Date:2017/12/14 |Thursday

मताधिकार प्रगोग गरौँ

Posted on: December 07, 2017 | views: 39 |

मुलुक संविधानसभाबाट जारी भएको संविधान अनुसार हुनुपर्ने तीन तहको निर्वाचनको अन्तिम चरणमा आइपुगेको छ । आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोस्रो तथा अन्तिम चरणमा ४५ जिल्लामा मतदान हुँदैछ । बिहान सात बजेदेखि अपराहृन पाँच बजेसम्म मतदान हुनेछ । मतदाता तर्साउने उद्देश्यका फाटफुट घटना भए पनि शान्तिपूर्ण मतदानका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको सरकार र निर्वाचन आयोगले जनाएका छन् । निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न आम मतदातालाई आहृवान गरेको छ । गृहमन्त्रालयले सुरक्षामा सबैलाई आश्वस्त बनाउने प्रयास गरेको छ । आज मतदाताले विवेक प्रयोग गरेर आफ्ना जनप्रतिनिधि छान्ने दिन हो । 

सामान्य अवस्थामा आम मतदाताले पाँच वर्षमा मात्रै यस्तो मतदान गर्न पाउनेछन् । संघीय संसदको राष्ट्रियसभा गठनमा आममतदाता सहभागी हुँदैनन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सबैको कार्यकाल पाँच वर्ष हुने व्यवस्था संविधानले गरेको छ । स्थानीय तह गठनको काम सम्पन्न भइसकेको छ, स्थानीय सरकार बनिसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि केन्द्रीय अर्थात संघीय सरकार र सात प्रदेशमा सातवटा प्रदेश सरकार बन्नेछन् । मुलुक पूर्णरूपमा संघीय संरचनामा प्रवेश गर्नेछ । मुलुकको शासकीय पद्धतिमा नयाँ संविधानअनुसारको नयाँ अभ्यास सुरु हुनेछ । शान्ति प्रक्रियापछिको संक्रमणकाल अन्त्य गरी राजनीतिक स्थायित्व र स्थिर सरकारका साथ विकास र समृद्धितर्फ अघि बढ्ने मार्ग खुला हुनेछ । यस अर्थमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मुलुकका लागि एउटा कोशेढुंगा हो । हामी यतिबेला यही कोशेढुंगाको बिन्दुमा आइपुगेका छौँ ।

तीन चरणमा भएका स्थानीय तह निर्वाचनमा देशभर एकनासले उत्साहपूर्ण मतदान भयो । यही उत्साह प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा कायम रहृयो । मतदाताको उत्साहका सामु विस्फोटका र आक्रमणका धम्कीहरू निस्तेज भए, मतदान शान्तिपूर्णरूपमा सम्पन्न भयो । पहिलो चरणमा विकट हिमाली र उच्च पहाडी जिल्लाहरू थिए जहाँ समग्रमा ६५ प्रतिशत मतदान भयो । डडेल्धुरा, बाजुरा, रसुवाजस्ता जिल्लामा ८० प्रतिशत मतदाता सहभागी भए । दोस्रो चरणमा तुलनात्मकरूपमा सुगम पहाडी र तराईका जिल्लाहरू छन् । यो चरणमा मतदाताको उत्साह, सुगमता र मौसमको सहजताका दृष्टिले पनि बढी मतदान हुने अपेक्षा गरिएको छ । 

मतदान जनताको अधिकार हो, संसद र सरकार निर्माणमा आमजनताको सहभागिता हो । त्यसैले उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरौँ । आफूले रोजेको राजनीतिक दल र रोजेको उम्मेदवारको चिहृनमा निर्भिकताका साथ छाप लगाऔँ । उत्सवका रूपमा नयाँ संविधानको पहिलो निर्वाचन सम्पन्न गरौँ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं