13th December | 2018 | Thursday | 12:19:03 PM

सद्भाव कायम राखौँ

  POSTED ON : Tuesday, 10 April, 2018 (6:01:18 PM)

सद्भाव कायम राखौँ

प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा हिन्दुसन्त आचार्य श्रीनिवासमाथि गोली प्रहार भयो । आचार्य विराटनगरमा श्रीमद्भागवत सप्ताह पुराण वाचनका लागि आएका थिए । घटना कसले गराएको हो भन्ने प्रष्ट भइसकेको छैन तर घटनास्थालमा भेटिएको पर्चालाई आधार मान्दा उनको धार्मिक गतिविधिको प्रतिशोधमा हत्याको उद्देश्यले गोली प्रहार भएको अनुमान गर्न सकिन्छ । यस्तो घटनाले एकातिर धार्मिक–सामाजिक सद्भाव बिथोल्न सक्छ भने अर्कातिर व्यक्तिको सुरक्षा चिन्ता बढाउँछ । विराटनगर प्रदेशको अस्थायी राजधानीमात्रै होइन, सम्भावित राजधानी हो अनि सुरक्षा संयन्त्रहरू तैनाथ सहर पनि हो । यस्तो सहरमा एउटा धार्मिक समुदायको अगुवा सन्तमाथि भएको आक्रमणको घटनालाई प्रदेश र केन्द्र सरकार दुवैले गम्भीरतापूर्वक लिनुपर्छ । 

विराटनगर सीमावर्ती शहर हो । यसै पनि साना हतियारको विगविगी छँदैछ । सीमावर्ती सहरमा एकातिर अपराध गरेर अर्कातिर लुक्ने प्रवृत्ति छ । साना हतियारको उपलव्धता पनि सहज छ । आचार्य श्रीनिवासमाथि भएको आक्रमण प्रदेश राजधानीमा नागरिक सुरक्षा तथा साना हतियार र खुला सीमानाको दुरुपयोग सबै दृष्टिले चुनौतीपूर्ण छ । यस्तो घटना दोहोरिन नदिन प्रदेश सरकारले मजबुत सुरक्षा प्रबन्धका लागि सबै उपायहरू अपनाउनु पर्छ । धार्मिक सांस्कृतिक आस्था जोडिएका घटनाहरू बढी संवेदनशील हुन्छन् । यस्ता घटनाले प्रतिशोधी भावना फैलिन सक्छ । धार्मिक–सामाजिक सद्भाव बिथोलिन नदिन सबै किसिमको सुरक्षा सतर्कतामा ध्यान दिनु आवश्यक हुन्छ । नागरिक सुरक्षा सरकारको जिम्मेवारी हो । 

धार्मिक सांस्कृतिक बहुलता हाम्रो विशिष्ट पहिचान हो । यो पहिचानलाई हाम्रो सम्पदाका रूपमा अझ विकसित र परिस्कृत गर्दै जान एकअर्काको आस्थाको सम्मान आवश्यक पर्छ । प्रत्येक व्यक्तिले आआफ्नो धर्म–संस्कृतिको अभ्यास गर्ने हक संविधानले प्रदान गरेको छ । अर्काको आस्थामा चोट पुग्ने अभिव्यक्ति र व्यवहारले प्रतिशोध पैदा गर्छ । प्रतिशोधले आपसी सद्भाव बिथोल्छ । यस्तो अवस्थामा हिंसा भड्किन सक्छ । विराटनगरमा भएको गोली प्रहारको घटनालाई नागरिकको सुरक्षा, धार्मिक–सामाजिक सद्भाव, प्रादेशिक राजधानीको समग्र सुरक्षा, साना हतियारको विगविगी र खुला सीमानाको दुरुपयोगका दृष्टिले गम्भीरतापूर्वक लिन आवश्यक छ । यस्तो घटना दोहोरिन नदिन र धार्मिक–सामाजिक सद्भाव कायम राख्न बेलैमा ध्यान जानुपर्छ ।  


Views: 22

सम्बन्धित सामग्री:

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)

विद्रोही बहिष्कार

: Monday, 10 December, 2018 (2:29:51 PM)

वहसको निम्तो पो !

: Sunday, 09 December, 2018 (6:03:58 PM)