Date:2017/11/23 |Thursday

निर्वाचन सुरक्षा

Posted on: November 12, 2017 | views: 35 |

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा चुनौती बढ्न थालेको छ । सुरक्षा निकायहरूले अधिकतम तयारी गरेका छन् । सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रहरू पहिचान गर्दै सकर्तता बढाएका छन् । निर्वाचन आयोगले सुदृढ सुरक्षा प्रबन्धका लागि सुरक्षा अधिकारीहरूसँग छलफल गरेको छ । यही बीचमा फाटफुट घटनाहरू हुन थालेका छन् । निर्वाचनमा दुई किसिमको सुरक्षा चुनौती देखापर्ने गरेको छ– निर्वाचनविरोधी समूहरूबाट हुने हिंसात्मक गतिविधि र निर्वाचनका प्रतिस्पर्धी समूहहरू बीच हुने झडप । यी दुवै किसिमका घटनाहरू हुन थालेका छन् । खासगरी निर्वाचन बिथोल्ने मनसायले हुने हिंसात्मक गतिविधिले प्रचारप्रसार, तयारी र मतदानसम्म असर पु¥याउन सक्छ । 

रुकुममा माओवादी केन्द्रका दुई नेतामाथि आक्रमणको प्रयास भयो । मन्त्री रहेका नेता जनार्दन शर्मा र अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन निशानमा परे । ठूलो क्षति हुन पाएन तर यस्ता घटनाहरू ठूलो क्षतिको पूर्वाभ्यास वा संकेतका रूपमा आएका हुन सक्छन् । माओवादीकै एक घटक, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, निर्वाचनको विरोधमा छ । उक्त पार्टीले निर्वाचन बिथोल्ने नीति लिएको छ । शुक्रबार र शनिबार लगातार रुकुममा भएका घटनामा कसको संलग्नता छ भन्ने प्रष्ट भइसकेको छैन तर निर्वाचन बिथोल्ने पूर्वाभ्यासको संकेतका रूपमा देखापरेको छ । यस्तो प्रयास नियन्त्रण हुन सकेन भने द्रुत सुरक्षा निगरानी नपुग्ने दुर्गम ठाउँहरूमा निर्वाचनमा असर पर्न सक्छ । 

स्थानीय निर्वाचनका क्रममा निर्वाचनकै प्रतिस्पर्धी समूहहरूबीच फाटफुट झडपका घटनाहरू भए । यसपटक पनि सुरुवात भएको छ । सोलुखुम्बुमा दुई समूहबीच झपड हुँदा केही व्यक्ति घाइते भएका छन् । यस्ता घटना हुन नदिन राजनीतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्मै संयमित हुनुपर्छ । प्रचार प्रसारमा एक अर्काबीच मर्यादित वचन र व्यवहार आवश्यक पर्छ । एउटाको कार्यक्रम अर्कोले बिथोल्ने, प्रचार सामग्री नष्ट गर्ने, अमर्यादित आरोप प्रत्यारोप गर्नेजस्ता व्यवहारले हिंसात्मक झडपहरू निम्त्याउँछ । मर्यादित प्रचार प्रसारका लागि पार्टीको केन्द्रीय तहले निर्देशन गर्नुपर्छ । निर्वाचन शान्तिपूर्ण बनाउने जिम्मेवारी राजनीतिक दलहरूकै हो । प्रचार प्रसार बढ्दै जाँदा घटनाहरू पनि बढ्ने सम्भावना हुन्छ, नेताहरूले बेलैमा ध्यान पु¥याउनु पर्छ । निर्देशन विपरीत गतिविधि गर्नेलाई पार्टीले कारबाही गर्नुपर्छ । 

मंसिरमा हुने निर्वाचन राजनीतिक र व्यवस्थापकीय दुवै दृष्टिले अभूतपूर्व महŒवको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट मुलुक संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गर्दैछ । यो निर्वाचनले संक्रमणकाल अन्त्य गर्दै राजनीतिक स्थायित्व र समृद्धिको ढोका खोल्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । व्यवस्थापकीय दृष्टिले यो निकै निकै जटिल र चुनौतीपूर्ण काम हो । मुलुक यो चुनौती पार लगाउने क्रममा छ । यो निर्वाचन मुलुकका लागि ठूलो राजनीतिक उत्सव हो । यो उत्सव शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू नै चनाखो हुनुपर्छ । सुरक्षा निकायलाई हरतरहले सघाउनुपर्छ । राजनीतिक आडमा हिंसा प्रोत्साहित हुनु हुँदैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं