22nd June | 2018 | Friday | 10:57:55 AM

दुई तिहाइ समर्थनको अर्थ

  POSTED ON : Monday, 12 March, 2018 (4:13:51 PM)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसद्को समर्थन प्राप्त गरेका छन् । नेपालको संसदीय इतिहासमा दुई तिहाइ समर्थन प्राप्त यो दोस्रो सरकार हो । करिब ६० वर्षअघि भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसका नेता बिपि कोइराला दुई तिहाइ सांसद्का साथ प्रधानमन्त्री भएका थिए । त्यसपछि वर्तमान सरकार नै हो जसले दुई तिहाइभन्दा बढी सांसद्को समर्थन पाएको छ । 

लामो अन्तरालका यी दुई तिहाइ समर्थनमा आभारभूत भिन्नता के छ भने, ६ दशकअघिको सरकार राजाले दिएको संविधानअन्तर्गत बनेको थियो र सार्वभौमसत्ताका अधिकारी राजा नै थिए । अहिलेको सरकार जनप्रतिनिधिको संविधानसभाबाट जारी भएको संविधानअन्तर्गत बनको हो जहाँ सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा छ । पहिले कांग्रेस एक्लैले दुई तिहाई स्थान जितेको थियो, यो सरकारले चारवटा दलको गठबन्धनबाट दुई तिहाइ हासिल गरेको छ । 

नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीबाट हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको स्थान आलंकारिक छ । राष्ट्रपतिबाट हुने निर्णयहरू प्रधानमन्त्रीको सिफारिसमा हुने व्यवस्था छ । प्रधानमन्त्रीले पाएको समर्थन र राजकीय अधिकारका हिसाबले ओली नेपालको संसदीय इतिहासमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भएका छन् । यो एक अभूतपूर्व सरकार हो । यति शक्तिशाली सरकार मुलुकले पहिलो पटक पाएको छ । विपक्षी दल एक चौथाइभन्दा कममा खुम्चिएको छ । एकीकृत हुन लागेको दुई दलीय गठबन्धनसँगै सहज बहुमत छ । 

ओलीले पाएको यो समर्थन गठबन्धनको हो । प्रतिनिधिसभाको सामान्य बहुमतले सरकार गठन र सञ्चालन हुन्छ । संविधानमा दुई तिहाइ बहुमतको विशेष महŒव छ । दुई तिहाइ मतले संविधान संशोधन गर्नसक्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र सर्वोच्च आदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीविजरुद्ध महाअभियोग पारित गर्नसक्छ । सुरक्षा एवं सामरिक सम्बन्ध, राज्यको सीमानाजस्ता खास विषयका सन्धि सम्झौतामा दुई तिहाइ मत आवश्यक पर्छ । यस्ता दीर्घकालीन महŒवका काममा लागि सरकार बलियो भएको छ ।  

राजनीतिक संक्रमणपछि आमनिर्वाचनबाट बनेको यो सरकारका गहनतम कार्यभारहरू छन् । संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्दै जानु पहिलो कार्यभार हो, राजनीतिक स्थिरता यसमै निहित छ । यसैससँग जोडिएको कार्यभार हो संविधान कार्यान्वयन । सुशासन, विकास र समृद्धि यो सरकारको मूल नारा हो जसका आधारमा जनताको विश्वास जितेको छ । प्रधानमन्त्री ओलीले आफूलाई प्राप्त दुई तिहाइ समर्थन यही दिशामा सदुपयोग गर्नुपर्नेछ । 

संसद्मा मतगन्तीका दृष्टिले विपक्षी कमजोर रहेको अवस्थामा कतै दुई तिहाइ मत दुरुपयोग हुने हो कि भन्ने शंका उब्जिनु स्वाभाविक हुन्छ । संविधानमाथिको स्वामित्व र अपनत्व फराकिलो बनाउने, जनताले राज्यबाट पाउने सेवासुविधा छिटोछरितो बनाउने तथा राज्यप्रणाली बढीभन्दा बढी पारदर्शी बनाउने दिशामा दुई तिहाइ मतको सदुपयोग हुनसक्यो भने हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली बलियो हुँदै जानेछ । सरकार र राज्यका सबै अंग÷निकायहरू जनताप्रति जवाफदेही हुनेछन् । दुई तिहाइ समर्थन यही अर्थमा महŒवपूर्ण परिघटना मानिनेछ । 




सम्बन्धित सामग्री: