Date:2017/09/23 |Saturday

रोकिन सक्छ आत्महत्या

Posted on: September 11, 2017 | views: 17 |

सेप्टेम्बर १० (भदौ २५ गते) ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाउने गरिन्छ । यस वर्ष पन्ध्रौँ दिवस हो । दिवस मनाउन ‘इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन’ ले ‘जीवन परिवर्तनका लागि एक मिनेट’ सोचौँ भन्ने सन्देश तय गरेको थियो । दिवसका अवसरमा नेपालमा केही गैरसरकारी संस्थाहरूले केही कार्यक्रम आयोजना गरे । सरकारी निकायले भने वास्ता गरेनन् । इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सनका अनुसार संसारमा एक वर्षमा आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । अर्थात विश्वमा सरदर दैनिक दुई हजार २०० जति मानिसले आत्महत्या गर्छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार नेपालमा सरदर दैनिक १५ जनाले आत्महत्या गर्ने गरेका छन् । मानिसको मृत्युका २० वटा प्रमुख कारणमध्ये आत्महत्या एक मानिएको छ र विश्वमा आत्महत्याको दर बढ्दैछ । 

मनोविज्ञान र मानसिक रोगसम्बन्धी चिकित्साशास्त्रले आत्महत्यालाई विकराल सामाजिक समस्याका रूपमा मानेको छ । आत्महत्या रोकथामका लागि माग गर्ने संस्था, अध्येता र चिकित्सकका अनुसार आत्महत्या पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । यही आधारमा सन् २००३ मा पहिलो विश्व आत्महत्या रोकथाम दिवसको सन्देश ‘आत्महत्या रोक्न सकिन्छ’ भन्ने थियो । आत्महत्याका अनेक कारणहरूमध्ये मानसिक रोग ‘डिप्रेसन’ लाई मुख्य मानिएको छ । करिब ६० प्रतिशत आत्महत्या डिप्रेसनका कारणले हुने गरेको विश्वसंस्थाहरूले उल्लेख गरेका छन् । यसबाहेक सामाजिक मूल्यमान्यता, गरिबी, अचानक आइलाग्ने विपत्ति, असफलताजस्ता कारणहरू पनि मानिएका छन् । यी सबै कारणले मानिसमा डिप्रेसन रोग उत्पन्न गर्ने र परिणाम स्वरूपमा आत्महत्या हुने गरेको धेरै अध्ययनहरूको निष्कर्ष छ ।

अध्येताहरू भन्छन्– साह्रै थोरै घटनाबाहेक अधिकांशमा मानिसले निकै लामो समयको योजनामा मात्र आत्महत्या गर्छ । यसअघि उसले अनेक पटक प्रयास गरेको हुन्छ र प्रयासका लक्षणहरू देखा पर्छन् । परिवारका सदस्य र उसका निकटस्थहरूले लक्षण पहिचान गर्न सकेमा आत्महत्या रोकिन सक्छ । डिप्रेसनको रोगी छ भने लक्षणहरू सजिलै पहिचान हुन सक्छन् । मनोविद् तथा मनोचिकत्सहरूका अनुसार लक्षणहरू पहिचान भएर उपचार हुन सके आत्महत्या रोकिन्छ । धेरैजसोमा परिवारका सदस्य र निकटस्थहरूले लक्षणहरू पहिचान गर्न नसक्दा वा अज्ञानताका कारणले बेवास्ता गर्दा आत्महत्या हुन्छ । लक्षण पहिचान गर्न नसकेकै कारण आत्महत्या अचानक भएको ठानिन्छ । लक्षणहरू पहिचान गर्न समाजमा जनचेतना अभिवृद्धि आवश्यक छ । 

आत्महत्यालाई व्यक्तिको कायरताको परिणाम मान्ने र उसैको समस्या वा नियतिका रूपमा लिने बलियो सामाजिक मनोविज्ञान छ । यसैकारण आत्महत्या रोकथाम गर्न जनचेतना अभिवृद्धिका लागि पर्याप्त प्रयास हुन सकेको छैन । समान्यतयाः आत्महत्याको सोच आएको र डिप्रेसनको रोगी व्यक्तिले आफ्नो समस्या गोप्य राख्न चाहन्छ, परिवारका सदस्य र उसका निकटस्थले पनि लक्षण पहिचान गर्न सक्दैनन् । कमजोर चेतनास्तर र आत्महत्यालाई कायरताको परिणाम मान्ने कारणले पनि यसो भएको छ । नेपालमा आत्महत्या रोकथामका लागि सरकारी स्तरबाट भएका प्रयासहरू नगन्य छन् । सरकारको तुलनामा गैरसरकारी संस्थाहरूले केही बढी प्रयास गरेका छन् । आत्महत्या शतप्रतिशत रोक्न सकिन्छ भन्ने मान्यताका साथ जनचेतना अभिवृद्धिका कार्यक्रम चलाउन जरुरी छ । सरकारको ध्यान जाओस् । 

  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं