19th August | 2018 | Sunday | 9:14:52 PM

कुष्ठरोगीको बढ्दो संख्या

  POSTED ON : Monday, 12 February, 2018 (2:52:03 PM)

केही जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयले नयाँ कुष्ठरोगीको खोजी गर्न थालेका छन् । पछिल्लो खोजीमा रूपन्देहीमा ५९ जना नयाँ रोगी फेला परेका छन् । उता कैलालीमा ४९ जना नयाँ रोगी फेला परेका छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश हजार जनसंख्यामा एकजना भन्दा कम कुष्ठरोगी भए कुष्ठरोग निवारण भएको मानिन्छ । यहीअनुसार नेपालले आठ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा गरेको हो । जिल्लागत आधारमा हेर्दा रूपन्देही र कैलालीमा फेला परेका नयाँ रोगीको संख्या प्रति दश हजार जनसंख्यामा १ जनाकै हाराहारीमा हुन्छ । उपचारमा रहेका पुराना रोगी पनि छन् । 

स्वास्थ्य मन्त्रालयले कुष्ठरोग निवारण घोषणापछि पनि कार्यक्रमहरू सञ्चालन गरेको छ । कुष्ठरोगका कारण उत्पन्न अन्य रोगको समस्या घटाउन सन् २०११ देखि २०१५ सम्मको कार्यक्रम थियो । यसपछि कुष्ठरोगका कारण हुने अशक्तता प्रति दशलाख जनसंख्यामा १ जनाभन्दा कममा झार्ने कार्यक्रम चालु छ । कुष्ठरोग प्रभावितहरूलाई उच्चस्तरको स्वास्थ्यसेवा दिने कार्यक्रम पनि चालु छ । कुष्ठरोग निवारण भएको घोषणा र त्यसपछिका प्रभावहरू कम गर्ने कार्यक्रमहरू चालु रहे पनि नयाँ रोगीहरू फेला पर्ने क्रम रोकिएको छैन । नयाँ रोगीको संख्या प्रति दशहजार १ को हाराहारी वा त्यो भन्दा बढी देखिँदा रोगीको संख्या बढ्दै जाने जोखिम कायमै रहेको अनुमान गर्न सकिन्छ । 

मुलुकको सिंगो जनसंख्यामा तथ्यांकले कुष्ठरोग निवारण भएको देखिए पनि कतिपय जिल्लामा भने जोखिमको अवस्था छ । कुष्ठरोगमा रोगीको पहिचान, उपचार र नियमित औषधि सेवनमा पर्याप्त ध्यान पुगेन भने रोग फैलिन सक्छ । कडा अवस्थामा पुगेका रोगीको उपचारपछि पुनस्र्थापना पनि निकै चुनौतीपूर्ण छ । कुष्ठरोगका बारेमा समाजमा परम्परागत नकारात्मक धारणा व्याप्त छ । रोगीहरू परिवारबाट परित्यक्त हुने अवस्था कायमै छ । कुष्ठरोग जिवाणुका कारणले लाग्ने रोग हो, यसको उपचार छ, नियमित औषधि सेवन गरे रोग निको हुन्छ भन्ने चेतनाको अभाव हुँदा कतिपय रोगीहरू परिवारबाट परित्यक्त हुन बाध्य छन् । यो रोगबारे जनचेतना अभिवृद्धिमा ध्यान दिन आवश्यक छ । 

नयाँ कुष्ठरोगीको खोजी र उपचार, पुराना रोगीको उपचारमा निरन्तरता र पुनस्र्थापनामा अझ बढी ध्यान दिनु आवश्यक छ । रोगी रहेको अनुमान गरिएका जिल्लामा खोजी जारी राख्नुपर्छ, खोजी विस्तार गर्नुपर्छ । यसो भएन भने कुष्ठरोग निवारणको घोषणा कागजमा सीमित हुन सक्छ । निवारणको घोषणा भएको आठ वर्ष पूरा हुँदा पछिल्लो पटक फेला परेको कुष्ठरोगीको संख्याले यस्तै संकेत गरेको छ । रोग विस्तार हुन नदिन र रोगीको संख्या निवारणको  मापदण्डभन्दा माथि जान नदिन निरन्तर प्रयास जरुरी छ । रोगका बारे कमजोर जनचेतना र अझ कुष्ठरोगका बारे नकारात्मक धारणा व्याप्त रहेको नेपालमा रोग फैलिन सक्ने जोखिम कायमै रहन्छ । जनस्वास्थ्य कार्यालयहरूले चलाएको खोजी अभियान सकारात्मक छ । 






सम्बन्धित सामग्री:

मुलुकी ऐनमा सरोकार

: Sunday, 19 August, 2018 (7:13:04 PM)

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)