23rd May | 2018 | Wednesday | 3:52:25 AM

विद्युतीय शवदाहमा समस्या

  POSTED ON : Friday, 09 February, 2018 (3:59:24 PM)

वागमती नदी किनारमा आर्यघाट नजिकै  दुई वटा विद्युतीय मेसिन राखेर सञ्चालनमा ल्याइएको शवदाह गृहमा एउटा मेसिन बिग्रेको आठ महिना भएको छ । मेसिन मर्मत हुन नसक्दा कतिपयले दाउरामा जलाउन शव आर्यघाटतिरै फर्काउनुपर्ने बाध्यता छ । दाउरामा शवदाह गर्दाका आर्थिक तथा वातावरणीय दृष्टिले तुलनात्मक रूपमा विद्युतीय शवदाह उपयुक्त मानिएको हो । यसमा समय पनि कम लाग्छ । हिन्दु परम्परामा शवदाह दाउरामै गर्नुपर्छ भन्ने मान्यता छ । यस्तो परम्परा तोड्दै विस्तारै विद्युतीय दाहासंस्कारको क्रम बढ्दै गएको छ तर शवदाह गृहले सेवा दिन सकेको छैन । मेसिन थपेर शवदाहको सेवा सहज बनाउँदै जानुपर्नेमा आठ महिना बितिसक्दा पनि मर्मत गर्न नसक्नु लापरबाही हो । 

निकै लामो प्रयासमा आर्यघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण भएको हो । कुनै काम÷सेवा शुरू गर्नुमात्रै ठूलो कुरा होइन, त्यसको निरन्तरता मुख्य पक्ष हो । सेवा सहज बनाउँदै र आवश्यक विस्तार गर्दै जानुपर्ने हो तर एउटै शवदाह गृह पनि राम्ररी चल्न सकेको छैन । विद्युतीय मेसिनमा प्राविधक समस्या आउनु, बिग्रनु ठूलो घटना होइन । निर्माणसँगै त्यसको मर्मत सम्भार गर्ने प्रविधि पनि छ । शवदाह गृह सञ्चालनको जिम्मवारी पशुपति क्षेत्र विकास कोषले लिएको छ । आठ महिनादेखि थन्किएको मेसिन मर्मतका लागि स्वदेशमा प्राविधिक नरहेको र भारतबाट बोलाउनुपर्ने भएकाले बढी समय लागेको भनिएको छ । मर्मत पूरा गरेर सञ्चालन कति समय लाग्छ भन्ने अझै टुंगो छैन । 

शवदाह मानवीय संवेदनासँग जोडिएको कर्म हो । यससम्बन्धी सेवा चुस्त हुनुपर्छ । विद्युतीय शवदाहमा खर्च थोरै छ । विद्युतीयमा भन्दा दाउरामा चार गुणाभन्दा बढी खर्च छ । यसैगरी, समय पनि कम लाग्छ । वातावरणीय दृष्टिले तुलनात्मकरूपमा बढी उपयुक्त छँदैछ । सर्वसाधारण मानिसका लागि विद्युतीय शवदाह सबै दृष्टिले बढी सहज छ । लामो समयदेखि बिग्रेर थन्केको मेसिन चाँडो मर्मत गरी सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ । स्वदेशी प्राविधिक नभएको अवस्थामा मेसिन निर्माण गर्ने कम्पनी वा मर्मत सम्भारको सेवा दिनेसँग समझदारी÷सम्झौता गर्नुपर्छ । मेसिनमा खराबी आउनासाथ चाँडो मर्मतका लागि कदम चाल्नुपर्छ । सेवा निन्तर हुन नसक्दा उपयोगिता पनि कम हुन जान्छ । 

काठमाडौं उपत्यकामै पनि विद्युतीय शवदाहको सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ । देवघाटमा पनि अध्ययन भएको छ तर सञ्चालमा आएको एउटैले पनि सेवा निरन्तर गर्न सकेको छैन । यसमा सरकारको पनि ध्यान जानुपर्छ, आवश्यक सहयोग दिनुपर्छ ।         


सम्बन्धित सामग्री: