Date:2017/12/14 |Thursday

उम्मेदवार छनोट

Posted on: October 10, 2017 | views: 84 |

राजनीतिक दलहरू प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवार छनोटको चरणमा छन् । अब गठन हुने प्रदेशसभा र संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) संविधान कार्यान्वयनका जनप्रतिनिधि संस्था हुनेछन् । दलहरूमा उम्मेदवारीका लागि नयाँ–पुराना धेरै आकांक्षी छन् । हालसम्म जिल्लास्तरबाट भएका सिफारिसमा आकांक्षीको लामो सूची छ । समान्यतयाः यही सूचीबाट पार्टीका केन्द्रीयतहले अन्तिम निर्णय गर्नेछन् । ठूला दलले उम्मेदवारी छनोटका मापदण्ड तय गर्ने गर्छन् तर चुनाव जित्न सक्ने आधार नै निर्णायक हुने गरेको छ । दलहरूले मुलुकको भविष्य र जनताको साँचो प्रतिनिधित्वलाई ध्यानमा राखेर उम्मेदवार छनोट गर्नुपर्छ ।  

दलहरूले प्रतिस्पर्धामा जित्नकै लागि उम्मेदवार उठाउने हो । यसो गर्दा उनीहरूले निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको संस्थामा पार्टीको सिद्धान्त र नीतिबमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने कुरामा ध्यान दिनै पर्छ । संविधानसभामा ६०१ जनप्रतिनिधि निर्वाचित भए पनि केन्द्रीय तहका थोरै पार्टीनेता निर्णायक भए, निर्वाचित जनप्रतिनिधि नेताका निर्णय अनुमोदन गर्ने साधनमात्रै भए भन्ने टिप्पणी भएको हो । जनप्रतिनिधिले निमुखा जनताको आवाज बलियो बनाउन सक्नुपर्छ । जनताका दुःखकष्टसँग भिजेको प्रतिनिधिले मात्रै साँचो अर्थमा जनताको आवाज बोल्न सक्छ । पार्टीले उम्मेदवार छनोट गर्दा ध्यान दिनुपर्ने यो एउटा महŒवपूर्ण पक्ष हो । 

प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनतर्फ उम्मेदवारी छनोटमा दलहरूले जनताको वास्तविक प्रतिनिधित्व हुन सकोस् भन्नेमा ध्यान पु¥याउन आवश्यक छ । संविधानसभामा खासगरी समानुपातिकतर्फको उम्मेदवारी निकै आलोचित भयो । संविधानसभामा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुन नसक्ने समुदायसमेत विविधताको प्रतिनिधित्व हुन सकोस् भनेर व्यवस्था गरिएको समानुपातिक प्रणालीको हुर्मत लिनेगरी दलहरूले बन्दसूची बुझाए । नयाँ संविधान र कानुनले समानुपातिक प्रणालीलाई केही व्यवस्थित गरेको छ । पहुँच र प्रभावका आधारमा नभई जनसांख्यिक विविधताको वास्तविक प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गर्नुपर्छ । समानुपातिक प्रणालीको मर्मअनुसार उम्मेदवारको सूची तयार गर्नु अर्को महŒवपूर्ण पक्ष हो । बन्दसूची आफ्ना मान्छे पु¥याउने सूचीमात्रै नबनोस् । 

मुलुकको विकास र समृद्धिका लागि नीति निर्माण गर्ने र कानुन बनाउने सर्वोच्च जनप्रतिनिधि संस्थामा जनप्रतिनिधिको योग्यता पनि उत्तिकै महŒवपूर्ण हुन्छ । जनप्रतिनिधिले निमुखा जनताको आवाज मुखरित गर्न सक्नुपर्छ, ऊ रमितेमात्रै हुनु हुँदैन । कम्तीमा यति योग्यता विचार गरेर दलहरूले उम्मेदवारी छनोट गर्नुपर्छ । उम्मेदवार छनोटमा दलभित्रका गुटउपगुटले प्रभाव पार्दछन् तर अन्तिम उद्देश्य योग्य जनप्रतिनिधि निर्वाचित हुन सकोस् भन्नेमै हुनुपर्छ । सबै राजनीतिक दलहरू उम्मेदवारी छनोटको निर्णायक घडीमा छन् । यसअघिका विकृति र विसंगति दोहोरिन नदिन र जनताको साँचो प्रतिनिधित्व गराउन नेताहरूले ध्यान दिनुपर्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं