली जमिनबाट काटी कमसेकम बालीका अवशेष भएपनि खेतबारीमा छोड्ने, आदि) बाट माटो अस्थिर हुन पाउँदैन र ठीक अवस्था वा ठाउँमा जगेर्ना भइरहन्छ ।
भूक्षयबाट हुने समस्यालाई न्यूनीकरण गर्न सहभागितात्मक जलाधार व्यवस्थापनका कार्यक्रममार्फत जमिनको उत्पाकत्व वृद्धि गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरी गरिबी न्यूनीकरणमा योगदान पु¥याउन दीर्घकालीन योजना तथा सोको प्रभावकारी कार्यान्वयनको टड्कारो आवश्यक्ता रहेको देखिन्छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं