16th December | 2018 | Sunday | 6:20:23 PM

संकटग्रस्त अर्थतन्त्र

  POSTED ON : Friday, 09 March, 2018 (9:58:25 AM)

संकटग्रस्त अर्थतन्त्र

अर्थमन्त्रालले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षाले देशको आर्थिक अवस्थाको खराब अवस्था चित्रण गरेको छ । चालु आर्थिक वर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष राखिएकोमा ६ प्रतिशत हुने अनुमान गरिएको छ । लक्षको तुलनामा यो अवस्था सन्तोषजनक नै भए पनि अब हुने साधारण खर्चका हिसाबले समग्र अर्थतन्त्रको अवस्था निकै निराशाजनक छ । चालु आर्थिक वर्षमा बजेट निर्माणमै लापरबाही देखिएको छ । गत आर्थिक वर्षमा खर्च नभएको १ खर्ब २ अर्ब रुपियाँ चालु आर्थिक वर्षमा जोडिन आउँछ भनेर बजेट वक्तव्यमा उल्लेख भएकोलाई अर्थमन्त्रालयले नै गलत सावित गरिसकेको छ । गलत तथ्यांककै कारण चालु आर्थिक वर्षको बजेटमा १ खब ५० अर्ब न्युन हुने देखिएको छ । 

राजश्व आम्दानी र व्ययका अनुमानहरू धेरै ठाउँमा गलत देखिएका छन् । स्रोतबेगरै अनेक आयोजनाहरूमा बजेट छुट्याएर लोकप्रियता हासिल गर्ने उद्देश्य राखेको देखिएको छ । यस्तो रकम २ खबै रुपियाँभन्दा बढी छ । बजेटको सामान्य मान्यताभन्दा बाहिर गएर रकमान्तर भएको हिस्सा निकै ठूलो छ । छुट्याइएको बजेट खर्च हुन सकेको छैन तर कतिपय मन्त्रालयहरूले गैर बजेटरी रकम मागेका छन् । चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष निकै मुश्किलले पूरा हुने अनुमान त छ तर त्यसले बढ्दो खर्च धान्न सक्ने अवस्था छैन । स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनपछि बढ्ने साधारण खर्चका विषयमा सोचको देखिएन । खर्च बढेअनुसार स्रोत बढाउन अर्थमन्त्रालय असफल भएको छ । निर्यात घट्दो क्रममा छ र सोहीअनुसार आयत बढ्दो छ । व्यापार घाटा बढेको बढ्यै छ । समग्र आर्थिक परिसूचकहरूमा सन्तोष गर्ने ठाउँ छैन । अर्थतन्त्र संकटग्रस्त छ । 

अर्धवार्षिक समीक्षाले चालुआर्थिक वर्षमा केवल अनुमानका भरले कति हचुवा पाराले बजेट बनाइएको रहेछ भन्ने अवस्था पनि चित्रण गर्दछ । केही वर्षयता अर्थमन्त्रालय अर्थतन्त्रका न्युनतम मान्यता पनि ख्याल नगरी चलेको थियो । त्यसको परिणाम क्रमशः देखापर्न थालेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको समग्र आर्थिक अवस्थाबारे स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । यसले मुलुकको आर्थिक अवस्थाका बारे अझ प्रष्ट चित्र राख्ला । अर्धवार्षिक समीक्षामा पनि केही सुधारको सुरुवात गर्ने संकेत गरिएको छ । सामुन्नेका खर्चहरू धान्न, चालु विकास आयोजनाहरू निर्वाधरूपमा अघि बढाउन र नयाँ कार्यक्रमहरू सुरु गर्न अर्थ व्यवस्थामा आमूल सुधारको खाँचो छ । तत्कालै परिणाम नदेखिन सक्छ तर विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले सुरुवात गरेका छन् । 


Views: 18

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)