22nd June | 2018 | Friday | 10:54:39 AM

विपक्षी भूमिकामा कांग्रेस

  POSTED ON : Wednesday, 07 March, 2018 (5:01:05 PM)

विपक्षी भूमिकामा कांग्रेस

नेपाली कांग्रेसले मतदानबाट प्रतिनिधिसभा संसदीय दलको नेता चयन गरेको छ । सभापति देउवा दुई तिहाइभन्दा बढी मतले विजयी भए । कांग्रेसमा यसरी मतदानबाट संसदीय दलको नेता चयन भएको पहिलो पटक होइन । पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने राजनीतिक दलका लागि मतदान स्वस्थ प्रतिस्पर्धाको अभ्यास हो । आम निर्वाचनमा पार्टी पराजित भएको परिणामस्वरूप पार्टी सभापति देउवा संसदीय दलको नेता बन्नु उचित हुन्थ्यो कि हुँदैन थियो भन्ने वहसमा विवकेसम्मत निर्णय गर्ने जिम्मेवारी पनि देउवाकै थियो । उनले नेता हुने बाटो रोजे । मतदानको परिणामले यो वहस अन्त्य गरिदिएको छ । 

बहुदलीय संसदीय व्यवस्थामा विपक्षी दलको नेता प्रतिक्षारत अर्थात वकल्पिक प्रधानमन्त्री मानिन्छ । सत्तापक्षले बहुमत गुमाएर अर्को सरकार गठन हुने अवस्थामा स्वाभाविकरूप विपक्षी दलको नेता अर्को सरकार गठनका लागि अघि सर्छ । संसदीय दलमा भारी बहुमत आफ्ना पक्षमा रहेको अवस्थामा भविष्यको सम्भावनासमेत ख्याल राखेर देउवाले आफैँ विपक्षी नेता बन्ने निर्णय गरेका हुन् भन्ने कुरा छर्लङ्गै छ । भविष्यमा सत्ताको सम्भावनाका अतिरिक्त संसद्मा विपक्षी दलको भूमिका सत्तापक्षको भन्दा कम हुँदैन भन्ने मानिन्छ । सत्तापक्ष र विपक्षको सन्तुलनमा नै संसदीय पद्धति सुदृढ हुन्छ । सत्ता पक्षले गर्नसक्ने बहुमतको बलमिच्याइँ रोक्ने काम विपक्षले नै गर्छ । त्यसैले संसदमा प्रभावकारी विपक्षी दल आवश्यक ठानिन्छ । 

विपक्षलाई बलियो बनाएर सन्तुलन कायम गर्ने जिम्मेवारी विपक्षी दलको नेतामा हुन्छ । दुई तिहाइ समर्थनका साथ सरकार चल्न लागेको वर्तमान अवस्थामा विपक्षी भूमिका अझै महŒवपूर्ण हुनेछ– सत्तापक्षको बलमिच्याइँ रोक्ने र वैकल्पिक सरकारका लागि सधैँ सत्तापक्षको चुनैतीका रूपमा खडा हुने दुवै अर्थमा । बहुमतको विधिसम्मत निर्णयमा अवरोध गर्ने वा सहमतिका नाममा भागबण्डा मिलाउने काम विपक्षको होइन । बहुमतीय पद्धतिमा विपक्षी बाधक बन्नु हुँदैन । बहुमत वा दुई तिहाइको नाममा लोकतन्त्रका आधारभूत मान्यतामा प्रहार हुन नदिन विपक्ष चनाखो र प्रभावकारी बन्नुपर्छ ।

हाम्रो विगतको अभ्यासमा विपक्षी भूमिका त्यति सुखद छैन । लामो समय संसद् बैठक अवरुद्ध गर्ने, स्वाभाविक बहुमतीय निर्णय अवरुद्ध गर्ने, संसद्भित्र तोडफोड गर्नेजस्ता घटनाहरू भएका छन् । एउटै विषयमा उही दल विपक्षमा रहँदा र सत्तामा रहँदा परस्पर विपरित धारमा उभिने जस्ता घटना भएका छन् । नेपाली कांग्रेस पूर्णतः बहुदलीय संसदीय व्यवस्थाको पक्षपाती हो । संसदीय व्यवस्थाका विपक्षी मानिने कम्युनिष्ट दल दुई तिहाइको हाराहारीमा सत्तामा छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस विपक्षमा रहनु उसको भूमिकाको महŒव अझ बढ्नु हो । विपक्षी नेताका रूपमा देउवाको भूमिका संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण र कांग्रेसको भविष्य दुवै पक्षमा महŒवपूर्ण हुनेछ । 



सम्बन्धित सामग्री: