18th August | 2018 | Saturday | 11:36:20 PM

सरकार गठनको तयारी

  POSTED ON : Thursday, 08 February, 2018 (3:09:14 PM)

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनको परिणामसँगै प्रतिनिधिसभामा समानुपातिकतर्फको परिणाम दिई निर्वाचित उम्मेदवार घोषणा गर्ने बाटो खुला हुनेछ । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएपछि सरकार गठनको बाटो खुला हुनेछ । प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न भएको तीन महिना हुनै लागेको छ तर राष्ट्रियसभा निर्वाचन पर्खंदा सरकार गठनमा अनपेक्षित ढिलाइ भएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न राष्ट्रियसभा निर्वाचन आवश्यक पर्ने हो कि होइन भन्ने विषयमा निकै वहस चल्यो । अव यो वहस पनि यही अन्त्य भएको छ । राष्ट्रियसभा कहिल्यै पनि खाली नहुने निरन्तर संस्था हो । रिक्त एक तिहाइ स्थानमा मात्रै निर्वाचन हुनेछ, यसमा प्रतिनिधिसभा जोडिन आउनेछैन । 

निर्वाचन परिणामअनुसार सरकार गठनमा ढिलाइ भएकै हो । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश अनपेक्षितरूपमा राष्ट्रपति कार्यालयमा अल्झिनुले पनि नयाँ सरकार गठन पर धकेल्यो । राजनीतिक दलहरूले निर्वाचन आयोगले दिने म्यादभित्र समानुपातिकको बन्द सूचीका उम्मेदवार छनोट गरी नामावली बुझाउनुपर्छ । यो काम दलहरूले जति चाँडो गर्छन् त्यति नै चाँडो निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेछ र सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । मौजुदा सरकारले कुनै वहानावाजीमा नयाँ सरकार गठनमा अवरोध सिर्जना गर्न सक्नेछैन । यसो गर्न संविधानमा कुनै छिद्र छैन । प्रक्रिया राष्ट्रपतिले शुरू गर्ने हो । 

दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको गठबन्धनले संघीय सरकार गठनमा बहुमत रहेको दाबी गरेको छ । निर्वाचन परिणाम आइसक्दा गठबन्धनले प्रधानमन्त्री छनौट गरी सरकार गठनको दाबी गर्नुपर्छ । गठबन्धनले प्रधानमन्त्री छनोट गरिसकेको छैन । एमाले र माओवादी केन्द्रको एकता हुने भनिए पनि सरकार गठनअघि त्यसो हुने संकेत देखिएको छैन । पार्टी एकता नभए एकल बहुमत हुनेछैन । यस अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको प्रक्रिया अघि बढ्नु पर्नेछ । गठबन्धनमा गडबड नभए यही प्रक्रिया हुनेछ । यसो नभए सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा जानुपर्छ । यसो भए एमाले नेता स्वतः  प्रधानमन्त्री नियुक्त हुनेछन् । 

प्रदेशमा  निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीन साता हुँदा कुनै पनि प्रदेशमा कुनै पनि दलले सरकार गठनको दाबी गरेको छैन । एमालेको एकल बहुमत भएका प्रदेश १ र प्रदेश ३ मा पनि अल्झन देखिएको छ । कम्युनिष्ट गठबन्धनले कुनै पनि प्रदेशमा सरकार गठनको अन्तिम तयारी गरेको छैन । प्रदेशमा देखिएको गठबन्धनको यस्तो अल्झन केन्द्रमा पनि देखिए सरकार गठन अझ पर धकेलिन सक्नेछ । एमालेमा अध्यक्ष केपी ओली संसदीय दलको नेता निर्वाचित हुनेमा शंका नरहे पनि गठबन्धनले प्रधानमन्त्रीको टुंगो गरेपछिमात्रै सरकार गठन हुन सक्नेछ । पार्टी एकतामा देखिएको अलमलको प्रभाव सरकार गठनमा पनि पर्ने हो कि भनेर शंका गर्ने आधार तयार हुँदैछ । प्रतिनिधिसभाको अन्तिम परिणामसँगै वाम गठबन्धन सरकार गठनका लागि तयार हुनुपर्छ ।  


सम्बन्धित सामग्री:

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)

सेवा बन्द गर्ने हठ

: Wednesday, 15 August, 2018 (4:34:36 PM)