16th December | 2018 | Sunday | 7:13:06 PM

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

  POSTED ON : Tuesday, 06 March, 2018 (4:40:22 PM)

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी झण्डै आकस्मिक रूपले नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको निम्तोमा नभई आफ्नै चाहनाले आएका हुन् । अब्बासी आम निर्वाचनपछि बनेको नयाँ सरकारका पहिलो औपचारिक उच्चस्तरीय पाहुना भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुअघि यस्तै प्रकारको भ्रमणमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आएकी थिइन् । स्वराजको भ्रमणको उद्देश्य बहुमत हासिल गरेको वाम गठबन्धनका नेता र भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई बधाई दिनु रहेको बताइएको थियो । पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको पनि एक उद्देश्य प्रधानमन्त्री ओलीलाई बधाई दिने रहेको बताइएको छ । 

पाकिस्तानी प्रधानमन्त्रीको यस प्रकारको भ्रमण नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्धको इतिहासमै सम्भवतः पहिलो हो । नेपालमा नयाँ सरकार बनेपछि अक्सर भारतसँग उच्चस्तरीय भ्रमण हुने परम्परा नै थियो । यसपटक पाकिस्तानी प्रधानमन्त्री पहिलो उच्चस्तरीय पाहुना भए । यसबाट भारतसँग हुने भ्रमणको परम्परा तोडिएको छ । त्यसैले आकस्मिकरूपमा तय भएको यो भ्रमणको अनेक आयामबाट विश्लेषण भएको छ । पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमण दुई देशको कूटनीतिक सम्बन्ध र सार्क सदस्य राष्ट्रका हिसाबले स्वाभाविक मान्नुपर्छ । नेपाल–भारत सम्बन्धमा जोडेर हेर्न आवश्यक पर्दैन । यसैगरी यो भ्रमणलाई भारत–पाकिस्तान सम्बन्धका दृष्टिबाट पनि अनौठो मान्नु उचित हुँदैन । 

नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो । उन्नाइसौँ शिखर सम्मेलनको आयोजक राष्ट्र पाकिस्तान हो । नेपालमा सम्पन्न अठारौँ सम्मेलनको निर्णयअनुसार गत नोभेम्बरमा उन्नाइसौँ सम्मेलन हुनुपर्ने थियो तर अझै अत्तोपत्तो छैन । उन्नाइसौँ सम्मेलनमात्रै होइन सार्क संगठन नै भारत–पाकिस्तान तिक्त सम्बन्धको चपेटामा परेको छ । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको अर्को उद्देश्य पाकिस्तानमा हुने निर्णय भएको सार्क सम्मेलनका विषयमा अध्यक्ष राष्ट्रसँग चासो प्रकट गर्नु रहेको छ । अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले प्रभावकारी पहल गर्न सकेको छैन । यस अवधिमा नेपाल आफैँ पनि आन्तरिक राजनीति व्यवस्थापनमा व्यस्त रहृयो । यस अवस्थामा सार्क सम्मेलनबारे आयोजक राष्ट्रको चासो स्वाभाविक हुने नै भयो । 

नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धका आयामहरू पनि छन् । स्वाभाविक रूपमा दुई प्रधानमन्त्रीबीच पारस्परिक हितका विषयमा छलफल भएको छ । तर, पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमण दुई देशको सम्बन्धका आयाममा मात्रै सीमित रहने छैन । पाकिस्तान र चीनको निकटको मैत्री सम्बन्ध तथा नेपाल र चीनबीच फराकिलो बन्दै गएको सम्बन्धको भूराजनीतिक परिवेशबाट पनि यो भ्रमणको महŒव हुनेछ । खासगरी पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण नेपाल–भारत सम्बन्धमा देखापर्ने प्रभावका हिसाबले पनि चासोपूर्वक हेरिनेछ । भारतका कारण सार्क संगठन प्रभावकारी हुन नसकेको ठानिन्छ । सार्कको सक्रियता र प्रभावकारिताका लागि अध्यक्ष राष्ट्रसँग कुरा गर्ने पाकिस्तानी प्रधानमन्त्रीको उद्देश्य हुन्छ भने यसमा भारतको चासो रहने नै छ । 

नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धमा मात्र सीमित नरहने यो भ्रमणपछि भारतसँग तथा सार्क क्षेत्रमा नेपालको कूटनीतिक कौशल आवश्यक पर्नेछ । पाकिस्तानले सार्कमा अध्यक्ष राष्ट्र नेपालको प्रभावकारी भूमिकाको खोजी गरेको छ । प्रधानमन्त्री ओलीले प्रभावकारी कूटनीतिक कौशलले छिमेकी, सार्क मुलुक र मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने छ । 


Views: 13

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)