18th February | 2018 | Sunday | 5:11:27 AM

कलाकार दम्पतीको सत्कर्म

  POSTED ON : Wednesday, 07 February, 2018 (3:11:44 PM)

कलाकार दम्पतीको सत्कर्म

हास्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) द्वारा प्रबद्र्धित संस्था धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत बस्तीको चौथो आयोजना सम्पन्न गरेको छ । कलाकार दम्पतीको सक्रियतामा रौतहटको सन्तपुरमा पिछडिएको मुसहर, चमारलगायत समुदायका ४७ परिवारले एकीकृत बस्तीमा घर पाएका छन् । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि कलाकार दम्पतीले पीडित परिवारका लागि एकीकृत आवास निर्माणको काम थालेको थियो । काभ्रेको पहरी बस्तीमा १८ वटा घर बनाएर सुरु भएको अभियानले धुर्मुस सुन्तली फाउण्डेशनमार्फत संस्थागत स्वरूप धारण गरेको छ । यसपछि फाउण्डेनले सिन्धुपाल्चोकको गिरानचउर, महोत्तरीको बर्दिवास हुँदै रौतहटको सन्तपुरमा ४७ वटा घर हस्तान्तरण गरेको छ । 

भूकम्पले भत्किएको गिरानचउरमा तामाङ समुदायका ६५ परिवारका लागि एकीकृत बस्तीमा निर्माण भयो । पहरी बस्तीको अनुभवले गिरानचउरमा निर्माण सम्पन्न भयो । यसपछि कलाकार दम्पती तराईको पिछडिएको बस्तीमा पुग्यो जहाँ महोत्तरीको बर्दिवासमा मुसहर समुदायका ५० परिवारका लागि ५० घर बने । अहिले रौतहटको सन्तपुरमा ४७ परिवारका लागि एकीकृत बस्ती निर्माण भई घर हस्तान्तरण भएको छ । बस्ती हस्तान्तरणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएर उद्घाटन गरिन् । फाउण्डेशनले एकीकृत बस्ती निर्माणमा गरेको योगदान प्रशंसनीयमात्रै छैन, प्रेरणादायी पनि छ । व्यक्तिगत प्रयासमा अघि बढेको यो अभियान काममा ढिलासुस्ती गर्ने राज्य र राज्यले केही गरेन भनेर दोषमात्र देख्ने व्यक्ति तथा समुदायका लागि शिक्षा हो । 

एकीकृत बस्ती निर्माणको यो अभियान सानो इच्छाशक्तिले अघि बढेको छैन । सीताराम र कुञ्जना ठूलो महŒवाकांक्षाका साथ यो अभियानमा लागेका छन् । निर्माण कार्यमा आफैँ पनि मजदुरका रूपमा खटेका छन् । उनीहरूलाई देश विदेशका नेपालीहरूले फराकिलो मन गरेर आर्थिक सहयोग गरेका छन् । हास्यकलाको माध्यमले कालाकार दम्पतीले कमाएको ख्याति फाउण्डेशनको मुख्य सबल पक्ष हो । यो ख्यातिकै कारण संसारभर छरिएका नेपालीहरूले आर्थिक सहयोग गरेका हुन् । बुझ्नुपर्ने कुराचाहिँ के हो भने ख्यातिमात्रै पर्याप्त हुँदैन । सबै किसिमका जोखिम र कष्ट बेहोर्दै, व्यक्तिगत फाइदा र स्वार्थ त्यागेर समुदायको हितमा काम गर्ने इच्छाशक्तिले मात्रै फाउण्डेशन सफलताको यो बिन्दुमा आइपुगेको हो । 

व्यक्तिगत प्रयासमा साढे दुई वर्षको अवधिमा चार ठाउँमा बस्ती निर्माण हुनु चानचुने काम होइन । फाउण्डेशन बनाएर संस्थागतरूपमा काम गर्दा विश्वास आर्जनमा सहज भएको छ । यी बस्तीहरूको संरक्षण गर्दै यस प्रकारको एकीकृत बसाइ सफल बनाउने जिम्मेवारी स्थानीय समुदायकै हो । एउटै बस्तीका लागि निरन्तर सहयोग सम्भव हुँदैन । यसलाई दिगो बनाउन स्थानीय समुदाय र स्थानीय तहले ध्यान दिनुपर्छ । कलाकार दम्पतीको यो अभियान समाजसेवामा ‘केही राम्रो काम’ गर्छौं भन्नेका लागि प्रेरणा र शिक्षाको स्रोत हो । कलाकार दम्पती सीताराम र कुञ्जनाको यो सत्कर्म स्तुत्य छ । उनीहरूलाई दिल खोलेर सहयोग गर्ने दाताहरू धन्यवादका पात्र छन् ।

 


सम्बन्धित सामग्री:

एकताको अपरिहार्यता

: Wednesday, 14 February, 2018 (9:10:57 AM)