Date:2017/12/14 |Thursday

निर्वाचन तयारी र सुरक्षा

Posted on: December 06, 2017 | views: 34 |

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोस्रो चरणको मतदानको तयारी पूरा भएको छ । निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन कर्मचारीहरू पुगेका छन् । नयाँ मतदाताले केन्द्रमा पुगेर आफ्नो मतदाता परिचयपत्र लिन थालेका छन् । मतदानका लागि सबैतिर उत्साह छ । सरकारले सुरक्षाको बलियो प्रबन्ध गरेको जनाएको छ तर फाटफुटरूपमा बम विस्फोटका घटना भइरहेका छन् । सोमबार राजधानीमा कांग्रेस उम्मेदवार गगन थापाको प्रचार टोलीमाथि बम आक्रमण भयो । थापासहित ११ जना घाइते भए । अन्य केही ठाउँमा पनि विस्फोटका घटना भएका छन् । मंगलबार पनि केही ठाउँमा विस्फोट भयो । 

पहिलो चरणमा पनि विस्फोट र उम्मेदवारमाथि आक्रमण घटना नभएका होइनन् । सुरक्षा निकायले निर्वाचनविरुद्धका आक्रमणकारीलाई कुशलतापूर्वक निस्तेज बनाए । दोस्रो चरणमा तुलनात्मकरूपमा आक्रमण बढेको छ र क्षति पनि बढी छ । एकजना म्यादी प्रहरीको ज्यान गयो । दुई उम्मेदवार बम आक्रमणमा परेर घाइते भए । नेताहरूका घरपरिसरमा पनि विस्फोट गराइएका छन् । बारम्बार विस्फोटका घटना गराइएका भए पनि त्यसको जिम्मेवारी कसैले लिएको छैन । यी घटनामा मतदातामा आतंक सिर्जना गर्ने उद्देश्य देखिन्छ । घटनाक्रमले मतदान नजिकिँदै गर्दा झन् आक्रमण बढ्ने संकेत गरेको छ । कतिपय ठाउँमा भएका आक्रमण निकै योजनाबद्ध र उच्च प्रविधियुक्त देखिन्छन् ।  

सरकारले सुरक्षा व्यवस्था मजबुत रहेको बताउँदै आएको छ । निर्वाचन आयोगले सरकारले गरेको सुरक्षा प्रबन्धमा आयोग आश्वस्त रहेको बताएको छ । मंगलबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ढुक्कले मतदान गर्न आहृवान गरे । निर्वाचनमा प्रत्येक मतदाताले आफू सुरक्षित रहेको अनुभूति गरेको हुनुपर्छ । निर्वाचन सुरक्षामा मुख्य दुई पक्ष छन्– बिथोल्ने विरोधी पक्ष र निर्वाचनका प्रतिस्पर्धीहरू । बिथोल्ने पक्ष बढी चुनौतीपूर्ण भएर उपस्थित भएको छ । यो पक्षलाई निस्तेज बनाउन सुरक्षा निकायलाई निर्वाचनमा सहभागी पक्षको अधिकतम सहयोग आवश्यक पर्छ । प्रतिस्पर्धी समूहहरूले आपसमा शान्ति र मैत्रीको वातावरण बनाउन सके भने बिथोल्ने पक्षलाई निस्तेज गर्न सुरक्षाकर्मीलाई सहज हुनेछ । 

मुलुक शान्तिपूर्णरूपमा मतदाताको अधिकतम सहभागिताका साथ निर्वाचन सम्पन्न गर्ने अन्तिम बिन्दुमा छ । निर्वाचन बिथोल्ने पक्षले हिंसाका घटनामा तिब्रता दिने प्रयत्न अवश्य गर्नेछन् । घटनाले सुरक्षा चिन्ता पनि बढाएको छ । सुरक्षा निकायले झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएका छन् । निगरानीमा कडाइ गरेका छन् । सुरक्षा निकायहरूबीचको समन्वय र राजनीतिक दलहरूको सहयोगले सुरक्षा बलियो बनाउन सहज हुन्छ । शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आआफ्ना ठाउँबाट सहयोग गरौँ ।   


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं