Date:2017/12/14 |Thursday

मतदातालाई स्वतन्त्र छाडौँ

Posted on: December 05, 2017 | views: 39 |

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तिम चरणको मौन अवधि सुरु भएको छ । मतदान हुने दिनको दुई दिन अघिदेखि मतदान पूरा नहँुँदासम्म मौन अवधि हुन्छ । राजनीतिक दल र सबै उम्मेदवारहरूले मतदाताका घरघरमा पुगेर, सभा गरेर, टोलहरू घुमेर आफ्ना कुरा सुनाए । पार्टीका घोषणापत्र देखाए । यसअघि सांसद भइसकेकाहरूले आफूले गरेका काममा फेहरिस्त र फेरि जितेपछि गर्ने कामको योजना सुनाए । पहिलोपटक उम्मेदवार भएकाले आफ्ना भावी योजना सुनाएर प्रभावित पार्ने प्रयास गरे । आफू उम्मेदवार हुनुको औचित्य पुष्टि गर्ने प्रयास गर्दै आफ्ना लागि मत मागे । अब मौन अवधि सुरु भएको छ । 

मौन अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले मतदातालाई प्रभाव पार्ने कुनै पनि काम गर्न पाउँदैनन् । प्रत्यक्ष वा परोक्षरूपमा मतदातालाई भेट्न, मत माग्न, कुनै माध्यमले आफ्नो प्रचार गर्न पाउँदैनन् । एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर पनि मत माग्न पाइँदैन । निर्वाचन आचारसंहिताले सबै किसिमको प्रचारमा रोक लगाएको छ । आचारसंहिताले रोक लगाए पनि मतदातालाई भित्रभित्रै प्रभाव पार्ने मौका यही मौन अवधि हो भनेर टिकाटिप्पणी हुने गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालै ‘मत किनबेच नगर्न’ उम्मेदवार र मतदाता दुवैलाई सचेत गराए । सम्भवतः उनले मौन अवधिमा हुन सक्ने चलखेलतर्फ संकेत गरेरै उक्त कुरा भनेको हुनुपर्छ । 

मौन अवधि पूर्णतः मतदाताको अवधि हो । मतदाताले राजनीतिक दल र उम्मेदवारको सबै पक्ष विचार गरेर मतदानको निर्णय गर्नुपर्छ । मतदाताले समानुपातिकतर्फ प्रदेशसभा र प्रतिनिधिसभा राजनीतिक दल रोजेर मत दिनु पर्छ । प्रत्यक्षतर्फ पनि प्रदेशभा र प्रतिनिधिसभाका लागि उम्मेदवार रोजेर दुई जनालाई मत दिनुपर्छ । लोकतन्त्रमा हुने यस्तो आवधिक निर्वाचनमा मतदाताले सही निर्णय गर्छ ऊ गलत हुँदैन भन्ने विश्वास गरिन्छ । त्यही जनमतको आधारमा सत्तापक्ष र विपक्ष हुन्छ, देशको शासन चल्छ, कानुन बन्छ । मतदाताको प्रत्येक मत अमूल्य मानिन्छ । आफ्नो यही अमूल्य मतका विषयमा मतदाताले परिवारजनमा छलफल गरून्, सोचविचार गरीकन निर्णय लिन पाऊन्, उनीहरू कतै कसैको प्रभावका नपरून् । 

राजनीतिक दलहरू र सबै उम्मेदवारहरूले मौन अवधि पूर्णतः पालना गर्नुपर्छ । मत प्रभावित पार्ने प्रयास हुनु हुँदैन । उनीहरूले मतदातालाई उचित निर्णयका लागि स्वतन्त्र छाडिदिनुपर्छ । यो अवधि मतदाताको हो भन्ने कुरा बुझ्नुपर्छ । प्रत्येक मतदातालाई आफ्नो विवेक प्रयोग गर्ने मौका दिनुपर्छ । मौन अवधि पालनामा निर्वाचन आयोगले आफ्ना अनुगमनकर्ता मार्फत निगरानी बढाउनुपर्छ । मौन अवधिलाई चलखेलको, मतदातालाई लोभलालचमा पारेर भित्रभित्रै प्रभाव पार्ने मौकाको अवधि बन्नबाट रोक्नुपर्छ । स्वतन्त्र, भयमुक्त र निर्भिक मतदाताले मात्रै सही निर्णय गर्नसक्छ । मतदाताका लागि यस्तो वातावरण बनाउने मुख्य जिम्मेवारी चाहिँ राजनीतिक दलहरूकै हो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं