16th December | 2018 | Sunday | 6:45:13 PM

खस्कँदो उपभोक्ता हित

  POSTED ON : Tuesday, 13 March, 2018 (3:20:51 PM)

खस्कँदो उपभोक्ता हित

विश्व उपभोक्ता दिवस नजिकिँदै गर्दा उपभोक्ता हित, बजार अनुगमन, उपभोक्ता चेतना लगायतमा चर्चा हुन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अनुगमनमा कडाइ गर्न आफूमातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उपभोक्ता बजार तथा सेवाका क्षेत्रमा अनुगमन नियमित प्रक्रिया हो तर ठूला चाडपर्व वा खास अवसरमा बढी चर्चा हुने गरेको छ । मन्त्री यादवले अनुगमनमै शंका गरेका छन् । एकातिर अनुगमन नै अनियमित छ भने अर्कातिर अनुगमन कति इमानदारीपूर्वक भएको छ र कति प्रभावकारी छ भन्ने कुरा जहिल्यै शंकाको घेरामा हुन्छ । अनुगमनमा व्यवसायीहरू संगठितरूपमा बाधक बन्ने गरेका छन् । 

खुलाबजार प्रणालीमा व्यापारिक नाफा, सेवाशुल्क, वस्तुको उपभोक्ता मूल्य, गुणस्तर आदि प्रतिस्पर्धाले निर्धारण गर्छ भन्ने मानिन्छ । यससँगै राज्यको कानुनले त्यसको मापदण्ड निर्धारण गरेको हुन्छ । तर, व्यवसायीहरूले संगठनका बलमा एकाधिकार सिर्जना गरेपछि प्रतिस्पर्धा मर्छ, कानुन निस्प्रभावी हुन्छ । अनि उपभोक्ता ठगिन्छन् । यस्तै अवस्थामा औषधिमा पनि उपभोक्ताले सयौँ गुणा बढी मूल्य तिरिरहेका हुन्छन् । नेपाल अहिले यस्तै अवस्थाबाट गुजिँ्रदैछ । उपभोक्ताको हित रक्षा गर्ने कानुनहरू समयानुकूल परिमार्जन हुन सकेका छैनन् । नियमनकारी सरकारी निकायहरू दक्ष जनशक्तिको अभाव झेलिरहेका छन् । 

उपभोक्ता हितमा काम गर्ने गैरसरकारी संस्थाहरूको व्यवहार उपभोक्ताको हितमा भन्दा आफ्नो स्वार्थमा बढी केन्द्रित हुने गरेको छ । उनीहरूले उपभोक्तामा चेतना अभिवृद्धि गर्ने कार्यक्रमका लागि सरकारी निकायबाट आर्थिक सहयता लिने गरेका छन् । त्यसको उपलब्धिमा भने सरकारी अधिकारीहरू असन्तुष्ट छन् । यसरी आर्थिक सहायता लिने दर्जनभन्दा बढी संस्थाले आफ्नो कार्यक्रमको उपलव्धि र खर्चको विवरण बुझाउँदैनन् । उपभोक्ताको हित र अधिकारका लागि आवाज उठाउने संस्थाहरू नै अपारदर्शी हुन्छन् भने तिनले उपभोक्ताको हितमा काम गर्न सक्दैनन् । सरकारले यस्ता संस्थाहरूलाई पनि नियमन गर्नुपर्छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले कडाइका साथ बजार अनुगमन गर्न निर्देशन दिएका छन् । यससँगै उनले अनुमनका लागि आवश्यक जनशक्ति र प्रविधिमा ध्यान दिन आवश्यक छ । शिक्षा, स्वास्थ्यजस्ता सेवाका क्षेत्र र बजारमा अनुगमन गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । अनुगमन टोलीले निर्भयका साथ काम गर्न सक्ने वातावरण उत्तिकै आवश्यक हुन्छ । यससँगै दोषीमाथि कानुनी कारबाही उत्तिकै आवश्यक छ । मूल्यसँगै वस्तु तथा सेवाको गुणस्तर अनुगमनको मुख्य पाटो हुनुपर्छ । उपभोक्तालाई ठगेर अधिक नाफा कमाउने प्रवृत्ति नियन्त्रणका लागि कडाइका साथ नियमित अनुगमन र कारबाही जरुरी छ । सरकारले ध्यान देओस् ।  


 



 





Views: 15

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)