Date:2018/01/16 |Tuesday

पृथ्वीनारायणको सम्मान

Posted on: January 11, 2018 | views: 14 |

एक दशकपछि सरकारले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जयन्तीमा सार्वजनिक बिदा दिएको छ । पृथ्वीनारायण शाहले टुक्रा शासनमा विभाजित नेपाल राज्यको एकीकरण गरेका थिए । उनलाई राष्ट्रनिर्माताका रूपमा राज्यले सम्मान दिने गरेको थियो । उनको सम्मानमा ‘पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ का रूपमा पुस २७ गते सार्वजनिक बिदा दिने गरिएको थियो । २०६२÷६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि पृथ्वीनारायण शाहको योगदानबारे पक्ष विपक्षका विचारहरू सतहमा आए । उनलाई राज्यको एकीकरणका नायक मान्ने कि नमान्ने भन्ने वहस बढ्यो । राजनीतिक परिवर्तनका नाममा राज्यबाटै उनको योगदान ओझलेमा पारियो र शाहवंशीय राजाका रूपमा हेर्न थालियो । यही मेसोमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता’ खारेजीमा प¥यो । 

पृथ्वीनारायण शाहले राज्यको एकीकरण गरेका हुन् कि होइनन् भन्ने विषय पनि वहसमा छ । उनले राज्यको एकीकरण गरेका नभई युद्ध गरेर राज्यविस्तार गरेका हुन् त्यसैले उनी राष्ट्रनिर्माता वा एकीकरणका नायक होइनन् भन्ने एउटा पक्ष पनि छ । पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरण जे गरेका भए पनि त्यसअघि अहिलेको नेपाल भूगोलमा अनेक टुक्रे राज्यहरू थिए र ती नेपाल भूगोलकै विभाजित राज्यहरू थिए । पृथ्वीनारायण शाहले तिनै राज्यहरूलाई युद्धबाट जितेर एउटै नेपाल बनाएका थिए । त्यसैले उनी राज्य एकीकरणका नायक मानिएका हुन् । उनले भूगोलको मात्रै एकीकरण गरेका हुन् भन्ने तर्क पनि हुने गरेको छ । आजको नेपालका लागि पृथ्वीनारायण शाहको योगदान के थियो भन्नेबारेका पक्ष विपक्षमा सानो ठूलो वहस चल्दै जानेछ ।  

सरकारले जुन समयमा पृथ्वीनारायण शाहको सम्मानको बिदा खारेज गर्ने निर्णय गरेको थियो, त्यसमा कुनै प्रष्ट कारण थिएन । राजनीतिक परिवर्तनका नाममा हठाथ त्यस्तो निर्णय भएको थियो । बिदा कटौती हुनु वा फेरि बिदा दिन थाल्नु उति महŒवको कुरा होइन । पृथ्वीनारायण शाहको योगदानबारे वहस चलिरहँदा राज्यको ठोस धारण के छ, त्यो मुख्य कुरा हो । उनी शाहवंशका एकजना राजामात्रै हुन् वा उनको खास किसिमको योगदान छ भन्ने विषयमा राज्य प्रष्ट हुन आवश्यक छ । सार्वजनिक बिदा दिने निर्णयले सरकारले उनको योगदानको कदर गरेको संकेत त गर्छ तर सरकारले कटौतीमा परेको सार्वजनिक बिदा फेरि कुन औचित्यमा पुनः शुरू गर्नु परेको हो भन्ने केही बताएन । सरकारले प्रष्ट पार्नुपर्ने थियो । 

पृथ्वीनारायण शाहले कुन प्रक्रिया अपनाए, उनले के गरेको हुनुपथ्र्यो भन्ने वहस चलिरहला तर यसले नेपाल राज्यको एकीकरणमा उनको योगदान ओझेलमा पार्न सक्दैन । उनको योगदानका बारेमा राज्यको प्रष्ट धारणा हुनैपर्छ, पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेका हुन् र त्यसकै परिणामले हामी मेची महाकालीका नेपाली भएका हौँ भन्न सक्नुपर्छ । यसबाट मात्रै पृथ्वीनारायण शाहको सम्मान गरेको ठहर्छ । त्यसमाथि पनि बहस चल्दै गर्ला । इतिहासका नायकहरूबारे राज्य मौन बस्न भने मिल्दैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं