16th December | 2018 | Sunday | 7:33:15 PM

बढ्दो सवारी दुर्घटना

  POSTED ON : Thursday, 08 March, 2018 (11:38:06 AM)

बढ्दो सवारी दुर्घटना

राजधानी उपत्यकामा केही वर्षयता सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १४३ जनाको मृत्यु भएकोमा २०७३/७४ मा १८२ जना पुग्यो । वर्ष २०७१/७२ मा १३३ जनाको मृत्यु भयो । पछिल्ला चार वर्षमा यो सबैभन्दा कम संख्या हो । चालु वर्षको ८ महिनामा १०८ जनाको ज्यान गएको छ । पछिल्लो आठ महिनाको दर हेर्दा यो वर्ष मृत्यु हुनेको संख्या केही घट्न सक्ने महानगरीय ट्राफिक महाशाखाको अनुमान छ । काठमाडौं उपत्यकामा सडक दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल सवारको संख्या निकै ठूलो छ । पछिल्लो ८ महिनमा १०८ जनाको मृत्यु हुँदा मोटरसाइकलमा सवारको संख्यामात्रै ४८ छ । 

सडक दुर्घटनाको कुल मृत्युमा मोटरसाइकलमा सवारको संख्या आधाको हाराहारी हुने गरेको छ । यसमा अझ चिन्ताको कुरा के छ भने, यसरी मर्नेमा १७ वर्षदेखि ३० वर्षका बीचको उमेर समूहको संख्या अधिक छ । मोटरसाइकल बढी दुर्घटनामा पर्नुको मुख्य कारण हो– तिव्र गति । तिव्र गतिमा मोटरसाइकल चलाउने भएकै कारण मुत्यु हुनेमा पनि ३० वर्षमुनिका युवाकै संख्या बढी छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्या नगन्य छ । ट्राफिक महाशाखाका अनुसार मापसेका कारणले हुने मृत्यु पनि नगन्य छ तर मोटरसाइकलमा मर्नेको संख्या चिन्ताजनक ढंगले बढेको छ । ट्राफिक नियम पालना नगर्ने समस्या छँदैछ । लेन मिच्ने र गलत साइडबाट ओभरटेक गर्ने प्रवृत्ति अत्यधिक छ जसले दुर्घटना बढाएको छ । 

राजधानीमा ट्राफिक नियम पालनामा कडाइ गर्ने आधुनिक प्रविधिको प्रयोग नगन्य छ । सडकमा बसेको प्रहरीका भरमा मात्रै नियमन सम्भव छैन । हालै केही ठाउँमा सिसिटिभी क्यामराको मद्दतले कडाइ गर्ने प्रयास भएको छ तर सवारीसाधनको चापका आधारमा यो प्रयास सारै सानो हो । विस्तार गरेर कडाइ गर्न सके नियमनमा मद्दत पुग्नेछ । ज्रेब्रा क्रस र ट्राफिक बत्तीको हालत नाजुक छ र सुधार्ने प्रयास शुन्यबराबर छ । यही कारणले पैदलयात्रुको मृत्यु पनि हुने गरेको छ । जेब्रा क्रसमै पैदल यात्रु मारिएका छन् । चालकहरूमा लापरबाही धेरै छ । लापरबाही नियन्त्रण गर्न आधुनिक प्रविधि आवश्यक पर्छ । सरकारले ट्राफिक अनुशासन कायम गर्न सडकमा लगानी बढाउनु आवश्यक छ ।

मोटरसाइकलको बढ्दो दुर्घटनाको मुख्य कारण तिव्र गति हो भने, दुर्घटना कम गर्न गति नियन्त्रण गर्नु प¥यो तर यो निकै कठिन काम हो । तिव्र गतिका कारणले हुने मोटरसाइकल दुर्घटना र बढ्दो मृत्युप्रति नियमन निकाय संवेदनशील हुन आवश्यक छ । खराब अवस्थाका सडकमा ट्राफिक नियम उल्लंघन दुर्घटना बढाउने गरेको छ । यथास्थितिमा प्रहरी एक्लैले ट्राफिक नियमन गर्न कठिन छ । सरकारले यसमा ठोस कदम चाल्नु आवश्यक छ । 

 


Views: 15

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)