18th October | 2018 | Thursday | 12:51:43 PM

ओलीका भारत एजेण्डा

  POSTED ON : Thursday, 05 April, 2018 (5:13:28 PM)

ओलीका भारत एजेण्डा

प्रधानमन्त्री केपी  शर्मा ओली आफ्नो दोस्रो कार्यकालमा भोलि छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसद्लाई जानकारी गराए । उनले ‘नयाँ सम्झौता हुँदैन भन्ने होइन’  भनेर ‘हुन सक्ने’ संकेत गरे तर के विषयमा हुन्छ भन्ने केही प्रष्ट पारेनन् । उनले जानकारी गराएअनुसार नयाँ सम्झौता गर्नेमा भन्दा कार्यान्वयन हुन नसकेका पुराना सम्झौतामा उनको चासो हुनेछ । जस्तो : २२ वर्षअघिको पञ्चेश्वर बहुउद्देश्यी आयोजना आजसम्म अघि बढ्न सकेको छैन जब कि ६ महिनामा डिपिआर बनाउने भनिएको थियो । यो परियोजना अघि बढाउने सहमति गर्न सके भने एउटा सार्थक काम हुनेछ । 

सीमित अपवाद बाहेक नेपाली प्रधामन्त्रीले आफ्नो कार्यकालको प्रारम्भमै भारतको भ्रमण गर्ने गरेका छन् । यो एउटा परम्पराकै रूपमा स्थापित छ । ओलीले आफ्नो दोस्रो कार्यकालमा पनि यसैलाई निरन्तरता दिएका छन् । चीन वा भारतमध्ये कुन देशको भ्रमण पहिला भयो, त्यो कुनै वहसको विषय पनि होइन, भ्रमणको औचित्य मुख्य हो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा नेपाल–भारत सम्बन्ध चिसो भएको जगजाहेर छ । फेरि ओलीकै प्रधानमन्त्रित्व दोहोरिँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बन्धको हार्दिकताका लागि आतुर देखिएका छन् । संसदीय निर्वाचन परिणामपछि मोदीले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई बधाई दिएको, भ्रमणको निम्तो दिएको र सोही प्रयोजनका लागि आफ्ना विदेशमन्त्रीलाई पठाएको परिदृश्य उनको अतुरता झल्काउन पर्याप्त छन् । 

नेपाल र भारतबीच द्विपक्षी हित र आआफ्ना चासोका विषयहरू छन् । भारतविरुद्ध नेपाली भूमि कुनै पनि रूपमा प्रयोग हुन नपाओस् भन्ने भारतको गहिरो चासो रहने गरेको छ । अन्तरसीमा अपराध नियन्त्रण साझा चासो हो । दुई देशबीच लामो खुला सिमानामा अनेक समस्या छन् । ठाउँठाउँमा नेपाली भूमि मिचिएको छ । वर्षौंदेखि सीमा समस्या नसुल्झीकन रहेको छ । भूकम्पपछिको पुनर्निमणमा भारतले गर्ने भनेको आर्थिक सहयोगको कार्यक्रम अघि बढ्न सकेको छैन । भारतीय सहयोगमा थुप्रै विकास परियोजनाहरू सञ्चालित छन् । हुलाकी राजमार्ग निर्माण सधैँको यस्तै एउटा विषय हो जसको गति निकै सुस्त छ । रेलमार्ग र जलमार्गमा नयाँ परियोजनाको कुरा आएको छ । 

दुई देशबीचको हार्दिक सम्बन्ध नै मुख्य विषय हो । सम्बन्धमा शंका र अविश्वास रहे छिमेकीबीच चिसो बढ्छ । हार्दिकता र विश्वासमा आधारित परस्पर सम्बन्धले मात्रै दुवैका आआफ्ना र साझा चासोका विषयहरू सम्बोधन हुन सक्छन् । संविधानमा असन्तुष्टि जनाएर भारतले गरेको नाकाबन्दीले नेपालीहरूमा भारतप्रति एक हदको अविश्वास सञ्चार गरेको छ । दुई देशबीच जस्तरमा विशिष्ट सम्बन्ध छ तर दुई मुलुक भएका नाताले सम्बन्धको त्यही विशिष्टता राजनीतिक तहमा पनि देखिनुपर्छ । प्रधानमन्त्री ओलीको भ्रमणको सफलता यही अर्थमा मापन हुनेछ । विश्वासको आपसी सम्बन्धमा मात्रै द्विपक्षीय हित प्रबद्र्धन हुन्छ । प्रधानमन्त्री ओलीको भ्रमण भारतका लागि पनि एउटा अवसर हो । 


Views: 6

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)