Date:2017/09/23 |Saturday

फोहोर व्यवस्थापनमा उदासिनता

Posted on: September 10, 2017 | views: 34 |

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नयाँ समस्या होइन । यहाँको फोहोर नुवाकोटको सिसडोल, ओखरपौवामा विसर्जन गरिँदै आएकोमा त्यहाँका प्रभावित बासिन्दाले समय समयमा अवरोध सिर्जना गर्दै आएका छन् । केही दिनयता काठमाडौं र ललितपुरको फोहोर उठ्न सकेको छैन । सिसडोल ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीय बासिन्दाले सडक मर्मत लगायत विभिन्न माग राखेर फोहर लैजाने गाडीमा अवरोध गरेका छन् । त्यहाँ अवरोध भएपछि राजधानीमा फोहोर उठ्दैन, सडकमै थुप्रिन्छ । गत साउनको अन्तिम साता पनि केही दिन फोहोर उठ्न सकेको थिएन । तीन सातामै फेरि उही अवस्था सिर्जना भयो । राजधानीमा अस्थायीरूपले फोहोर जम्मा गर्ने ठाउँ नहुँदा पनि सडकमै असरल्ल हुने गरेको छ । अहिले चार दिनदेखि काठमाडौंको यही हालत छ । र, वर्षौंदेखि उही घटना दोहोरिँदै आएको छ । 

सिसडोल ल्यान्डफिल्ड साइटमा क्षमताभन्दा बढी फोहोर पु¥याइसकिएको छ । झण्डै एक दशकदेखि विकल्प खोजीमा अध्ययन भइरहेको छ । केही ठाउँ पहिचान पनि भएका छन् तर अन्तिम निर्णय भइसकेको छैन । पहिचान भएका ठाउँमा फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । राजधानीका सडकमा फोहोर थुप्रिनु र दुर्गन्ध फैलिनु सामान्य घटनाजस्तो मानिने गरेको छ । फोहोर व्यवस्थापनमा परम्परागत तरिकाले हुने गरेको छ । राजधानीमा दैनिक उत्पादन हुने करिब १५ सय टन फोहर सबै ल्यान्डफिल्ड साइटमा थुपारिने गरेकेको छ । आधुनिक प्रविधि प्रयोग गरी फोहोरबाट लाभ लिन सकिएको छैन । ‘फोहोरबाट मोहोर’ भन्ने गरिए पनि भनाइमा मात्रै सीमित छ । कुहिने फोहरबाट मल, ग्यास, बिजुली उत्पादन गर्न सकिएको छैन । फोहोर थुपार्ने ठाउँमात्रै खोज्ने र प्रशोधन गरेर लाभ लिने आधुनिक प्रविधि नभिœयाउने हो भने राजधानीको समस्या समाधान हुनेछैन । यस्तो समाधान खोज्नमा अनौठो उदासीनता छ । 

राजधानीभन्दा टाढाका बासिन्दाले राजधानीको फोहोरबाट सास्ती बेहोर्नुपर्छ भने उनीहरूले अनेक माग राख्नु र अवरोध गर्नु अस्वाभाविक हुँदैन । राजधानीको फोहोर उत्पादन घट्दैन, बढ्दै जान्छ । फोहोर जम्मा गरेर अर्को ठाउँमा फाल्ने परम्परागत व्यवस्थापनबाट फड्को मार्न आवश्यक छ । राजधानीमात्रै होइन, सबैजसो सहर फोहोर व्यवस्थापनको समस्यामा छन् । परिणामस्वरूप नदीहरू डम्पिङ साइट बन्न थालेका छन् र भयावहरूपमा प्रदूषित हुँदैछन् । यसले गम्भीर वातावरणीय तथा स्वास्थ्य संकट निम्त्याउने छ । प्रमुख सहर नजिकका नदी÷खोला राजधानीकै नियति भोग्न थालेका छन् । राजधानीलगायत सबै सहरको फोहोर व्यवस्थापनका लागि केन्द्रीय र स्थानीय सरकारको संयुक्त प्रयास आवश्यक छ । फोहोर व्यवस्थापनको एक दीर्घकालीन राष्ट्रिय कार्यक्रम आवश्यक छ । होइन भने समस्या झन् झन् विकराल हुँदै जानेछ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं