24th April | 2018 | Tuesday | 4:19:41 AM

भारत भ्रमणको सार्थकता

  POSTED ON : Monday, 09 April, 2018 (5:44:14 PM)

भारत भ्रमणको सार्थकता

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तुलनात्मकरूपमा बढी सार्थक देखिएको छ । सम्झौता र सहमतिका दृष्टिले ठूलो फड्को मार्ने खालाको देखिएको छैन तर आपसी सद्भाव अभिवृद्धिका दृष्टिले उपलव्धिमूलक रहेको मान्न सकिन्छ । पहिलो पटक प्रधानमन्त्री छँदा उनको भ्रमण उति सुखद रहन सकेको थिएन । पहिलो भ्रमणमा संयुक्त व्यक्तव्य नै जारी भएको थिएन जो यसपटक भयो । संयुक्त वक्तव्य जारी नहुनु भ्रमणको असफलताका पनि मानिएको थियो । संयुक्त वक्तव्य अनिवार्य होइन भनेर टार्न खोजिएको भए पनि त्यो भ्रमण सुखद नहुनुकै संकेत थियो भन्ने यसपटक सावित भएको छ । 

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हाउभाउ र अभिव्यक्तिले यसपटकको राजकीय भ्रमण व्यवहारमै राजकीय हुन सकेको संकेत गरेका छन् । नेपालमा संसदीय निर्वाचनको परिमाणसँगै मोदी ओलीलाई प्रधानमन्त्रीका रूपमा भारतमा स्वागत गर्न आतुर देखिन्थे । उनले ओलीलाई गरेको फोन, प्रधानमन्त्रीका रूपमा भ्रमणको निम्तो र विदेशमन्त्री सुष्मा स्वराजको अचानक नेपाल आगमनले मोदीको आतुरता झल्काउँथ्यो । सोहीअनुसार प्रधानमन्त्री ओलीलाई भारतले आतिथ्य दियो । मोदीले नेपालमा भएको निर्वाचनलाई ऐतिहासिक उपलव्धि भने । ‘समृद्ध नेपाली सुखी नेपाली’ भन्ने ओली मन्त्रमा भारतले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता जनायो । 

जलमार्गसम्म नेपालको पहुँच पु¥याउने र काठमाडौंसम्म रेल यातायातले जोड्ने भारतको प्रतिबद्धता आएको छ । कृषिको  आधुनिकीकरणमा साझेदारी गर्ने, पुराना योजना÷आयोजनाहरू कार्यान्वयनमा लैजाने जस्ता समझदारी भएको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी उद्घाटन, पेट्रोलियम पाइपलाइन शिलान्यास नयाँ कार्यक्रम होइनन् । भारतसँग सहमति÷सम्झौता भएका तर कार्यान्वयन हुन नसेका थुप्रै योजना÷आयोजनाहरू छन्, दुई दशकअघिको पञ्चेश्वर बहुउद्देश्यी आयोजनादेखि भूकम्प पुनर्निर्माणमा सहयोग र टेलिफोन महसुलसम्म । यस्ता विषयहरूमा बुँदागतरूपमा कति प्रगति भयो सार्वजनिक भइससकेको छैन । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भारतसँग सबै विषयमा खुला छलफल भएको छ– खुला सीमानाका समस्या, सीमा अतिक्रमण, डुबान समस्या लगायत । यी विषयहरू व्यवहारमा देखिएलान् ।

नेपालका प्रधानमन्त्री जिम्मेवारी सहृमाले लगत्तै भारत भ्रमणमा जाने परम्परा नै बनेको छ । यसपटक पनि परम्परा अनुसारै भयो । यसपटक ओलीको भ्रमणका लागि मोदीले अलिक जोड पनि गरेका थिए । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मोदीको भ्रमण हुनसक्यो भने द्विपक्षीय आदान–प्रदान हुनेछ । नेपालका नयाँ प्रधानमन्त्रीको भ्रमण भारतमा पहिले कि चीनमा भन्ने विषय सधैँ चर्चामा रहन्छ । कुन देशको भ्रमण भयो, त्यो महŒवको विषय होइन । दुई देशबीच प्रधानमन्त्री ओलीकै शब्दमा ‘समसामिप्य’ को सम्बन्धका लागि नेपालले कति कूटनीतिक कौशल देखाउन सक्यो, महŒवको कुरा त्यो हो ।   

 





सम्बन्धित सामग्री: