18th October | 2018 | Thursday | 12:37:03 PM

बढ्दो बलात्कार र दण्ड

  POSTED ON : Friday, 06 April, 2018 (6:10:35 PM)

महिलामाथि भएका बलात्कारका घटना सम्बन्धी समाचार बाक्लै आउन थालेको छ । प्रहरीमा परेका उजुरीका आधारमा बलात्कारका घटना बढ्दै गएको देखिन्छ । घटना हुने क्रम बढेको हो कि घटनाहरू प्रकाशमा आएर बढेको देखिएको हो भन्ने प्रष्ट छैन तर सञ्चार माध्यममाथि पहुँच र दोषीलाई दण्ड दिलाउने दृढताका कारण उजुरीको संख्या बढेको अनुमान गर्न सकिन्छ । वैज्ञानिक अध्ययनका आधारमा मात्रै तथ्य प्रस्तुत गर्न सकिने भए पनि बलात्कारविरुद्ध चेतनास्तर पनि बढ्दै गएको अनुमान गर्न सकिन्छ । उजुरी पर्नु र घटनाहरू प्रकाशमा आउनुलाई पनि चेतना अभिवृद्धिकै परिणाम मान्न सकिन्छ । 

प्रकाशमा आएका बालात्कारका कतिपय घटनाहरूले केही गम्भीर संकेत गरेका छन् । केही अनुगमन रिपोर्टहरूले बालात्कारको गम्भीर अवस्था चित्रण गरेका छन् । बलात्कृत हुनेमा १५ वर्षमुनिका बालिकाको संख्या अधिक छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको केन्द्रीय बाल कल्याण समितिले विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा तयार पारेको एउटा प्रतिवेदनअनुसार पछिल्लो चार महिनामा ७४ बालिका बलात्कृत भएका छन् भने ४ बालक यौन दुव्र्यवहारमा परेका छन् । पीडित बालिकामध्ये ६ जना त सामूहिक बलात्कारको शिकार भएका छन् । बलत्कारपछि ६ जना बालिकाको हत्या भएको छ । गत मंसिरदेखि फागुनसम्मको प्रतिवेदानमा प्रत्येक महिना पीडितको संख्या बढ्दै गएको छ । मंसिरमा पीडितको संख्या १० थियो भने फागुनमा ३१ जना पीडित भएको पाइयो । 

पीडकमा आफन्त र निकटकै मानिसको संख्या ठूलो छ । केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदनअनुसार पीडित ७४ जना बालिकामध्ये ३० जना आफन्तबाटै बलात्कृत भएका छन् । यसपछि छिमेकी र चिनजानका व्यक्तिबाट बलात्कृत हुनेको संख्या छ । उक्त प्रतिवदेनमा समावेश भएका घटनामध्ये १६ जना पीडक अभियुक्त त बालकहरू छन् । बलात्कार गम्भीर आपराधिक घटना हो । अझ १० वर्ष हाराहारी उमेरका बालिकाहरूमाथिको बलात्कारको निकै बढी छ । पीडकमा आफन्त र चिनजानकै व्यक्ति बढी हुनु अर्को गम्भीर पक्ष हो । समान्यतयाः आफन्तबाट हुने बलात्कारका घटना गुपचुप पार्ने सम्भवना बढी हुन्छ । यसो हुँदा पीडिकले उन्मुक्ति पाउँछ । 

घटनाहरू सार्वजनिक हुँदा पीडिकले उन्मुक्ति पाउने सम्भावना रहँदैन । घटना जानकारी भएपछि उजुरी गर्न प्रेरित गर्ने, प्रहरीले उजुरी लिएर कारबाही अघि बढाउने र कुनै पनि हालतमा मेलमिपलाप नगर्ने नगराउने भए पीडिकले दण्ड पाउँछ । पीडित नै सामाजिक रूपमा बहिस्कृत हुनुपर्ने, अपहेलित हुनुपर्ने र पारिवारिक प्रतिष्ठासँग जोडेर गुपचुप पार्ने प्रवृत्तिले बलात्कारका घटना बढाउँछ । बालात्कारको अपराध नियन्त्रण गर्न उजुरी गर्न र कारबाही गराउन पीडकलाई मद्दत गर्नुपर्छ । घटनामा जति चाँडो पीडिकले दण्ड पाउँछ उति उजुरी र कारबाहीका लागि पीडितलाई सहज हुन्छ । अपराध नियन्त्रण र पीडिकलाई दण्ड, दुवैकमा लागि जनचेतना अभिवृद्धि अनिवार्य छ ।

 


Views: 10

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)