22nd July | 2018 | Sunday | 2:48:36 AM

एन्फालाई निकास देऊ

  POSTED ON : Thursday, 29 March, 2018 (6:01:06 PM)

फुटबल विश्वमै लोकप्रिय खेल हो । थुप्रैपटक फुटबलले नेपालीहरूलाई खुशी र उत्साह दिएको छ । पछिल्लोपटक सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कप तथा बंगबन्धु गोल्डकपको उपाधि उचालेको थियो । यसपछि नेपालले एसियन कप छनोट खेल्ने मौका पायो । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार राति यमनलाई २–१ गोल अन्तरले नतिजा सुम्पदै आफ्नो यात्रा टुंग्याएको छ । मैदानमा नेपाली फुटबलले खुसीको नतिजा दिइरहे नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को किचलोले यतिबेला फुटबलप्रेमी नेपालीलाई निराश तुल्याएको छ । तोकिएको समयमा निर्वाचन गराउन नसकेका कारण एन्फा विश्व फुटबल परिषद् (फिफा) को निलम्बनमा पर्ने आशंका बढेको छ । 

एन्फाले यही चैत १४ गते बुधबार केन्द्रीय निर्वाचन तय गरे पनि स्थगित भयो । फिफा र एसियन फुटबल परिषद् (एएफसी) ले निर्धारित मितिमा जसरी पनि चुनाव गर्न एन्फालाई पत्राचार गरेका थिए । चुनाव गराउन अग्रसर एन्फाले गत माघ पहिलो सातासम्ममा ४५ जिल्लामध्ये ४३ जिल्लाको अधिवेशन सम्पन्न गरे पनि आन्तरिक कलहका कारण भक्तपुर र मकवानपुरमा हुन सकेन । यी दुई जिल्लाको विवाद समाधान गर्न एन्फा नेतृत्वले समयमा चासो देखाएन । एन्फा चुनाव नजिकिँदै गर्दा रोक्न माग गर्दै भक्तपुर र मकवानपुरका सरोकारवालाले  रिट दायर गरे । अन्तरिम आदेशले निर्वाचन रोकियो । 

फिफा र एएफसीले निर्धारत मितिमै चुनाव गर्न एन्फालाई निर्देशन दिँदै पत्र पठाएपछि एन्फा संकटमा परेको छ । अदालतको आदेशविपरीत जान नमिल्ने भएकाले ११ चैतमा एन्फाको निर्वाचन समितिले चुनाव स्थगित गरिएको सूचना प्रकाशित ग¥यो । यही बीचमा एएफसीका राष्ट्रिय संघ मामिला निर्देशक रविकुमार काठमाडौं आएर छलफल गरेका छन् । भक्तपुरका क्लबहरूले एन्फाविरुद्ध दायर मुद्दा फिर्ता लिएका छन् । मकवानपुरको चुनाव २३ चैतसम्म गर्न एन्फाले निर्देशन दिएको छ । एन्फाभित्रको विवाद सुल्झिनेमा यी संकेतहरूले झिनो आशा जगाए पनि एएफसीका प्रतिनिधिले तयार पार्ने प्रतिवेदनले प्रभाव पार्नेछ । 

एन्फाको विवाद निकै पुरानो हो । निर्वाचनका तयारी लगभग पूरा भएपछि फेरि स्थगित भयो । विवादकै कारण चुनाव नहुने हो भने एन्फा फिफाबाट निलम्बन पर्न सक्नेछ । यसले नेपाली फुटबलको भविष्य संकटमा पर्नेछ । देशले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाउनेछ । कसैले व्यक्तिगत लाभहानीका आधारमा एन्फालाई विवादमा अल्झाउँछ भने त्यस्तो प्रवृत्ति फुटबलप्रेम होइन । कहिल्यै नटुंगिने यस्तो विवाद फुटबलको भविष्य अन्धकारतर्फ धकेल्ने मनसायले प्रेरित छ । निर्वाचन गराएर एन्फालाई सक्रिय गराउन सबै सरोकारवालाहरू गम्भीर हुन आवश्यक छ । आन्तरिक विवादले मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामा पनि नकारात्मक प्रभाव पर्नेछ । एन्फालाई निकास दिएर नेपाली फुटबलको विकासमा सरोकारवालाहरू गम्भीर बन्नै पर्छ ।