18th October | 2018 | Thursday | 1:18:06 PM

नक्कली भिसा नियन्त्रण

  POSTED ON : Monday, 02 April, 2018 (6:13:41 PM)

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू भिसा प्रक्रियामै पनि ठगिने गरेका छन् । यहाँका म्यानपावर व्यवसायीले जोजगारी दिने विदेशी कम्पनीको माग ल्याउँछन् जसलाई उनीहरू ‘डिमान्ड’ भन्छन् । डिमान्ड ल्याएपछि व्यवसायीले विज्ञापन गर्छन् र रोजगारीमा जाने कामदारसँग अन्तर्वार्ता लिन्छन् । स्वास्थ्य परीक्षणसमेतको प्रक्रिया पूरा भएपछि श्रम कार्यालयबाट म्यानपावर व्यवसायीले डिमान्ड अनुसार सामूहिकरूपमा अन्तिम श्रम स्वीकृति लिन्छन् । यसपछि कामदार विदेश पुग्छ ।  

रोजगारीदाता कम्पनीबाट डिमान्ड ल्याउँदा सम्बन्धित देशको चेम्बर अथवा उद्योग संघमार्फत डिमान्डको प्रमाणीकरण गर्ने गरी सम्झौता हुने हालको व्यवस्था छ । श्रम सम्झौता गर्दा सम्बन्धित देशका उद्योग वाणिज्य संघका प्रतिनिधि अनिवार्य उपस्थित गराए पनि डिमान्ड अथवा करारपत्र निकालेपछि संघको भूमिका हुँदैन । यहाँ कतिपय म्यानपावर व्यवसायीले उताबाट आएको भन्दा बढी डिमान्ड देखाएर नक्कली भिसा समेत मगाउँछन् । 

यहाँ श्रम स्वीकृति म्यानपावर व्यवसायीले देखाएको डिमान्डपत्र र भिसाका आधारमा प्राप्त हुन्छ । डिमान्डपत्र र भिसा सक्कली नै हो कि होइन भनेर विश्वसनीय परीक्षण हुँदैन । यसरी नेपाली कामदार नक्कली भिसामा पनि विदेश पुग्छ । कहिलेकाहिँ विदेश जान नपाएर यतै अपलत्र पर्छ । यसरी कामदार ठगिन्छ । अझ केही वर्षयता त डिमान्ड ल्याउँदा प्रमाणीकरण समेत हुन छोडेको छ । यसले गर्दा भिसा प्रक्रियामै ठगिने क्रम बढेको छ । 

यस्तो ठगी नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट डिमान्ड र भिसा प्रमाणीकरण गराउने व्यवस्था लागू गर्न खोजेको छ । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यो व्यवस्था लागु भए नक्कली डिमान्ड र नक्कली भिसा बनाउने क्रम अन्त्य हुन सक्नेछ । सरकारलाई पनि कामदार जाने कम्पनी र कामका बारेमा थाहा हुनेछ । जसका कारण रोजगारीमा गएका कामदार समस्यामा पर्दा कम्पनीसँग सिधा सम्पर्क हुन सक्नेछ । कामदारले पनि आफू जाने कम्पनी, लागत, कामको प्रकृति र पारिश्रमिकबारे पहिले नै जानकारी पाउने छ । अहिले पनि कामदारले यस्तो जानकारी पाउने व्यवस्था छ तर सक्कली र नक्कली थाहा नहुँदा ठगिने गरेको छ । 

वैदेशिक रोजगारीका सिलसिलामा ठगीका अनेक छिद्रहरू छन् । नक्कली डिमान्ड र नक्कली भिसा ठगीको मुख्य तरिका हो । भिसा नै नक्कली भएपछि कम्पनी र कामको ठेगान हुने भएन । नक्कली डिमान्ड र नक्कली भिसामा विदेश पुगेको कामदार उता पाइला पाइलामा ठगिन्छ । धेरै नेपाली कामदार जाने खाडी मुलुकमै यस्तो समस्या बढी छ । यस्तो ठगीको गुनासो बाक्लै हुने गरेको भए पनि नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको थिएन । नेपाली दूतावासबाटै प्रमाणीकरण गराउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्ताव कार्यान्वयन हुन सक्यो भने नक्कली डिमान्ड र नक्कली भिसाको ठगी रोकिन सक्नेछ । 







Views: 5

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)