19th August | 2018 | Sunday | 9:14:47 PM

प्रदेशको समृद्धि सपना

  POSTED ON : Tuesday, 06 February, 2018 (3:14:05 PM)

सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो अधिवेशन शुरू भई पहिलो बैठक सम्पन्न भएको छ । सबै प्रदेशले सभा सञ्चालनको आन्तरिक कार्यविधि पारित गरेका छन् । सभामुख निर्वाचनको मिति तय गरेका छन् । यही माघ २७ देखि फागुन ३ गतेसम्ममा सबै प्रदेशले सभामुख पाइसक्नेछन् । सबै प्रदेशमा सभामुख निर्वाचन भइसक्दा संविधानले निर्धारण गरेको समयसीमा अनुसार मुख्यमन्त्री नियुक्ति पनि पूरा हुने क्रममा हुनेछ । यसपछि प्रदेशसभाहरू प्रदेश व्यवस्थापिकाको संवैधानिक अधिकार प्रयोग र जिम्मेवारी निर्वाहको चरणमा प्रवेश गर्नेछन् । सातवटै प्रदेशमा प्रदेशसभा बैठकको सुखद् शुरूआत भएको छ । मुलुक संघीय संरचना व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । 

प्रदेशसभाका पहिला बैठकहरू सौहार्दपूर्ण ढंगले सम्पन्न भए । सबै प्रदेशका बैठकमा दलका प्रतिनिधिहरूले दलगत आधारमा मन्तव्य प्रकट गरे । बैठकमा बोल्ने र बैठकबाहिर सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने सबैजसो प्रदेश सांसदहरूको एउटा समान धारणा थियो– आफ्नो प्रदेशलाई नमूना बनाउने, समृद्ध बनाउने र जनताका लागि राज्यबाट उपलव्ध हुने सबै सेवासुविधा सहज बनाउने । आफ्नो प्रदेशको विकास, समृद्धि र जनताको सुख सुविधा नै उनीहरूको साझा सपनाका रूपमा प्रकट भयो । संघीय धरमा प्रदेशसभा प्रारम्भिक अभ्यास भए पनि मुलुकले २०४७ सालयता, बीचमा केही अवरोधबाहेक, संसदीय पद्धतिको अभ्यास गरेको छ, अनुभव हासिल गरेको छ । । यो अभ्यास र अनुभवको सकारात्मक प्रभाव प्रदेशसभाका बैठकमा देखाप¥यो । 

प्रदेशसभाका सामु थरै चुनौतीहरू छन् । संघीयताको कार्यान्वयन शुरू भएको छ । यो कार्यान्वयन राजनीतिक र आर्थिक दुवै ढंगले चुनौतीपूर्ण मानिएको छ । यो चुनौती पार लगाउन प्रदेश संसद र प्रदेश सरकार दुवैको भूमिका महŒवपूर्ण हुनेछ । प्रदेशसभाले चाँडो टुंग्याउनुपर्ने विषय हुन्– प्रदेश राजधानी र प्रदेशको नाम । राजधानीका विषयमा केही प्रदेशमा आन्दोलन जारी छ । केन्द्रीकृत राजनीतिक प्रणालीबाट संघीय प्रणालीमा जाँदा प्रारम्भिक अभ्यासमा अधिकार प्रयोगलगायतका विषयमा विवादहरू देखिन सक्नेछन् । नागरिकहरूमा तीव्र विकासको चाहना छ । राजनीतिक दलहरू विकास र समृद्धिको सपना बाँडेका छन् । स्थानीय तह र प्रदेश हुँदै केन्द्रसम्म समन्वयात्मक ढंगले अधिकार प्रयोग, जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह र क्रमिक सुधारले मात्रै विवादहरू सुल्झिँदै समृद्धिको मार्ग खुल्दै जानेछ । 

प्रदेशसभाको प्रारम्भ सुखद् छ । यो शुरूआत राजनीतिक र शासकीय संरचनामा एउटा कोशे ढुंगा हो । यो राजनीतिक परिवर्तनको सफलता केन्द्र र प्रदेशमा सरकार बनाउने दलहरूको र विपक्षी दलको भूमिकामा भर पर्नेछ । संसद विवाद बल्झाउने र अल्झाउने थलो हुनु हुँदैन । संसदलाई जबर्जस्ती अनिर्णयको बन्दी बनाउनु हुँदैन । संसदीय पद्धति विधि र प्रक्रियाअनुसार बहुमतले चल्छ । बहुमतको अहंकार र अल्पमतको प्रतिशोधात्मक कारबाही दुवै हानीकारक हुनेछ । सत्तापक्ष वा विपक्ष दुवैको संयम र दूरदृष्टिले मात्रै हाम्रो राजनीतिक प्रणाली सफल हुनेछ । राजनीति र प्रशासनका सबै परिवर्तित स्वरूपहरू व्यवस्थित गर्दै अघि बढ्नु चुनौतीपूर्ण छ र कुशलतापूर्वक पार लगाउनुछ । 





सम्बन्धित सामग्री:

मुलुकी ऐनमा सरोकार

: Sunday, 19 August, 2018 (7:13:04 PM)

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)